प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसद् बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिनुभएको थियो। स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भए त्यसको प्रमाणस्वरूप स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखले बताउनुभएको थियो।
सोहीअनुसार प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण रिपोर्टसहित कालो चस्मा लगाउनुपर्ने कारण उल्लेख गरिएको पत्र संसद् सचिवालयमा पठाउनुभएको हो।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्नेछन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गर्नुभएको हो।
नियमावलीमा उक्त कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि छ। प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखसमक्ष प्रश्नको विषय लिखित रूपमा जानकारी गराउनुपर्ने प्रावधान छ।
यसैअनुसार सभामुखले प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। सो अवधिमा ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
प्रधानमन्त्री शाह बुधबारको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन संसद् भवन पुग्दा स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा कालो चस्मा लगाउन पाउने व्यवस्था गरिएको हो।