डा. नितेश कर्ण विगत १९ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छन् । बुद्धा स्कूल अफ डेन्टल साइन्सेज हस्पिटल, पटनाबाट डेन्टल सर्जरी अध्ययन गरेका उनी पछिल्लो १५ वर्षदेखि साई डेन्टल क्लिनिकमार्फत दन्त उपचार सेवा प्रदान गर्दै आएका छन् । बदलिँदो जीवनशैली, जंकफुडको बढ्दो प्रयोग र मुखको सरसफाईप्रतिको बेवास्ताका कारण दाँत तथा गिजासम्बन्धी समस्या बढिरहेको उनको अनुभव छ । दाँतको स्वास्थ्य, उपचार, बालबालिकाको दन्त हेरचाह तथा जनचेतनाको आवश्यकताबारे डा. कर्णसँग गरिएको कुराकानीको सम्पादित अंश ः
डेन्टल विभागमा कस्ता समस्याका बिरामी बढी आउँछन् ?
हाम्रो क्लिनिकमा दाँत सड्ने, गिजा सुन्निने, दाँत हल्लिने, दाँतमा असह्य दुखाइ हुने तथा मुखसम्बन्धी विभिन्न संक्रमणका बिरामी बढी आउने गरेका छन् । यसको मुख्य कारण अनियन्त्रित खानपान, सही तरिकाले ब्रस नगर्नु तथा मुखको सरसफाइमा ध्यान नदिनु हो । विशेषगरी पान, गुट्खा र सुपारी खाने बानीले दाँत र गिजामा गम्भीर असर पारिरहेको छ । धेरैजसो मानिसले सुरुमा दाँत हल्का दुख्दा औषधि पसलबाट औषधि किनेर खाने गर्छन्। तर दुखाइ असह्य भएपछि मात्र दन्त चिकित्सककहाँ आउने प्रवृत्ति छ । पछिल्लो समय जंकफुडको अत्यधिक सेवनले पनि दाँतका समस्या उल्लेखनीय रूपमा बढेका छन् ।
दाँतको समस्या कुन उमेर समूहमा बढी देखिन्छ ?
४० वर्षभन्दा माथिका व्यक्तिमा दाँत तथा गिजासम्बन्धी समस्या बढी देखिन्छ । नियमित परीक्षण नगर्ने, सामान्य समस्यालाई बेवास्ता गर्ने र समयमै उपचार नगराउने कारणले रोग जटिल बन्छ । धेरै बिरामी जिन्जिभाइटिस वा दाँत सड्ने समस्याको अन्तिम चरणमा पुगेपछि मात्र उपचारका लागि आउँछन् । अर्कोतर्फ, १० वर्षभन्दा कम उमेरका बालबालिकामा पनि दाँतको समस्या धेरै देखिन्छ । २२ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा भने तुलनात्मक रूपमा समस्या कम पाइन्छ ।
तपाईंको क्लिनिकबाट कस्ता सेवा उपलब्ध छन् ?
साई डेन्टल क्लिनिकबाट दाँतसम्बन्धी अधिकांश समस्याको उपचार उपलब्ध छ । दाँतको फिलिङ, रुट क्यानल (आरसीटी), गिजाको उपचार, बाङ्गोटिङ्गो दाँत मिलाउने उपचार, मुखको सामान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेका छौं । मुखको हड्डी भाँचिएको वा जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई भने आवश्यक सुविधा भएको अस्पतालमा रिफर गर्ने गर्छौं ।
बालबालिकामा दाँत बाङ्गोटिङ्गो हुने मुख्य कारण के हो ?
दुधेदाँत अत्यन्तै संवेदनशील हुन्छ । चकलेट, जंकफुड र चिनीजन्य खानेकुराको अत्यधिक सेवन तथा त्यसपछि राम्रोसँग मुख सफा नगर्नु मुख्य कारण हो । धेरै अभिभावकले दुधेदाँतलाई अस्थायी दाँत भनेर बेवास्ता गर्ने गर्छन् । दुधेदाँत समयभन्दा अगाडि झिक्नुपरेमा त्यसपछि आउने स्थायी दाँतको स्थान परिवर्तन भई बाङ्गोटिङ्गो हुन सक्छ । त्यसैले सानैदेखि दाँतको उचित हेरचाह आवश्यक हुन्छ। बालबालिकालाई नियमित ब्रस गर्ने बानी बसाल्नुका साथै निश्चित अन्तरालमा दन्त परीक्षण गराउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
बालबालिकाको दाँतको हेरचाहमा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ?
पाँच वर्षपछि बालबालिकामा चकलेट र जंकफुड खाने बानी बढ्छ, जसका कारण दुधेदाँत छिट्टै सड्ने सम्भावना हुन्छ । पाँचदेखि १२ वर्षको उमेर दुधेदाँत साटिएर स्थायी दाँत आउने महत्वपूर्ण चरण भएकाले यो समयमा विशेष ध्यान दिनुपर्छ । सानैदेखि सही ब्रस गर्ने बानी बसाल्ने, अत्यधिक गुलियो खानेकुरा नियन्त्रण गर्ने र प्रत्येक चारदेखि छ महिनामा दन्त परीक्षण गराउने हो भने धेरै समस्या रोक्न सकिन्छ ।
दाँतको उपचार महँगो भएको गुनासो सुनिन्छ, तपाईंको धारणा के छ ?
मेरो विचारमा दाँतको उपचार महँगो होइन, उपचार ढिलो गरिँदा खर्च बढ्ने हो । उपचारमा प्रयोग हुने सामग्रीको मूल्य बढ्दै गएको छ । तर, सामान्य अवस्थामा दाँत परीक्षण गराएर उपचार गरिए कम खर्चमै समस्या समाधान हुन्छ । दुखाइ सहेर बस्ने, आफैं औषधि खाने र धेरै ढिलो चिकित्सककहाँ आउने बानीका कारण संक्रमण जरासम्म पुग्छ । त्यसपछि रुट क्यानल, क्राउन वा दाँत नै उखेल्नुपर्ने अवस्था आउँछ, जसले खर्च बढाउँछ ।
बाङ्गोटिङ्गो दाँतको उपचार कुन उमेरमा गर्नु उपयुक्त हुन्छ ?
स्थायी दाँत पूरा विकास भएपछि अर्थात् करिब १४ वर्षपछि ब्रेसेस लगाएर उपचार शुरू गर्नु उपयुक्त हुन्छ । बिरामीको अवस्थाअनुसार उपचार अवधि फरक पर्छ । सामान्यतया एक वर्षदेखि डेढ वर्षसम्म लाग्छ भने केही अवस्थामा आठ÷नौ महिनामै पनि राम्रो परिणाम प्राप्त गर्न सकिन्छ । वीरगञ्जमा यस्तो उपचार अन्य धेरै स्थानको तुलनामा सुलभ छ । उपचारको कुल खर्च सामान्यतया ५० देखि ५५ हजार रुपैयाँसम्म पर्न सक्छ । यस्तो उपचार अर्थोडोन्टिस्टबाट मात्र गराउनु उपयुक्त हुन्छ ।
अन्त्यमा आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
दाँत स्वस्थ राख्न दिनमा दुई पटक ब्रस गर्नु आवश्यक छ । विशेषगरी राति खाना खाइसकेपछि ब्रस गर्नु अनिवार्यजस्तै हो, किनभने रातभर मुखभित्र रहेका ब्याक्टेरिया बढी सक्रिय हुन्छन् । स्वस्थ खानपान अपनाउनुपर्छ, जंकफुड र बाहिरका अस्वस्थकर खानेकुरा कम खानुपर्छ । दाँतमा कुनै समस्या नदेखिए पनि प्रत्येक छ महिनामा एकपटक दन्त परीक्षण गराउनु राम्रो हुन्छ । विद्यालय, समुदाय र स्थानीय तहमा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । उपचार गराउनुअघि सम्बन्धित क्लिनिकमा लाइसेन्स प्राप्त योग्य दन्त चिकित्सक छन् कि छैनन् भन्ने कुरा अनिवार्य रूपमा बुझेर मात्रै उपचार गराउन म सबैलाई आग्रह गर्छु ।