आर्थिक मन्दी, पूँजी अभाव तथा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा कमी आएपछि मधेश प्रदेशमा उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा १ हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा भएको छ।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार लगत कट्टा हुनेमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ वटा रहेका छन्।
तर, यही अवधिमा प्रदेशमा नयाँ उद्योग खुल्ने क्रम भने जारी रहेको छ। गत आवमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा सबैभन्दा बढी १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन्। सो अवधिमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्।
मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार वाणिज्यतर्फ प्राइभेट फर्म ६ हजार १२२ र साझेदारी फर्म १८ वटा नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ वटा फर्म नवीकरण भएका छन्।
उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले गत आवमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।
महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानीमा कमी, पूँजी अभाव तथा स्थानीय तहमा समेत उद्योग दर्ता गर्ने क्रम बढेकाले प्रदेशमा उद्योगको लगत कट्टा हुने संख्या बढेको हो। नयाँ उद्योग दर्ता भइरहे पनि सञ्चालनमा रहेका व्यवसाय बन्द हुने क्रम बढ्नुले मधेशको उद्योग–व्यवसाय क्षेत्रमा लगानीको वातावरण अझै चुनौतीपूर्ण रहेको देखाएको छ।