कप्तान लियोनेल मेस्सीले बेन्चबाट मैदान प्रवेश गरेपछि गोल गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनको प्रेरणामा अर्जेन्टिनाले विश्वकप समूह चरणको अन्तिम खेलमा जोर्डनलाई सहज रूपमा पराजित गर्दै शतप्रतिशत नतिजासहित अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।
समूह ‘जे’ को विजेता बनिसकेको अर्जेन्टिनाले टोलीमा केही परिवर्तन गर्दै मेस्सीलाई सुरुआती रोजाइमा नराखेको थियो। उनी खेलको ६०औँ मिनेटमा मैदान प्रवेश गर्दा डलास रंगशालामा उपस्थित समर्थकहरूले भव्य स्वागत गरेका थिए।
खेल सकिन १० मिनेट बाँकी रहँदा मेस्सीले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता थप फराकिलो बनाए। उक्त गोलसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। उनी गोल्डेन बुटको दौडमा निकटतम प्रतिस्पर्धीभन्दा दुई गोलले अगाडि रहेका छन्।
यो गोल मेस्सीको विश्वकपमा १९औँ गोल पनि हो, जसले उनले आफ्नै कीर्तिमानलाई अझ विस्तार गरेका छन्। साथै, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेर उनले अर्को नयाँ इतिहास रचे।
यसअघि खेलको पहिलो हाफमा जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिकमार्फत अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि स्ट्राइकर लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
मार्कोस सेनेसी हेड गर्न प्रयास गर्ने क्रममा विपक्षी खेलाडीको खुट्टाले टाउकोमा लागेको घटनापछि भिडियो सहायक रेफ्री (भिएआर) को सहायता लिएर रेफ्रीले पेनाल्टी दिएका थिए, जसलाई मार्टिनेजले सफलतापूर्वक गोलमा परिणत गरे।
खेलमा दबाबमा रहे पनि जोर्डनले दोस्रो हाफको ५५औँ मिनेटमा उत्कृष्ट टोलीगत समन्वयबाट एक गोल फर्कायो। इहसान हद्दादको आकर्षक क्रसलाई वैकल्पिक खेलाडी मौसा अल तमारीले सहज रूपमा गोलमा परिणत गरेका थिए।
तर त्यसपछि मेस्सीको शानदार फ्रिकिक गोलले अर्जेन्टिनाको जित सुनिश्चित गर्यो।
यस जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ। अब उसले अन्तिम ३२ को खेलमा विश्वकपमा पहिलोपटक सहभागी बनेको केप भर्डेसँग जुलाई ३ मा मियामीमा प्रतिस्पर्धा गर्नेछ।
यता, पराजित जोर्डन भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ।