अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी राज्यसरहका फाइदा लिन खोजेको तर अमेरिकाको राज्य बन्न नचाहेको आरोप लगाएका छन्। अमेरिका र क्यानडाबीचको व्यापार वार्ता भंग भएपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो।
शुक्रबार राति दुई देशबीचको व्यापार वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ। ट्रम्पले अमेरिकी किसानहरूले वर्षौंदेखि क्यानडामा ‘ठूलो मात्रामा भन्सार शुल्क’ तिर्नुपरेको दाबीसमेत गरेका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकी कदमलाई ‘गलत आकलन’ भन्दै यसले क्यानडालाई कमजोर पार्ने र विभाजित गर्ने उद्देश्य राखेको आरोप लगाएका छन्।
कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकी शुल्कको जवाफमा डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेका छन्। स्टिल, डेरी उत्पादन, विद्युतीय उपकरण तथा इलेक्ट्रोनिक्सलगायत वस्तुमा क्यानडाले पनि शुल्क लगाउने तयारी गरेको छ।
कार्नीले अमेरिका र क्यानडा अहिले व्यापार युद्धमा प्रवेश गरेको बताएका छन्। उनले भने, ‘जब तपाईंमाथि आक्रमण हुन्छ, त्यो युद्ध हो। हामीमाथि आक्रमण भएको छ।’
ट्रम्पले यसअघि पनि क्यानडालाई अमेरिकाको ‘५१औँ राज्य’ बनाउने धारणा पटक–पटक सार्वजनिक गर्दै आएका छन्। पछिल्लो टिप्पणीले क्यानडाका राजनीतिक नेता तथा सर्वसाधारणमा थप असन्तुष्टि बढाएको छ।
ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै क्यानडाले अमेरिकासँग व्यापार युद्ध सुरु गरेर आफूले जित्न सक्ने सोच्नु ‘मूर्खता’ भएको टिप्पणी गरेका छन्।
करिब २० अर्ब डलरको आयात प्रभावित
अमेरिकाले घोषणा गरेको नयाँ ५० प्रतिशत शुल्क क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुने बताइएको छ। यो क्यानडाबाट अमेरिकामा हुने कुल आयातको करिब ५ प्रतिशत हो।
शुल्कको दायरामा मदिरा, डेरी उत्पादन, सिमेन्ट, कपडा तथा आइस हकीसम्बन्धी सामग्रीलगायत वस्तु पर्नेछन्। यसअघि नै अमेरिका–क्यानडा व्यापारमा स्टिल, आल्मुनियम, अटोमोबाइल र काठजन्य उत्पादनमा विभिन्न शुल्क लागू छन्।
कार्नीले क्यानडाले आफ्नो हित संरक्षणका लागि बाध्य भएर प्रतिकारात्मक कदम चाल्न लागेको बताएका छन्। क्यानडाले लगाउने थप शुल्कको विस्तृत विवरण आगामी दिनमा सार्वजनिक गर्ने उनले बताए।
वार्ता किन भंग भयो?
दुवै देशबीच पछिल्ला केही दिनसम्म व्यापार सम्झौता हुने अपेक्षा गरिएको थियो। तर अन्तिम चरणमा दुवै पक्षले एकअर्कामाथि सहमति भएका विषयमा समेत अन्तिम समयमा परिवर्तन गरेको आरोप लगाएपछि वार्ता भंग भएको हो।
कार्नीले अमेरिकाले प्रस्तुत गरेको प्रस्ताव ‘अस्वीकार्य’ रहेको बताए। उनका अनुसार अमेरिकाले क्यानडालाई अन्य देशसँग नयाँ व्यापार सम्झौता गर्नसमेत सीमित गर्ने खालका शर्त अघि सारेको थियो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने क्यानडाले नयाँ माग थपेको र पहिले सहमति भएका विषयबाट पछि हटेको आरोप लगाएका छन्। उनले तत्काल वार्ता पुनः सुरु गर्ने कुनै योजना नरहेको बताएका छन्।
क्यानडाका विभिन्न प्रान्तका नेताहरूले भने कार्नी सरकारको अडानलाई समर्थन गरेका छन्। ओन्टारियोका प्रमुख डग फोर्डले ट्रम्पमाथि विश्वास गर्न नसकिने बताएका छन् भने ब्रिटिस कोलम्बियाका प्रमुख डेभिड एबीले अमेरिकाको माग स्वीकार गरे क्यानडा आर्थिक रूपमा अमेरिकाको ‘५१औँ राज्य’जस्तै बन्ने चेतावनी दिएका छन्।
उत्तर अमेरिकी व्यापार सम्झौतामा पनि असर
अमेरिका र क्यानडाबीचको पछिल्लो विवादले USMCA अन्तर्गतको उत्तर अमेरिकी व्यापार व्यवस्थामा समेत असर पार्न सक्ने देखिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोबीचको उक्त सम्झौताले वार्षिक करिब १.६ ट्रिलियन डलर बराबरको त्रिपक्षीय व्यापारलाई आधार प्रदान गर्दै आएको छ।
क्यानडा र मेक्सिकोले यसै वर्ष USMCA लाई थप १६ वर्षका लागि नवीकरण गर्न औपचारिक प्रस्ताव गरेका थिए। तर अमेरिकाले सम्झौतालाई हालकै स्वरूपमा नवीकरण गर्न अस्वीकार गरेको थियो।
कार्नीले पछिल्लो व्यापार वार्ता भंग हुनु USMCA का लागि पनि ‘राम्रो समाचार नभएको’ बताएका छन्।