साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २६ सय अंकमुनि झरेको छ। आज नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९ अंकमा कायम भएको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से १०.६७ अंकले घटेको थियो। सोमबार बजारसँगै कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
सबै समूहगत सूचक घटेका छन्। जलविद्युत् समूह सबैभन्दा धेरै १.१९ प्रतिशतले घटेको छ। त्यस्तै निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घट्यो। अन्य समूहको गिरावट १ प्रतिशतभन्दा कम रह्यो।
बैंकिङ समूह ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.५३, अन्य ०.७८ तथा व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
हाइड्रोपावरमा सर्वाधिक कारोबार
समूहगत कारोबारतर्फ हाइड्रोपावर समूहमा सबैभन्दा धेरै कारोबार भएको छ। उक्त समूहका कम्पनीमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै वाणिज्य बैंक समूहमा ३० करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। धौलागिरि लघुवित्त ११.९८, सीवाईसी लघुवित्त ९.१४, सयपत्री हाइड्रोपावर ६.२७, हाथवे इन्भेस्टमेन्ट ३.३३ तथा खानीखोला हाइड्रोपावर ३.३३ प्रतिशतले बढेका छन्।
यता पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.६७ प्रतिशत र माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशतले घटेको छ।
रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोरका सेयरमा उच्च कारोबार भएको छ।