स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका स्पेनिस कप्तान रोड्रीलाई करिब ६५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेको छ।
३० वर्षीय रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्ने तयारी गरेका छन्। स्थानान्तरण प्रक्रिया आगामी केही दिनमा पूरा हुने अपेक्षा गरिएको छ।
रोड्री सन् २०१९ मा एट्लेटिको मड्रिडबाट तत्कालीन क्लब कीर्तिमानी ६२.८ मिलियन पाउन्डमा सिटी पुगेका थिए। उनले सिटीका लागि सात सिजनमा सबै प्रतियोगिता गरी २९८ खेल खेले।
सिटीमा रहँदा उनले १२ वटा प्रमुख उपाधि जितेका छन्। जसमा चार पटक प्रिमियर लिग, दुई एफए कप, तीन ईएफएल कप र २०२२–२३ सिजनको च्याम्पियन्स लिग उपाधि समेत छन्।
सन् २०२४ मा ब्यालोन डी’ओर जितेका रोड्रीले २०२४–२५ सिजनको ठूलो हिस्सा गम्भीर घुँडाको चोटका कारण गुमाएका थिए। त्यसपछि ह्यामस्ट्रिङ समस्याले पनि उनको खेल प्रभावित भएको थियो।
तर पछिल्लो विश्वकपमा उनी उत्कृष्ट लयमा फर्किएका थिए। स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलाउने क्रममा रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
बार्सिलोनाले यसअघि रोड्रीका लागि गरेको ३८.५ मिलियन पाउन्डको प्रारम्भिक प्रस्ताव सिटीले अस्वीकार गरेको थियो। सिटीसँग रोड्रीको सम्झौताको अन्तिम वर्ष बाँकी रहेकाले बार्सिलोनाले दोस्रो प्रयासमा सम्झौता अघि बढाएको हो।
रोड्रीको अर्को गन्तव्य रियल मड्रिड हुने अनुमान गरिँदै आए पनि पछिल्ला दिनमा बार्सिलोनाले तीव्र रूपमा प्रयास बढाएपछि स्पेनिस च्याम्पियनले उनलाई भित्र्याउने अवस्थामा पुगेको हो।
रोड्रीको आगमनले बार्सिलोनाको मिडफिल्डमा अनुभव, रक्षात्मक क्षमता र खेल नियन्त्रण थप बलियो हुने अपेक्षा गरिएको छ।