स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रविन साहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस र एमएस गरेका छन् । विगत ६ वर्षदेखि नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रसुति विभागको इन्चार्जको रुपमा सेवा दिँदै आएका उनी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.साहसँग पाठेघर क्यान्सरको विषयमा मध्य नेपालले गरेको कुराकानी ः
प्रजननमा पाठेघरको भूमिका के हो ?
पाठेघर भनेको महिलाहरूको एक महत्वपूर्ण अंग हो । महिला गर्भवती हुन तयार गर्ने र पेटमा बच्चा हुर्काउन मुख्य भूमिका खेल्ने अंग हो । गर्भ नभएको अवस्थामा पनि महिनामहिनामा मासिकश्राव गराउन मुख्य भूमिका पाठेघरले गरेको हुन्छ ।
महिलामा पाठेघरसम्बन्धी कस्ता समस्याहरू देखिन्छन् ?
महिलाहरूमा मुख्यगरी महिनावारीको गडबढी हुने समस्याहरू बढी देखा पर्छ । कुनै महिलालाई महिनावारी चाँडो हुने, कसैलाई ढिलो हुने र महिनावारीको बेलामा धेरै रगत बग्ने समस्या हुन्छ । पाठेघरमा मासु (ट्युमर) पलाउने, पाठेघरको संक्रमण हुने, सेतो पानी बग्ने, गन्हाउने पानी बग्ने र इन्फेक्सन हुन्छ । पाठेघरमा हुने क्यान्सरमा तीन भाग हुन्छ । पाठेघरको मुखको क्यान्सर, पाठेघर र पाठेघरको छेउमा रहेको डिम्बाशयमा अलगअलग किसिमले क्यान्सर हुने गर्दछ ।
पाठेघरमा क्यान्सर भन्नाले के बुझिन्छ ?
क्यान्सर भन्नाले मानव शरीरमा भएका कोशिकाहरूको बढ्ने क्षमता अत्याधिक रुपमा वृद्धि हुनु हो । त्यो कोशिकाको बढाईले शरीरमा समस्या उत्पन्न हुनु नै क्यान्सर हो । क्यान्सर शरीरका जुन पनि भागमा हुन सक्छ । तर, पाठेघरको मुख क्यान्सर हुदाँ पनि त्यो ठाउँको कोशिकाहरू अनियमित तरिकाले बढ्दै जान्छ । जसले गर्दा सेतो पानी बग्ने, रगतहरू बग्न थाल्ने, इन्फेक्सन हुने, पाठेघरको मुखमा क्यान्सर हुन्छ । अरू अंगमा पनि सर्दै जाँदा त्यो अंगले गर्नुपर्ने काम राम्ररी गर्न नसक्ने र अझ फैलिँदै जाने पनि हुन्छ ।
नेपालका महिलामा प्रायः गरेर कुन खालको क्यान्सर हुने गर्दछ ?
विकासित देशहरूमा पाठेघरको क्यान्सर कमै भएको पाइन्छ । हाम्रोजस्तो अविकसित देशमा पाठेघरभन्दा पनि पाठेघरको मुखको क्यान्सर बढी भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर महिलाहरू महिनावारी भैरहेको उमेरभन्दा महिनावारी बन्द भएको उमेरमा बढी हुने गरेको पाइएको छ । यो समयमा रोगको विकास हुने अवधि धेरै हुन्छ । महिलालाई महिनावारी बन्द भैसकेको अवस्थामा पाठेघरको मुखको क्यान्सर हुन्छ ।
पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सरमा कस्ता लक्षणहरू देखा पर्छन् ?
पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सर दुवैमा लक्षणहरू उस्तैउस्तै नै देखिन्छन् । दुवै खालको क्यान्सरमा लक्षण देखिनु भनेको महिनावारीमा धेरै रगत बग्ने हुन सक्छ । सेतो पानी बग्ने र गन्हाउने पानी बग्ने समस्या देखिन सक्छ । तल्लो पेट दुख्ने, योनीबाट महिनावारीमा गडबढी भई ढिलो, चाँढो महिनावारी हुनु पनि क्यान्सरको लक्षण हुन सक्छ । पाठेघरको क्यान्सरमा पेटमा मासुको डल्ला बढ्न र फैलन थाल्यो भने छाम्दा खेरी साह्रो हुन सक्छ । पाठेघरको मुखको क्यान्सरमा गन्हाउने पानीहरू धेरै बग्ने, यौन सम्पर्क गर्दा पनि रगतहरू बग्ने, योनी परिक्षण गर्दा भित्रबाट मासुहरू पलाएको देखिन्छ । शंका लाग्न साथ परामर्शको लागि जाँच गर्न चिकित्सकहाँ जानुपर्छ ।
क्यान्सर कति समयमा फैलिन्छ ?
क्यान्सर फैलिने समय अवधि यति नै भनेर यकिन भन्न गाह्रो नै छ । कुनै महिलामा क्यान्सर छिटो फैलिएको पनि पाइन्छ भने कुनै महिलाहरूमा क्यान्सर फैलिन धेरै समय पनि लागेको पाइन्छ । पाठेघरको मुखको क्यान्सर पत्ता लागेको ४ देखि ५ वर्षमा पनि विभिन्न अंगमा फैलिएको जाँच गर्नेक्रममा थाहा पाइएको छ । कुनैकुनैमा लक्षणहरू पनि देखा पर्दछ । जस्तैः छातिमा सरेमा खकारमा रगत देखिनु, छाती दुख्नु, टाउकोमा सरेमा रिंगटा लाग्नु, टाउको दुखिरहनु वा छारेरोगजस्तो देखापर्नु र अचानक बेहोस हुने पनि हुन्छ ।
पाठेघरको क्यान्सर बढी हुनुको कारण के हो ?
महिलाहरूलाई पाठेघरको क्यान्सर महिलामा महिनावारी बन्द भएपछि र बढी उमेर भएपछि क्यान्सरको सम्भावना धेरै हुन्छ । महिलामा मोटोपना धेरै हुनु, उच्च रक्तचापको समस्या भएमा, मधुमेह भएमा, वंशाणुगत क्यान्सरका समस्या भएमा परिवारको अन्य सदस्यहरूलाई पनि हुन सक्ने सम्भावना हुन्छ । कम उमेरमा नै शारिरीक सम्पर्क शुरू भएमा र यौन सम्पर्क राख्ने पाटनर धेरै भएको खण्डमा पाठेघरको क्यान्सर भएको बढी देखिन्छ । सेतो पानी बग्ने र गन्हाउने पानी बग्ने समस्याले संक्रमण भएमा, इन्फेक्सन भएको खण्डमा समयमा उपचार नभएमा पछि गएर पाठेघरको क्यान्सर भएको पाइन्छ । एचपीभी किटाणुले पाठेघरको मुखको क्यान्सर बढाउन भूमिका खेलिरहेको हुन्छ ।
क्यान्सरको उपचार कुन चरणमा सम्भव छ ?
क्यान्सरको जटिलता अनुसार क्यान्सरलाई चार भागमा छुट्याएको छ । क्यान्सर लागेको पहिलो र दोस्रो चरणमा पत्ता लागेर शल्यक्रिया भएमा उपचार गर्न सजिलो पनि छ । उपचार पद्दति पनि सम्भव छ । क्यान्सरको तेस्रो र चौथो चरणमा पत्ता लागेमा शरीरको धेरै भागमा फैलिसक्ने भएकोले उपचार गरे पनि बाँच्ने सम्भावना कम हुने गरेको छ ।
क्यान्सरको उपचार कत्तिको महँगो छ ?
नेपालमा क्यान्सरको उपचार महँगो नै छ । क्यान्सरको उपचार गर्ने प्रविधि ३ किसिमको हुन्छ । शल्यक्रिया, रेडियोथेरापी(सेकाइ)बाट र केमोथेरापी (औषधी)बाट उपचार गर्न सकिन्छ । यो क्यान्सरको प्रकृति हेरेर उपचार गर्नुपर्ने हुन्छ । क्यान्सर लागेको शुरूमा पत्ता लागेमा शल्यक्रियाबाट मात्र उपचार गरिन्छ । कुनैकुनै अवस्थामा शल्यक्रिया गरे पनि रेडियोथेरापी र केमोथेरापी पनि गर्नुपर्ने हुन्छ । धेरै गरेर शल्यक्रियाबाट नै उपचार भएको छ । रोगको जटिलता हेरेर रेडियोथेरापी र केमोथेरापी पनि गरिन्छ । क्यान्सर रोगीहरूलाई स्थानीय सरकारले सिफारिस गरेको खण्डमा नेपाल सरकारले उपचारको लागि एक लाख रुपैयाँ दिने प्रावधान पनि छ ।
क्यान्सर हुनबाट कसरी बच्न सकिन्छ ?
कम उमेरमा यौन सम्पर्क नगर्ने र उमेर पुगेको भए पनि धेरै यौन पार्टनर नराख्ने र विवाह भैसकेपछि वर्षमा एकपटक पाठेघरको मुखको जाँच गराउनुपर्छ । यो जाँचबाट क्यान्सरको पहिलो शुरूवाति समयमा नै उपचार गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न ९ देखि १९ वर्षको किशोरीहरूलाई खोप लगाएमा क्यान्सर हुनबाट रोक्न सकिन्छ । नेपाल सरकारले खोप कार्यक्रम सञ्चालन गरिसकेको छ । मोटोपना हुन नदिने, ब्लड प्रेशर, सुगरजस्ता समस्यालाई नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने र हरेक वर्ष नियमित पाठेघरको जाँच गराउने गरेमा पाठेघरमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।