बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको बयानसम्बन्धी भिडियो प्रहरी हवल्दारले जापानमा रहेका एक व्यक्तिलाई पठाएपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार कुमार विक अहिले प्रहरी हिरासतमा छन्। उनले बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने क्रममा घटनाबारे बताइरहेको भिडियो खिचेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार हवल्दार विकले उक्त भिडियो आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका थिएनन्। उनले भिडियो खिचेर जापानमा रहेका एक व्यक्तिलाई पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘उनले भिडियो खिचेर जापानमा भएको व्यक्तिलाई पठाएको देखिन्छ। त्यहाँबाट सामाजिक सञ्जालमा बाहिरिएको हो। पछि अरूले पनि हाल्न थाले,’ एसपी कुँवरले भने।
उक्त भिडियो प्रहरी कार्यालयमा नभई प्रादेशिक अस्पताल कलैयामा खिचिएको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणका लागि आरोपीलाई अस्पताल लैजाँदा भिडियो खिचिएको एसपी कुँवरले बताए।
घटनाका क्रममा त्यहाँ उपस्थित अन्य प्रहरीमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘हामीले त्यहाँ देखिएका अन्य प्रहरीमाथि पनि अनुसन्धान गरिरहेका छौं,’ एसपी कुँवरले भने।
प्रहरीले घटनामा बालबालिकासम्बन्धी कसुर, गोपनीयता उल्लंघन तथा विद्युतीय कारोबार ऐनअन्तर्गतका कसुरमा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।