बिहान उठ्नेबित्तिकै मोबाइल हेर्ने र राति सुत्नुअघि पनि फोनमै व्यस्त रहने बानी धेरैको दैनिक जीवनको हिस्सा बनिसकेको छ। काम, अध्ययन, मनोरञ्जनदेखि सामाजिक सञ्जालसम्म मोबाइलमा निर्भरता बढ्दै जाँदा यसबाट केही समय टाढा रहनु धेरैका लागि चुनौतीपूर्ण हुन सक्छ। तर, मानसिक स्वास्थ्य तथा जीवनशैली विशेषज्ञहरूका अनुसार एक दिनका लागि मोबाइल बन्द गर्नु वा यसको प्रयोग न्यून गर्नु शरीर र दिमाग दुवैका लागि फाइदाजनक हुन सक्छ।
विशेषज्ञहरूका अनुसार मोबाइलमा आउने निरन्तर नोटिफिकेसन, सन्देश र सामाजिक सञ्जालका सामग्रीले मस्तिष्कलाई सधैं सक्रिय राख्ने भएकाले तनाव र चिन्ताको स्तर बढ्न सक्छ। केही घण्टा वा एक दिन मोबाइलबाट टाढा रहँदा दिमागले आराम पाउने, मानसिक शान्ति बढ्ने र एउटै काममा ध्यान केन्द्रित गर्ने क्षमता सुधार हुन सक्छ। सामाजिक सञ्जालको निरन्तर प्रयोगबाट हुने तुलना, सूचना र अनावश्यक सामग्रीबाट केही समय टाढा रहँदा मन पनि हल्का महसुस हुने बताइन्छ।
मोबाइलको अत्यधिक प्रयोगले निद्रामा पनि असर पार्न सक्छ। विशेषगरी राति सुत्नुअघि स्क्रिनबाट निस्कने निलो प्रकाश (ब्लु लाइट) ले निद्राको प्राकृतिक चक्रमा बाधा पुर्याउन सक्छ। मोबाइल कम प्रयोग गर्दा छिटो निद्रा लाग्ने, निद्राको गुणस्तर सुधार हुने र बिहान उठ्दा शरीर बढी ताजगी महसुस गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
यस्तै, लामो समय मोबाइल हेर्दा आँखा सुख्खा हुने, टाउको दुख्ने, घाँटी र काँधमा पीडा हुने समस्या पनि देखिन सक्छ। केही समय मोबाइलबाट विश्राम लिँदा आँखाले आराम पाउने, शरीरको तनाव कम हुने र शारीरिक स्फूर्ति बढ्ने सम्भावना हुन्छ। साथै, मोबाइलमा बित्ने समय घट्दा परिवारसँग कुराकानी गर्ने, पुस्तक पढ्ने, व्यायाम गर्ने वा आफ्ना रुचिका काममा समय दिन सकिने भएकाले सम्बन्ध र व्यक्तिगत उत्पादकत्व दुवैमा सकारात्मक प्रभाव पर्न सक्छ।
यद्यपि, मोबाइलको धेरै प्रयोग गर्ने व्यक्तिलाई सुरुमा बेचैनी, बारम्बार फोन हेर्न मन लाग्ने वा केही छुटिरहेको जस्तो महसुस हुन सक्छ। मनोवैज्ञानिकहरूले यसलाई डिजिटल निर्भरताको सामान्य प्रतिक्रिया मान्छन्, जुन बिस्तारै कम हुँदै जान्छ। त्यसैले विशेषज्ञहरूले बिहान उठेपछि केही समय मोबाइल नचलाउने, खाना खाने बेला फोन टाढा राख्ने, सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि स्क्रिन बन्द गर्ने र बिदाको दिन केही घण्टा ‘डिजिटल डिटक्स’ अपनाउने बानी विकास गर्न सुझाव दिएका छन्।
मोबाइल आधुनिक जीवनको अपरिहार्य साधन भए पनि यसको सन्तुलित प्रयोग नै स्वस्थ जीवनशैलीको आधार हो। समय–समयमा मोबाइलबाट विश्राम लिन सके मानसिक स्वास्थ्य, शारीरिक स्फूर्ति र पारिवारिक सम्बन्धमा सकारात्मक परिवर्तन अनुभव गर्न सकिने विशेषज्ञहरूको भनाइ छ।