बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने भन्ने विषय धेरैका लागि जिज्ञासाको विषय हुन्छ। कतिपयले तातो पानी पिउने गर्छन् भने कसैले कागती पानी, मेथी पानी, चिया वा कफीबाट दिनको सुरुवात गर्छन्। तर, पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मियाँका अनुसार बिहान उठ्नेबित्तिकै शरीरलाई सबैभन्दा पहिले आवश्यक पर्ने कुरा पानी हो।
रातभर करिब ८ देखि १० घण्टासम्म केही नखाँदा शरीरमा पानीको मात्रा घट्ने, पाचन एन्जाइमको सक्रियता कम हुने र आन्द्राको गति सुस्त हुने भएकाले बिहान सबैभन्दा पहिले पर्याप्त पानी पिउनु उपयुक्त हुने उनी बताउँछन्।
बिहान खाली पेटमा चिया वा कफी पिउनु उपयुक्त हुँदैन। चिया र कफीमा हुने क्याफिन तथा अम्लीय तत्वले पेटमा एसिड बढाएर ग्यास्ट्रिक, छाती पोल्ने र पेट दुख्ने समस्या निम्त्याउन सक्छ।
खाली पेटमा नखानु पर्ने खानेकुरा
- कागती, सुन्तला र भोगटे जस्ता अमिला फलफूल, जसले पेटमा एसिड बढाउन सक्छ।
- चिसो पेय पदार्थ जस्तै आइस टी वा चिसो जुस, जसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ।
- धेरै मसलादार खानेकुरा, जसले पेटको भित्री भागमा जलन गराउन सक्छ।
- चिया र कफी, जसमा रहेको क्याफिनले ग्यास्ट्रिकको समस्या बढाउन सक्छ।
- काँचो सागसब्जी, जसमा हुने फाइबरले खाली पेटमा अपच गराउन सक्छ।
- गुलिया तथा बेकरीका परिकार जस्तै डोनट, केक र बिस्कुट, जसले रगतमा चिनीको मात्रा एक्कासि बढाउन सक्छ।
- प्रशोधित मासु जस्तै ससेज र सलामी, जसले पाचन प्रणालीमा अनावश्यक भार पार्न सक्छ।
बिहान खाली पेटमा के खानु उपयुक्त हुन्छ?
विशेषज्ञका अनुसार बिहान खाली पेटमा मनतातो पानी पिउनु सबैभन्दा राम्रो विकल्प हो। यसले शरीरलाई पुनः हाइड्रेट गर्नुका साथै पाचन प्रणाली सक्रिय बनाउन मद्दत गर्छ।
त्यसपछि रातभर भिजाएर राखिएको बदाम खान सकिन्छ, जसले ऊर्जा प्रदान गर्नुका साथै पोषक तत्व पनि उपलब्ध गराउँछ। केरा वा दलिया पनि पेटका लागि हल्का हुने भएकाले बिहानको सुरुवातका लागि उपयुक्त मानिन्छ।
विशेषज्ञहरू स्वस्थ दिनचर्याका लागि बिहानको पहिलो आहार सन्तुलित, हल्का र सजिलै पच्ने खालको हुनुपर्ने सुझाव दिन्छन्। (साभारः स्वास्थ खबर)