तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्डमा जारी सडक अवरोध बिहीबार पनि कायमै छ ।
दोषीलाई कडा कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले बाराको सिमरामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण बुधबार दिउँसोदेखि नै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध बनेको हो ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सडक खुलाउने विषयमा बुधबार पटक–पटक छलफल भए पनि आन्दोलनरत पक्षका माग सम्बोधन गर्न नसक्ने अवस्था रहेकाले सहमति जुट्न सकेन ।
‘बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डीएसपी साबलाई निलम्बन गर्नुपर्ने माग राख्नुभयो । जुन हाम्रो तहबाट सम्बोधन हुनसक्ने विषय होइन,’ भट्टराईले भने ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । तर, बालिका हराएको सूचना समयमै पाए पनि प्रहरीले खोजीमा आवश्यक गम्भीरता र समन्वय नगरेका कारण घटना भएको आरोप स्थानीयले लगाएका छन् ।
बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको स्थानीयको आरोप छ । यही कारण स्थानीयले इलाका प्रहरी कार्यालय सिमराको नेतृत्व परिवर्तनसँगै डीएसपी क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग अघि सारेका हुन् ।
मंगलबार साँझ बालिकाको शव फेला परेको थियो । शव भेटिएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । परिवारले भने शव फेला पर्नुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको जनाएको छ ।
घटनाप्रति आक्रोशित स्थानीयले दोषीलाई कडा कारबाही र प्रहरीको लापरबाहीबारे छानबिनको माग गर्दै सडकमा प्रदर्शन जारी राखेका छन् । सडक अवरुद्ध हुँदा वीरगञ्ज–पथलैया सडकखण्डमा आवागमन प्रभावित भएको छ ।