वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि देशभर फैलिएको चिकित्सक आन्दोलन समाधानतर्फ उन्मुख भएको छ। सरकार र नेपाल चिकित्सक संघबीच बुधबार स्वास्थ्य मन्त्रालयमा जारी उच्चस्तरीय वार्ता निर्णायक चरणमा पुगेको छ।
आन्दोलनका कारण देशभर आकस्मिकबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेका बेला सरकार र चिकित्सक संघबीचका अधिकांश मागमा सहमति नजिक पुगेको जनाइएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीका अनुसार संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा पुगेका छन्। बाँकी विषयमा स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको उनले बताए।
डा. दवाडीका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ। साथै, घटनाका क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका पर्साका प्रहरी उपरीक्षक (एसपी) को पनि सरुवा भइसकेको छ।
उनले अब वार्ता मुख्य रूपमा ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन’ संशोधन तथा स्वास्थ्य सेवासम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकारक्षेत्र सम्बन्धी विषयमा केन्द्रित रहेको जानकारी दिए।
“स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच अहिले ऐन संशोधन र उपभोक्ता अदालतको विषयमा छलफल भइरहेको छ। यी विषय पनि टुंगिए आन्दोलन समाधानतर्फ जान सक्छ,” डा. दवाडीले बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा स्वास्थ्यमन्त्री, गृह तथा कानुन मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी छन्।
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई कडा कानुनी दायरामा ल्याउनुपर्ने, स्वास्थ्य सेवा सम्बन्धी विवादको सुनुवाइ गर्ने अधिकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको संयन्त्रमार्फत व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण हजारौं बिरामी नियमित उपचार सेवाबाट वञ्चित भएका छन्।