आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडा जितविहीन बन्दा नेपाललाई फाइदा भएको छ ।
यूएईसँगको पहिलो खेल वर्षाका करण रद्द हुँदा अंक बाँडेको क्यानडाले त्यसपछिका तीन खेल गुमाउन पुग्यो । क्यानडा स्कटल्यान्डसँग ९ र १७० रन तथा यूएईसँग ९७ रनले निराश बनेको थियो ।
यूएई र स्कटल्यान्ड पनि सम्मिलित यो शृंखलामा क्यानडाले चार खेल खेल्दा तीन हार व्यहोरेको हो । एक खेल भने वर्षाका कारण हुन नसक्दा क्यानडाले अंक बाँडेको थियो ।
यो शृंखलामा क्यानडा जितविहीन हुँदा नेपाललाई भने फाइदा भएको छ । क्यानडाको यो नतिजाले नेपाललाई शीर्ष ६ भित्र रहेर सिधै आफ्नो एकदिवसीय मान्यता जोगाउने बाटो केही सहज बनेको छ ।
हाल अंकतालिकामा क्यानडा २५ अंकका साथ छैटौँ स्थानमा रहँदा नेपाल २४ अंक जोडेर सातौँ स्थानमा छ । हालको अंक तालिका हेर्दा छैटौँ स्थानका लागि क्यानडा र नेपालबीच नै प्रतिस्पर्धा हुने निश्चित छ ।
नेपाल र क्यानाडाले अब अन्तिम शृंखला खेल्न बाँकी छ । घरेलु टोली ओमान, नेपाल र क्यानडासम्मिलित शृंखला अक्टोबर ९ देखि १९ सम्म हुँदै छ ।
नेदरल्यान्ड्स शृंखलामा जितविहीन बनेको नेपाल आफ्नो अन्तिम शृंखलामा पनि सोही नतिजा दोहोर्याउन चाहँदैन । ओमान शृंखलामा नेपालले कम्तिमा पनि क्यानडासँगको दुवै खेल आफ्नो पक्षमा पार्न सके शीर्ष ६ मा रहेर सिधै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो हुन्छ । तर, त्यसका लागि नेपालले ओमान र क्यानडाबीचको खेलमा पनि निर्भर रहनु पर्ने हुन्छ ।
ओमानमा आफू अनुकुल नतिजा ल्याउन नसकेमा भने नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि प्लेअफको सहारा लिनुपर्ने हुन्छ ।
ओमान श्रृंखलाको लागि गम्भीर देखिएको नेपालले टोलीमा ब्यापक परिवर्तन गर्दे रोहितको स्थानमा सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरिसकेको छ । ओमान शृंखलामा तीन जित निकाल्नसकेको खण्डमा भने नेपालले छौटौँ स्थानभित्र रहेर आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछ । तर, विदेशी भूमिमा नेपाललाई खेल्न सहज देखिएको छैन ।