जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले छानबिन थालेको छ ।
घटनाको अनुसन्धानका क्रममा तयार भएको भनिएको भिडियोमा ती किशोरले घटनाबारे बयान दिएको देखिन्छ । भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि अनुसन्धानको गोपनीयता र प्रहरी प्रक्रियामाथि प्रश्न उठेको छ ।
सार्वजनिक भिडियोमा किशोरले घटनाको योजना कसरी बनेको थियो र बालिकामाथि बलात्कारपछि कसरी हत्या गरिएको थियो भन्नेबारे बताएका छन् । उनले आफू र जीतपुरसिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्कासमेत संलग्न रहेको दाबी गरेका छन् ।
अनुसन्धानको संवेदनशील विषयसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाराले छानबिन थालेको जनाएको छ ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले अस्पतालमा चिकित्सकहरूले आरोपीसँग सोधपुछ गरेको भिडियो बाहिरिएको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।
‘अस्पतालमा चिकित्सकहरूले सोधपुछ गरेको भिडियो लिक भएको छ, त्यसबारे हामीले छानबिन सुरु गरेका छौँ,’ एसपी कुँवरले भने ।
भिडियो सार्वजनिक भएको विषयमा डीएसपी मीनबहादुर घलेको नेतृत्वमा प्रहरी टोलीले छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानको क्रममा संकलन भएका संवेदनशील विवरण तथा आरोपीको बयान सार्वजनिक हुनुको कारण र त्यसमा संलग्न व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको छ ।