वीरगन्ज महानगरपालिका वडा नम्बर ८ कार्यालयमा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र वडा कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल उद्योग वाणिज्य महासंघमार्फत मधेस प्रदेशमा सञ्चालन गरेको ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रम अन्तर्गत उक्त शिशु स्याहार केन्द्र वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो।
यसअघि वीरगन्ज महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्य, वडा नम्बर ८ का अध्यक्ष रितेश कुमार गुप्ता, महिला उद्यमी सहजकर्ता अन्जु राना मगर लगायत सरोकारवालाबीच वडा कार्यालयमै शिशु स्याहार केन्द्र स्थापना गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार शुक्रबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगार समितिका सभापति प्रबलजंग पाण्डेले वडा अध्यक्ष गुप्तालाई आवश्यक सामग्रीसहित स्याहार केन्द्र हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै पाण्डेले कार्यस्थलमा महिलामैत्री वातावरण निर्माण गरी उनीहरूको श्रम बजारमा सहभागिता बढाउन शिशु स्याहार केन्द्र अवधारणा महत्वपूर्ण रहेको बताए। उनका अनुसार निजी क्षेत्रसँगको सहकार्यमा महिलामैत्री कार्यस्थल विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थानीय सरकारसँगको सहकार्यमा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता पहलमा साथ रहने प्रतिबद्धता जनाए।
त्यस्तै, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाको प्रारम्भिक विकासका लागि यस्ता स्याहार केन्द्र आवश्यक रहेको बताउँदै वडा अध्यक्ष गुप्ताको पहलको प्रशंसा गरे।
आईएलओ मधेस प्रदेश संयोजक महेन्द्र सहनीले महिलालाई श्रम बजार, उद्यम र रोजगारमा सहभागी गराउन स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले विशेषगरी पारिवारिक जिम्मेवारीका कारण महिलाको सहभागिता कम भएको अवस्थामा यस्ता केन्द्रले सहयोग पुग्ने बताए।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, वडा सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।