चकलेटको प्रलोभन देखाएर अपहरणपछि तीन वर्षीया अबोध बालिकाको बलात्कार र हत्या भएको विभत्स घटना सार्वजनिक भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तीटोलबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी मनोज चौधरीकी कान्छी छोरी गरिमा चौधरी (गढिमा) को मंगलबार साँझ अर्धनग्न अवस्थामा शव फेला परेसँगै अपराधको कहालिलाग्दो रहस्य खुलेको हो ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा जीतपुरसिमरा–२ निवासी १६ वर्षीय एक किशोर (म्याजिक गाडीका सहचालक) लाई पक्राउ गरेको छ । आरोपीले चकलेटको प्रलोभनमा पारेर बालिकाको अपहरण, बलात्कार र हत्या गरेको स्वीकार गरिसकेका छन् ।
घटनाको दिन बालिका गरिमा सधैँझैँ घरबाट करिब एक सय मिटर टाढा रहेको छरछिमेकी प्रोग्रेस चौधरीको घरमा उनकी पाँच वर्षीया छोरीसँग खेल्न गएकी थिइन् । सोही घर अगाडि म्याजिक गाडीका सहचालकका रूपमा काम गर्ने १६ वर्षीय किशोर ढुकेर बसेका थिए । खेलिरहेकी बालिकालाई देखेर ती किशोरले योजनाबद्ध रूपमा चकलेट खाने प्रस्ताव राखे ।
गाउँकै नजिकैको पसलबाट १० रुपैयाँको चकलेट किनेर हातमा थमाइदिएपछि अबोध बालिका निष्फिक्री ती किशोरको पछि लागिन् । पाँच महिनादेखि सुनसान र खाली रहेको एक घरबारे जानकार रहेका ती किशोरले बालिकालाई फकाउँदै सोही घरभित्र पुर्याए ।
खाली घरभित्र पुर्याएपछी आरोपी किशोरले बालिकामाथि जबरजस्ती करणी गरेका थिए । सो क्रममा बालिका अचेत भएपछि प्रमाण मेट्ने नियतले घाँटीमा डोरी कसेर उनी बाहिरिएका थिए । केही बेरपछि पुनः सोही घरमा फर्कँदा बालिकाको मृत्यु भइसकेको देखेपछि उनले घाँटीको डोरी निकालेर शवलाई नजिकै रहेको पुराना तन्नाले ढाकिदिए र बाहिर निस्किए ।
उता बालिका घर नफर्किएपछि परिवार र प्रहरीले खोजी सुरु गरे । आफ्नो अपराध ढाकछोप गर्न ती किशोर पनि अनभिज्ञ बन्दै प्रहरी र स्थानीयसँगै बालिकाको खोजी टोलीमा सामेल भइरहे । तर मङ्गलबार साँझ सो सुनसान घरबाट दुर्गन्ध आएपछि स्थानीयले झ्यालबाट हेर्दा बालिकाको अर्धनग्न शव फेला परेको थियो ।
शव भेटिएलगत्तै वीरगञ्जबाट झिकाइएको नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले बालिकाको लुगा सुँघेर अनुसन्धान टोलीलाई सिधै म्याजिक चालक प्रोग्रेस चौधरीको घर अगाडि पुर्यायो । शङ्काका आधारमा नियन्त्रणमा लिइएका सहचालक किशोरले सोधपुछका क्रममा अपराधको सम्पूर्ण विवरण ओकलेका थिए ।
प्रहरीले ती किशोरसहित म्याजिक चालकलाई समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुवै जनामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
जघन्य अपराधको खबर फैलिएसँगै आक्रोशित स्थानीयवासीले पथलैया–वीरगञ्ज सडकखण्डको दसधुरे क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । दोषीलाई कानुन संशोधन गरेर भए पनि फाँसीको सजाय हुनुपर्ने माग राख्दै स्थानीयले दिनभर राजमार्ग अवरुद्ध पारे ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । नगर प्रमुख पौडेलले मृतक बालिका अध्ययनरत सरस्वती आधारभूत विद्यालयसहित नगरभरिका विद्यालयहरूमा शोकसभा आयोजना गर्न अपिल गरेका छन् ।