नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएकी लक्ष्मीदेवी पाण्डे स्थानीय शासन, सुशासन र महिला नेतृत्वको सशक्त प्रतीकका रूपमा स्थापित छन् । स्थानीय सरकारलाई समावेशी, प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने अभियानमा सक्रिय पाण्डे गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष हुन् । यो उपलब्धि केवल व्यक्तिगत सफलतामात्र होइन, स्थानीय तहमा महिलाले सक्षम नेतृत्व दिन सक्छन् भन्ने सशक्त सन्देश पनि हो । हुप्सेकोट गाउँपालिकामा दोस्रो कार्यकालका लागि पुनः जनविश्वास प्राप्त गर्दै अध्यक्षमा निरन्तरता कायम गरेकी छन् । उनी जनप्रतिनिधिको रूपमा विकासप्रतिको स्पष्ट दृष्टिकोण, संवादमा विश्वास, सुशासनप्रतिको प्रतिबद्धता र नागरिकसँगको निकट सम्बन्धले उनलाई राष्ट्रियस्तरमै उदाहरणीय नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ । पाण्डेको यात्रा संघर्ष, समर्पण, नेतृत्व र सफलताको प्रेरणादायी पाटो हो, जसले आगामी पुस्ताका महिला नेतृत्वलाई नयाँ ऊर्जा र आत्मविश्वास प्रदान गर्ने विश्वास गरिएको छ । पाण्डेको नेतृत्वमा रहेको महासंघले आउँदो स्थानीय चुनावमा महिला नेतृत्वको सशक्त र सार्थक प्रतिनिधित्वको अभियान चलाएको छ । प्रस्तुत छ, अध्यक्ष पाण्डेसँग यो अभियानको उद्देश्य, राजनीतिमा महिला सहभागिताको वर्तमान अवस्था, चुनौती, सम्भावनाबारे मध्य नेपालका लागि सम्पादक कविता खड्काले गरेको कुराकानी ः
यहाँहरूले चलाउनुभएको अभियानको उद्देश्य के हो ?
अबको लक्ष्य सहभागितामात्र होइन, निर्णायक नेतृत्व हुनुपर्छ । गाउँपालिका राष्ट्रिय महासंघले नीति बनाउने ठाउँमा महिला प्रमुख हुनुपर्छ भन्ने लक्ष्य लिएको छ । यसका लागि विगतमा चुनाव लडेका, जितेका, आकांक्षी सबैलाई अघि बढाएर आउँदो चुनावमा कम्तीमा एक सयजना महिलाले पालिकाको प्रमुखको रुपमा नेतृत्व गरेका हुनेछन् भन्ने हाम्रो लक्ष्य हो । यो अभियानले नेतृत्व र नीति निर्माणको तहमा महिलालाई स्थापित गर्ने उद्देश्य राखेको छ ।
नेतृत्वमा महिला सहभागिताको वर्तमान अवस्था कस्तो पाउनुभएको छ ?
नेपालको लोकतान्त्रिक अभ्यासले पछिल्ला केही दशकमा उल्लेखनीय परिवर्तनहरू देखेको छ । विशेषगरी महिला सहभागिता र नेतृत्वको क्षेत्रमा भएका उपलब्धिहरूले समाज रूपान्तरणको दिशामा नयाँ आशा र सम्भावनाहरू सिर्जना गरेका छन् । तथापि, महिला नेतृत्वलाई अझै पनि सामाजिक सोच, राजनीतिक संरचना, भाषिक पूर्वाग्रह र अवसरको असमान वितरणजस्ता चुनौतीहरूले घेरिरहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । आजको आवश्यकता भनेको महिलाहरूलाई केवल सहभागितामा सीमित नराखी निर्णय गर्ने तहसम्म पु¥याउने, उनीहरूको नेतृत्व क्षमतालाई संस्थागत रूपमा विकास गर्ने र राष्ट्र निर्माणको मूलधारमा सशक्त उपस्थिति सुनिश्चित गर्ने हो । आजको नेपालले महिला नेतृत्वको नयाँ युगमा प्रवेश गरेको छ । तर, यो यात्रा अझै अधुरो छ । महिलाहरूलाई केवल सहभागिताको प्रतीकका रूपमा होइन, परिवर्तनका वाहकका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । समाज, राजनीतिक दल, राज्य संरचना र स्वयं महिलाहरूले पनि यस दिशामा समान प्रतिबद्धता देखाउनुपर्छ । जब महिलाहरू नीति निर्माणको केन्द्रमा पुग्छन्, तबमात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । तर, महिला नेतृत्वको विस्तार केवल महिलाको अधिकारको प्रश्न होइन, यो नेपालको समृद्ध भविष्य निर्माण गर्ने राष्ट्रिय आवश्यकता हो । चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै आत्मविश्वासलाई आधार बनाउँदै र सामूहिक सहकार्यलाई प्राथमिकता दिँदै महिलाहरूले नेतृत्वको नयाँ इतिहास निर्माण गर्न सक्नेछन् । समाज विकास र महिला सशक्तीकरणका सन्दर्भमा एउटा महत्वपूर्ण प्रश्न उठ्ने गर्छ–महिलाहरूको नेतृत्व किन आवश्यक छ ? यसको सरल उत्तर के हो भने, कुनै पनि समाजको दिगो विकास तबमात्र सम्भव हुन्छ, जब त्यस समाजका सबै वर्ग, समुदाय र लिङ्गको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित हुन्छ । महिलाहरूलाई केवल प्रतिनिधित्वका लागि मात्र अगाडि ल्याउने होइन, उनीहरूलाई नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनको केन्द्रमा स्थापित गर्नुपर्ने आवश्यकता आज झन् बढी महसुस गरिएको छ ।
पछिल्लो समय नेतृत्वमा महिलाको बढ्दो सहभागितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हालको राजनीतिक वातावरणले महिलाहरूलाई आफ्नो विचार खुला रूपमा व्यक्त गर्ने, असहमति जनाउने, प्रतिवाद गर्ने र आन्दोलन गर्ने अवसर प्रदान गरेको छ । तर केवल आवाज उठाउने अवस्थामै सीमित रहनु पर्याप्त हुँदैन । अब महिलाहरू नीति निर्माण गर्ने स्थानमा पुग्नुपर्छ । नीति कार्यान्वयनमात्र होइन, नीति लेख्ने, संशोधन गर्ने र निर्णय गर्ने भूमिकामा महिलाको उपस्थिति बढाउनुपर्छ । राजनीतिक नेतृत्वको वास्तविक मूल्य निर्णय गर्ने क्षमतामा निहित हुन्छ । कुनै पनि संस्थामा सदस्य बन्नु एउटा उपलब्धि हो भने निर्णयकर्ता बन्नु अर्को ठूलो उपलब्धि हो । महिलाहरूले अब प्रतिनिधित्वको राजनीतिबाट निर्णयको राजनीतितर्फ यात्रा गर्नुपर्छ । यही यात्राले महिला नेतृत्वलाई दिगो र प्रभावकारी बनाउँछ ।
नेतृत्वमा पुगिसकेपछि आउने चुनौती कस्ता हुन्छन् ?
नेतृत्वको यात्रामा अवसर प्राप्त गर्नु जति महत्वपूर्ण हुन्छ, त्यस अवसरलाई निरन्तरता दिनु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । यदि कठिनाइको सामना गर्दा विश्राम र निराशालाई रोज्ने हो भने नेतृत्वको यात्रा त्यहीँ समाप्त हुन्छ । सफल नेतृत्वले कहिल्यै संघर्षबाट भाग्दैन, बरू संघर्षलाई नै विकासको माध्यम बनाउँछ । राजनीति शक्ति प्रदर्शनको माध्यम होइन, यो समाज र संसार परिवर्तन गर्ने प्रक्रिया हो । राजनीतिक नेतृत्वको गुणस्तरले समाजको दिशा निर्धारण गर्छ । त्यसैले नेतृत्वमा रहेका व्यक्तिहरूले निरन्तर जिम्मेवारी, इमानदारी र दूरदृष्टिका साथ काम गर्नुपर्छ । सहज र असहज दुवै परिस्थितिमा सक्रिय रहन सक्ने क्षमता नै सफल नेतृत्वको परिचायक हो ।
नेतृत्वमा महिलाहरूको सार्थक सहभागिता कसरी हुन्छ ?
महिला नेतृत्वको विकासका लागि व्यक्तिगत महत्वाकांक्षा मात्र पर्याप्त हुँदैन । कतिपय अवस्थामा ‘तिमी अगाडि बढ, म पछाडिबाट तिमीलाई सफल बनाउँछु’ भन्ने सहकार्यको भावना पनि आवश्यक हुन्छ । नेतृत्व भनेको एकल व्यक्तिको उपलब्धि मात्र होइन, सामूहिक प्रयास र आपसी विश्वासको परिणाम हो । ‘म भए मात्र हुन्छ, अरू भए हुँदैन’ भन्ने सोचले न त संगठन बलियो बन्छ, न त समाजको समग्र विकास सम्भव हुन्छ । समाज परिवर्तनका यात्रामा यस्ता साना देखिने तर गहिरो प्रभाव पार्ने व्यवहार र सोचहरूले नै दीर्घकालीन अर्थ राख्छन् । जीवनमा गरिने प्रत्येक कर्मले समाज र राष्ट्रको भविष्यसँग सम्बन्ध राख्नुपर्छ । कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिगत प्रतिष्ठाको विषय मात्र होइन, त्यो भविष्यका पुस्ताका लागि निर्माण गरिने आधार पनि हो । त्यसैले महिला नेतृत्वको सवाललाई केवल महिलाको मुद्दाका रूपमा होइन, राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा हेर्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा महिलाको उपस्थिति कस्तो छ ?
विश्वका विभिन्न देशहरूमा महिला नेतृत्वको अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुँदा एउटा महत्वपूर्ण तथ्य स्पष्ट हुन्छ–नेतृत्वको सफलतामा भाषामात्र निर्णायक कारक हुँदैन । धेरै महिलाहरूले सार्वजनिक रूपमा बोल्न नसकिने, अंग्रेजी भाषा नआउने वा प्रस्तुतीकरण गर्न नसकिने डरका कारण आफूलाई पछाडि पार्ने गरेका छन् । तर वास्तविकता के हो भने, नेतृत्वको मूल आधार भाषा होइन, दृष्टिकोण, प्रतिबद्धता र कार्यक्षमता हो । धेरै महिलाहरूले आफूलाई ‘म अंग्रेजी जान्दिनँ’, ‘म बोल्न सक्दिन’, ‘म प्रस्तुतीकरण गर्न सक्षम छैन’ भन्ने मानसिक अवरोधभित्र सीमित गरेका हुन्छन् । तर, विश्वस्तरका नेतृत्व तहमा पुगेका धेरै व्यक्तिहरूले पनि भाषागत सीमितताका बाबजुद आफ्नो कार्यक्षमता र दृष्टिकोणका कारण सम्मानित स्थान हासिल गरेका उदाहरणहरू प्रशस्त छन् । त्यसैले भाषागत कमजोरीलाई असफलताको कारण बनाउनुभन्दा आत्मविश्वासको विकास गर्न आवश्यक छ । महिलाहरूले आफ्नो क्षमतालाई सीमित गर्ने मनोवैज्ञानिक बाधाहरूबाट मुक्त हुनुपर्छ ।
महिला नेतृत्वका चुनौतीहरूलाई कसरी बुझ्नुभएको छ ?
जीवनमा चुनौतीहरू अपरिहार्य छन् । वास्तवमा चुनौतीहरू नै अवसरका ढोका पनि हुन् । यदि चुनौतीहरू नहुने हो भने संघर्ष, सिर्जना र उपलब्धिको अर्थ नै रहँदैन । महिलाहरूले इतिहासदेखि नै अनेक चुनौतीहरूको सामना गर्दै आएका छन् । सामाजिक प्रतिबन्ध, पारिवारिक दबाब, राजनीतिक उपेक्षा र आर्थिक सीमितताका बाबजुद उनीहरूले आफ्नो अस्तित्व र नेतृत्व क्षमता प्रमाणित गरेका छन् । त्यसैले कठिनाइलाई अवरोधका रूपमा होइन, अवसरका रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता छ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा महिलाहरूले अत्यन्त कठिन परिस्थितिमा राजनीतिक यात्रा सुरु गरेका थिए । त्यतिबेला राजनीतिक दलहरूको नेतृत्व तहमा महिलाहरूको उपस्थिति अत्यन्त न्यून थियो । निर्णय प्रक्रियामा महिलाको पहुँच सीमित थियो र धेरैजसो राजनीतिक छलफल तथा रणनीतिक निर्णयहरू पुरुषहरूको नियन्त्रणमा रहने गर्थे । महिलाहरूलाई अवसर दिनु पनि कतिपय अवस्थामा बाध्यात्मक व्यवस्था वा राजनीतिक समीकरणको परिणाम हुने गरेको थियो । अब अहिलेका सन्दर्भमा पार्टीमा टीकट दिने कुरा, महिलाहरुको आफ्नै क्षमता, दृढता, अध्ययनशील हुने कुरा, राजनीतिमा लगाव, नागरिकको सबैभन्दा नजिकको सरकारमा कार्यकारी भूमिकामा अब्बल भएर काम गर्नेलगायतका कुरा पनि चुनौती नै हुन् । समस्यालाई चिरेर अघि बढ्नु परिवर्तन र सुशासनका लागि आन्दोलन पनि हो ।
संविधानले त नेतृत्वमा महिलाको प्रतिनिधित्व तोकेकै छ नि, होइन र ?
नेपालको संविधानले महिलाको राजनीतिक सहभागिताका लागि महत्वपूर्ण व्यवस्था गरेको छ । स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न संवैधानिक आधार तयार गरिएको छ । संवैधानिक व्यवस्थाले मात्र पर्याप्त हुँदैन । राजनीतिक दलहरूले महिलालाई केवल कोटा पूर्तिका लागि उम्मेदवार बनाउने होइन, नेतृत्व विकासको स्पष्ट योजना निर्माण गर्नुपर्छ । विशेषगरी स्थानीय तहमा महिला प्रमुख, उपप्रमुख तथा अन्य नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाउन दलहरू प्रतिबद्ध हुनुपर्छ । अघिल्लो २०७४ सालको चुनावमा प्रमख र उपप्रमुखमा एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको थियो । संविधानले ३३ प्रतिशत भने पनि ४१ प्रतिशत महिला सहभागिता भयो । तर, २०७९ मा दल गठबन्धनले यो प्रतिनिधित्वलाई खुम्च्याउने काम गरेको छ । २०७४ मा १८ जना महिला प्रमुखको सहभागिता रहेकोमा २०७९ मा २५ जना भयो । तर, समग्र सहभागिता घट्यो । तर, अवसर सानो भए पनि त्यसलाई उपलब्धिमा रूपान्तरण गर्ने क्षमता नै नेतृत्वको वास्तविक पहिचान हो । स्थानीय तहका प्रारम्भिक अनुभवहरूले नै भविष्यका नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् । सानो जिम्मेवारीबाट शुरू भएको यात्रा क्रमशः ठूलो जिम्मेवारीतर्फ अग्रसर हुन्छ । शुरूवाती चरणमा अनुभवको कमी हुन सक्छ, तर जनतासँगको सम्बन्ध, उत्तरदायित्वबोध र निरन्तर सिकाइले नेतृत्वलाई परिपक्व बनाउँछ ।
स्थानीय सरकारमा अहिलेसम्मको अनुभवले के देखाएको छ ?
नेपालमा स्थानीय तहको निर्वाचन नहुँदा लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्था सिर्जना भएको थियो । स्थानीय सरकारको अभावले लोकतन्त्रको आधार कमजोर भएको थियो । स्थानीय तहलाई पुनः सुदृढ बनाउने, जनप्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने र जनताको नजिकको सरकारलाई प्रभावकारी बनाउने प्रक्रियाले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ अध्याय शुरू ग¥यो । स्थानीय सरकारको सुदृढीकरणले महिला नेतृत्वका लागि पनि नयाँ अवसरहरू सिर्जना ग¥यो । आज स्थानीय तहमा महिलाहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक न्याय, वातावरण संरक्षण र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । अवसर प्राप्त हुँदा महिलाहरूले प्रभावकारी नेतृत्व प्रदान गर्न सक्छन् भन्ने प्रमाणित भएको छ । तथापि, चुनौतीहरू पूर्ण रूपमा समाप्त भएका छैनन् ।
महिला भएकै कारण नेतृत्व तहमा सामना गर्नुपर्ने अप्ठेराहरूलाई कसरी अनुभव गर्नुभएको छ ?
आज पनि समाजमा महिला नेतृत्वप्रति भाषिक र सांस्कृतिक पूर्वाग्रह विद्यमान छन् । महिलाले नेतृत्व गर्दा उनीहरूलाई पुरुष नेताको तुलनामा फरक दृष्टिले हेर्ने प्रवृत्ति अझै पनि कायम छ । ‘नेतिनी’ जस्ता शब्दहरूको प्रयोगले महिला नेतृत्वलाई छुट्टै र कम महत्वको रूपमा चित्रण गर्ने प्रयास देखिन्छ । वास्तवमा नेतृत्वको कुनै लिङ्ग हुँदैन । नेतृत्व गर्ने व्यक्ति महिला होस् वा पुरुष, उनीहरूलाई समान सम्मानका साथ ‘नेता’ को रूपमा स्वीकार गरिनुपर्छ । नेपालको राजनीतिक इतिहासमा महिलाहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । विगतका पुस्ताका महिलाहरूले लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक परिवर्तनका लागि कठिन संघर्ष गरेका थिए । उनीहरूले खुला वातावरण, अभिव्यक्ति स्वतन्त्रता वा राजनीतिक संरक्षण प्राप्त गरेका थिएनन् । धेरै महिलाहरूले पर्दाभित्र बसेर, सामाजिक प्रतिबन्धका बीचबाट आन्दोलन र परिवर्तनको नेतृत्व गरेका थिए । उनीहरूको त्याग, संघर्ष र योगदानले आजको पुस्तालाई प्रेरणा प्रदान गरेको छ । इतिहासमा धेरै दिग्गज पुरुष नेताहरूको सफलतापछाडि महिलाहरूको त्याग, श्रम र योगदान रहेको छ । तर, ती योगदानहरूलाई प्रायः औपचारिक मूल्यांकन र मान्यतामा रूपान्तरण गर्न सकिएको छैन । आजको पुस्ताले त्यो इतिहासलाई पुनर्मूल्यांकन गर्दै महिलाहरूको भूमिकालाई सम्मानपूर्वक स्थापित गर्न आवश्यक छ ।