अर्जेन्टिनाका विश्वकप विजेता तथा एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेजको भविष्यलाई लिएर जारी विवाद झनै चर्किएको छ। आफ्नै समर्थकबाट रंगशालामा हुटिङ र गालीको सामना गरेपछि अल्भारेजको क्लब भविष्यबारे चर्चा थप पेचिलो बनेको हो।
आइतबार रियाद एयर मेट्रोपोलिटानोमा भिल्लारियलविरुद्धको खेलमा एट्लेटिकोका समर्थकहरूले आफ्नै खेलाडी अल्भारेजलाई लक्षित गर्दै असन्तुष्टि जनाएका थिए। उक्त खेल २–२ को बराबरीमा सकिएको थियो।
आगामी १ सेप्टेम्बरमा ट्रान्सफर विन्डो बन्द हुने भएकाले अल्भारेजको भविष्यमा अब केही दिनमै निर्णय हुनुपर्नेछ।
बार्सिलोना जान चाहन्छन् अल्भारेज
समग्र विवादलाई सरल रूपमा बुझ्दा अल्भारेज बार्सिलोना जान चाहन्छन्, तर एट्लेटिको उनलाई बेच्न तयार छैन।
स्पेनिस क्लबले आफ्ना २६ वर्षीय स्टारलाई बार्सिलोनामा जान अनुमति नदिने अडान लिएपछि खेलाडी, क्लब र समर्थकबीचको सम्बन्ध तनावपूर्ण बनेको हो।
एट्लेटिकोका अध्यक्ष एनरिके सेरेजोले गत साता अल्भारेज क्लबमै रहने दाबी गर्दै उनी केही खेलमै समर्थकको विश्वास पुनः जित्ने बताएका थिए।
तर आइतबार समर्थकबाट भएको हुटिङले क्लबको दाबीअनुसार परिस्थिति सहज नभएको संकेत दिएको छ।
आर्सनल अवसरको प्रतीक्षामा
यही विवादका बीच आर्सनल भने अल्भारेजलाई भित्र्याउने सम्भावनामा नजर राखिरहेको छ।
बीबीसी स्पोर्टका अनुसार आर्सनलले लामो समयदेखि अल्भारेजलाई आफ्नो प्रमुख ट्रान्सफर लक्ष्यका रूपमा हेरेको छ। तर अल्भारेजको पहिलो रोजाइ बार्सिलोना भएकाले आर्सनलले हालसम्म सक्रिय रूपमा अघि बढ्न सकेको थिएन।
अब भने परिस्थिति बदलिन सक्ने देखिएको छ।
बार्सिलोनाको प्रस्ताव एट्लेटिकोले स्वीकार नगर्ने स्पष्ट भएपछि अल्भारेजले आफ्नो निर्णय परिवर्तन गरेमा आर्सनल तत्कालै सम्झौता गर्न तयार अवस्थामा रहेको बताइएको छ।
एट्लेटिकोले मागेको मूल्य १५ करोड युरो
एट्लेटिकोले अल्भारेजका लागि करिब १५ करोड युरो (झन्डै १२ करोड ८० लाख पाउन्ड) मागेको बताइएको छ।
आर्सनल भने उक्त रकम जुटाउन सक्षम रहेको र अल्भारेजले क्लबमा आउने सहमति जनाएमा सम्झौता छिटो सम्पन्न गर्न सक्ने विश्वासमा छ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा अल्भारेज बार्सिलोना जान नपाएकै कारण लन्डन आउने भए पनि पछि क्लबको परियोजनाप्रति पूर्ण रूपमा प्रतिबद्ध हुन सक्ने विश्वासमा रहेको बताइएको छ।
अल्भारेजको परिवारका लागि बेलायतको भिसा पनि चुनौती
आर्सनलको प्रस्ताव स्वीकार गर्न अल्भारेजलाई अर्को पक्षले पनि रोकिरहेको छ। बेलायतका केही भिसा नियमका कारण परिवारका सदस्यलाई आफूलाई भेट्न ल्याउन कठिनाइ हुन सक्ने जानकारी उनलाई दिइएको बताइएको छ।
त्यसैले अल्भारेजको प्राथमिकता अझै पनि स्पेन नै रहेको र उनी बार्सिलोनालाई आफ्नो सपनाको गन्तव्य मानिरहेका छन्।
एट्लेटिको र बार्सिलोनाबीच पनि तिक्तता
बार्सिलोनाले अल्भारेजमा चासो देखाएपछि एट्लेटिकोले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएको थियो।
क्लबले बार्सिलोनामाथि आफ्ना खेलाडीविरुद्ध ‘स्मियर क्याम्पेन’ चलाएको आरोपसमेत लगाएको थियो। एट्लेटिकोको अडान स्पष्ट छ—अल्भारेज बार्सिलोनाका लागि बिक्रीमा छैनन्।
यसले बार्सिलोनाको योजनामा ठूलो समस्या सिर्जना गरेको छ।
अल्भारेजले एट्लेटिको छाड्न चाहेका छन्
अल्भारेजले सन् २०२४ अगस्टमा ८१ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीबाट एट्लेटिको मड्रिड पुगेका थिए।
सिटीमा दुई वर्षभन्दा केही बढी समय बिताउँदा उनले १०६ खेलमा ३६ गोल गरेका थिए र प्रिमियर लिग, एफए कप तथा च्याम्पियन्स लिगसहित ६ प्रमुख उपाधि जितेका थिए।
एट्लेटिकोका लागि भने उनले १०७ खेलमा ४९ गोल गरिसकेका छन्। तर क्लबमा अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन्।
अल्भारेजको नजिकका स्रोतका अनुसार उनी एट्लेटिको छाड्न चाहन्छन् र क्लबले उनको विषयमा अनुचित व्यवहार गरेको विश्वास गर्छन्।
उनका एजेन्ट फर्नान्डो हिडाल्गोले पनि क्लबले खेलाडीलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
‘ट्रान्सफर नै उत्तम विकल्प हो’
अल्भारेज आफैंले पनि विश्वकपका क्रममा आफ्नो भविष्यबारे सार्वजनिक रूपमा बोल्दै ‘ट्रान्सफर नै उत्तम विकल्प हो’ भन्ने संकेत दिएका थिए।
जुन ९ मा रियल मड्रिडले अल्भारेजका लागि १५ करोड युरोको प्रस्ताव एट्लेटिकोले अस्वीकार गरेको पुष्टि गरेपछि खेलाडीको पक्षले क्लबले पहिलेको सहमति तोडेको महसुस गरेको थियो।
तर एट्लेटिकोका लागि आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी रियल मड्रिडलाई अल्भारेज बेच्नु असम्भवजस्तै थियो।
बार्सिलोनाले पनि विकल्प खोज्न थाल्यो
बार्सिलोना अझै अल्भारेजप्रति इच्छुक छ। तर एट्लेटिको आफ्नो अडानबाट पछि नहट्ने देखिएपछि बार्सिलोनाले अन्य विकल्पबारे पनि सोच्न थालेको छ।
त्यसमध्ये आर्सनलका स्विडिस स्ट्राइकर भिक्टर ग्योकेरेस पनि सम्भावित विकल्पका रूपमा चर्चामा छन्।
यदि बार्सिलोनाले अल्भारेजको दौडबाट पछि हट्यो भने अर्जेन्टिनी स्टारसामु पनि कठिन निर्णय हुनेछ।
ट्रान्सफर विन्डो बन्द हुन अब केही दिन मात्र बाँकी रहेकाले अल्भारेजको भविष्यको उत्तर चाँडै आउनेछ।