डा. अनुपम उपाध्याय ज्येष्ठ नागरिक रोग विशेषज्ञ हुन् । उनले नेशनल मेडिकल कलेजबाट एमबीबीएस र अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स दिल्ली एम्सबाट ज्येष्ठ नागरिक रोगसम्बन्धी एमडी गरेका छन् । ५ वर्षदेखि चिकित्सक सेवामा लागेको उनले वीरगञ्ज हेल्थ केयर हस्पिटल र सदेव क्लिनिक प्रतिमाचौकबाट सेवा दिइरहेका छन् । डा. उपाध्यायसँग मध्य नेपालले गरेको कुराकानी:
ज्येष्ठ नागरिक रोग विशेषज्ञ भनेको के हो ?
डब्लुएचओका अनुसार ६० वर्षभन्दा माथिका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ । बच्चाको रोगको बारेमा उपचार गर्न बालरोग विशेषज्ञ भनेजस्तै ज्येष्ठ नागरिकको रोगलाई उपचार गर्न अध्ययन गरेको विशेषज्ञ हो । ज्येष्ठ नागरिकहरूमा लाग्ने रोगहरूलाई पहिचान गरी त्यसको उपचार गर्ने विधिमा दक्ष भएर उपचारमा खटिएको व्यक्ति ज्येष्ठ नागरिक रोग विशेषज्ञ हो ।
जेनरल फिजिसियन र जे¥याट्रिक फिजिसियनमा के फरक छ ?
जेनरल फिसजसियनअन्र्तगत १४ वर्षको उमेरदेखि ५९ वर्षको मानिस बिरामी भएमा जेनरल फिजिसियन अन्र्तगत पर्दछन् । ६० वर्षभन्दा माथिका वृद्ध मानिसहरू बिरामी भएमा ज्येष्ठ नागरिक रोग विशेषज्ञलाई देखाउनु पर्दछ ।
ज्येष्ठ नागरिकहरूलाई कस्ता खालका रोगहरू बढी लाग्ने गर्दछन् ?
ज्येष्ठ नागरिकहरूलाई ब्लड प्रेसर, मधुमेह, थाइराइड, प्रोस्टेड र मृगौलाका समस्याहरू लाग्ने रोग हुन् । ज्येष्ठ नागरिकहरूमा नै हुने रोगहरू बिर्सिने रोग, अल्जाइमर्स रोग, डिप्रेशन, कब्जियत, पिसाब बारम्बार हुने अथवा पिसाब नरोकिने, हड्डी खिइने वा कमजोर हुँदै जाने, घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने हुन्छ ।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ र जेनरल फिजिसियनसँग जाँच गर्नुमा के भिन्नता छ ?
एमबीबीएस पढ्दै गर्दा घरमा बुबाआमा ७० वर्ष पुगिसकेका थिए । त्यो बेला पनि बुबाआमाको उपचार फिजिसियनकहाँ नै जाँच गराउन लैजान्थेँ । फिजिसियनले वृद्धहरूलाई लाग्ने धेरै रोगहरू उमेर बढी भएकाले हो भन्ने गर्दर्थे । जब मैले ज्येष्ठ नागरिक रोग विशेषज्ञ पढेर आएपछि ज्येष्ठ नागरिक रोग विशेषज्ञको काम गरिरहेको छु । ज्येष्ठ नागरिकलाई लाग्ने सबै रोगको कारण बताउन सक्ने भएको छु । ९० प्रतिशत रोग उमेरको कारणले भएको होइन । निको हुने रोग पनि हुन्छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञले उपचार गर्ने तरिकामा पनि फरक हुन्छ । रोग र औषधीको लागि मात्र उपचार होइन । रोगको साथसाथै औषधीले कस्तो काम गर्छ र खानपिन कस्तो छ ? त्यो पनि हेरिन्छ । डाइबिटिज भएको बिरामीलाई औषधीले मात्र निको हँुदैन । खानपिन पनि कन्ट्रोल गर्नुपर्छ । ब्लड प्रेसर बढेको बिरामीलाई औषधीले मात्र हुँदैन । खानपिनसहित व्यायाम गर्नुपर्छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञले फिजिसियन, फिजियो थेरापी, डाइटिसियन, साइकोलोजिष्टको पनि काम गर्दछन् ।
ज्येष्ठ नागरिकलाई बिर्सिने रोगबाट कसरी बचाउन सकिन्छ ?
बिर्सिने रोगलाई दुई तरिकाले हेर्न सकिन्छ । एउटा बिर्सिने रोग निको हुन सक्छ । अर्को बिर्सिने रोग निको हुन सक्दैन । ६० प्रतिशत बिरामीहरू बिर्सिने रोगबाट ठिक हुन सक्छन् । थाइराइडको कमी, भिटामिन बि १२ को कमी, फोलिक एसिडको कमी, भिटामिन डीको कमी, भाइरल इन्फेक्सनले पनि बिर्सिने बिरामी हुन सक्छ । यो बिर्सिने बिरामीलाई निको पार्न सकिन्छ । निको पार्न नसक्ने बिर्सिने रोगलाई रोकथाम गर्न सकिन्छ । ज्येष्ठ नागरिकहरूमा हुने डिप्रेशनलाई हटाउन ज्येष्ठ नागरिकको समूह बनाएर, समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक कार्यक्रमहरूको लागि प्रोत्साहित गर्ने र नेपाल सरकारले पनि ज्येष्ठ नागरिकहरूको सहजताको लागि पार्क बनाइरहेको छ ।
ज्येष्ठ नागरिकलाई धेरै किसिमका रोग लाग्नबाट कसरी बचाउन सकिन्छ ?
ज्येष्ठ नागरिकलाई रोग लाग्न नदिनु र रोग लागेपछि उपचार गर्नु फरक कुरा हो । रोग लाग्न नदिन ५० वर्षको उमेरदेखि दैनिक ३० देखि ४५ मिनेट मर्निङ्गवाक गरिरहेको छ भने डाइबिटिज, ब्लड प्रेशर, लिपिड, कोलस्टोनको समस्या हुँदैन । यस्ता मानिसहरू अरू मानिसभन्दा १० वर्ष बढी बाँच्छन् । स्वस्थ्य मानिसले आफ्नो स्वास्थ्यलाई सन्तुलन बनाइराख्नु पर्छ । धुम्रपान नगर्ने मानिसहरू हार्टआट्याक, दम, इन्फेक्सन र टिबी रोगबाट बच्न सकिन्छ । खानपिन राम्रो छ भने धेरै रोगबाट बच्न सक्छौं । ज्येष्ठ नागरिकमा रोग लागिसकेको छ भने उपचार फरक हुन्छ । रोग लाग्न नदिन गाउँ, टोल र समुदायमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ । ब्लड पे्रसर, र डाइबिटिजलाई नियन्त्रण गर्न कार्यक्रम गर्नुपर्छ । क्यान्सरबाट बचाउन स्क्रिनिङ्ग प्रोग्राम र प्रोष्टेड क्यान्सरबाट बचाउन ६५ वर्ष भन्दामाथिका प्रोष्टेडको बिरामीलाई हरेक वर्ष सिरम पीएसए जाँच गर्नुपर्छ । स्तन क्यान्सर, फोक्सो क्यान्सर र पाठेघर क्यान्सरको लागि स्क्रिनिङ्ग पहिला नै गरेमा क्यान्सर पत्ता लगाउन सकिन्छ ।
प्रोस्टेडको उपचार कसरी गरिन्छ ?
प्रोस्टेड हरेक पुरुषमा हुन्छ । उमेर बढ्दै जादाँ प्रोस्टेडको साइज पनि बढ्दै जान्छ । हिपको मांसपेशी बलियो छ भने ब्लाडरको मांसपेशीहरूको कसरत गर्नुभएको छ भने प्रोस्टेडले दुःख दिँदैन । हिपको मांसपेशीहरू बलियो छैन र प्रोस्टेडले दुःख दिइरहेको छ भने अप्रेशनको लागि कुनै उमेर चाहिँदैन । प्रोस्टेडको ग्रेड कति छ ? मृगौला सुन्निएको छ छैन ? पिसाबमा इन्फेक्सन गराएको छ वा छैन ? मानिसको निद्रामा वाधा पु¥याएको छ छैन ? सबै कुरालाई हेरेर अप्रेशन गर्ने निर्णय लिइन्छ । सकेसम्म औषधीबाट नै उपचार गर्छौं । यदि औषधीले नियन्त्रण भएन । तेस्रो र चौथो चरण पुगिसकेको छ र क्यान्सर भएमा प्रोस्टेडको कारणले मृगौला सुन्निएमा अप्रेशन गर्नु जरुरी पर्छ । ब्लाडर र किगल कसरतबाट धेरै हदसम्म प्रोस्टेडको लक्षणहरू सुधार हुन्छ । घुडा दुख्ने, ढाड दुख्ने समस्याहरू औषधीले केही समयको लागि दुखाई कम गर्छ । फिजियो थेरापीको कसरतले लामो समयसम्म नियन्त्रण गरेर राख्छ ।
ज्येष्ठ नागरिक रोग विशेषज्ञलाई नै किन जाँच गराउनुपर्छ ?
ज्येष्ठ नागरिकहरूले आफूलाई कुनै रोग लागेको छ भने ज्येष्ठ नागरिक रोग विशेषज्ञलाई नै जाँच गराउनुभएमा उपचारको प्रक्रियामा पनि फरक पाउनुहुनेछ । औषधी दुरुपयोग भएरहेको छ कि ? पोलिफार्मेसी भएरहेको छ कि ? भन्ने विषयमा पनि राम्रो परामर्श पाउनुहुनेछ । ज्येष्ठ नागरिकहरूलाई रोग लागेमा ज्येष्ठ नागरिक रोग विशेषज्ञलाई देखाउन जरुरी हुन्छ । नेपालएक सय बेडभन्दा बढी भएको हस्पिटलहरूमा ज्येष्ठ नागरिक वार्ड राख्नुपर्ने प्रावधान छ । सबै ठाउँमा ज्येष्ठ नागरिक वार्ड राखेको छ । तर, ज्येष्ठ नागरिक रोग विशेषज्ञ भने छैनन् । ज्येष्ठ नागरिकसम्बन्धी रोगहरू ज्येष्ठ नागरिक रोग विशेषज्ञलाई नै जाँच गराउनु राम्रो हुन्छ । ज्येष्ठ नागरिक रोगबारेमा जनचेतनाको कमी छ । यो वर्षदेखि नेपालमा पनि वीर हस्पिटलले ज्येष्ठ नागरिक रोग फेलोसिप शुरू गरेको छ । नेपालमा २० जना ज्येष्ठ नागरिक रोग विशेषज्ञ भए पनि अवसर नभएका कारण आधाभन्दा बढी चिकित्सक विदेशमा काम गरिरहेका छन् ।
आम नागरिकलाई के सल्लाह दिन चाहनुहुन्छ ?
हाम्रो बच्चा बिरामी भएमा बालरोग विशेषज्ञसँग जाँच गराउन जान्छौं भने ज्येष्ठ नागरिक पनि बिरामी हुदाँ ज्येष्ठ नागरिक रोग विशेषज्ञकहाँ जाँच गर्न जाने हो वा जेनरल फिजिसियनकहाँ जाँच गर्न जाने हो यो निर्णय गर्नुपर्ने काम ज्येष्ठ नागरिक स्वयम्को नै हो । ज्येष्ठ नागरिक रोग विशेषज्ञको नजिक उपलब्ध छ भने आफ्नो उमेर समूहको रोग विशेषज्ञलाई नै जाँच गराउनु उपयुक्त हुन्छ । कुनै व्यक्तिलाई सुगर, ब्लड प्रेशर, दम, प्रोस्टेडको पनि समस्या छ भने सबैको लागि अलगअलग चिकित्सकहाँ जाने कि सबै रोग हेर्ने एउटै चिकित्सककोमा जाने भन्ने कुरामा ध्यान दिनुपर्छ । धैरैवटा रोगको उपचारको लागि धेरै चिकित्सककहाँ गएर समय र पैसा खर्च गर्नुभन्दा ज्येष्ठ नागरिक रोग विशेषज्ञसँग सबै रोगको जाँच एकै ठाउँमा गर्दा समय र पैसाको बचत र सही उपचार हुन्छ ।