अमेरिकाले इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने उद्देश्यसहित थप कडा आर्थिक प्रतिबन्ध घोषणा गरेपछि दुई देशबीचको तनाव थप चर्किएको छ। अमेरिकाले आफ्नो कदमलाई इरानविरुद्धको ‘सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भनेको छ भने इरानले प्रतिबन्धको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देश, बैंक वा व्यवसायलाई समेत अमेरिकी प्रतिबन्धको दायरामा ल्याउने चेतावनी दिएका छन्। उनले इरानको आम्दानीका सबै सम्भावित स्रोत बन्द गर्ने उद्देश्यले नयाँ प्रतिबन्ध लगाइएको बताएका छन्।
अमेरिकाले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिइएको अभियानअन्तर्गत डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र पानीजहाजसँग सम्बन्धित क्षेत्रमा प्रतिबन्ध लगाएको छ। साथै करिब ६० वटा संस्था, व्यक्ति र पानीजहाजमाथि समेत प्रतिबन्ध घोषणा गरिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।
बेसेन्टका अनुसार इरानसामु अब दुईवटा विकल्प मात्र छन्– पूर्ण रूपमा विश्वबाट अलग हुने वा आफ्नो नीति परिवर्तन गरेर पुनः विश्व अर्थतन्त्रमा सहभागी हुने। उनले अमेरिकी प्रशासनले यसअघि जस्तो इरानको जोखिम व्यवस्थापन गर्ने नभई त्यसलाई अन्त्य गर्ने उद्देश्य राखेको दाबी गरे।
तर इरानले अमेरिकी कदमबाट आफू नडराएको प्रतिक्रिया दिएको छ। इरानका अर्थमन्त्री अली मदानीजादेहले तेहरान नयाँ प्रतिबन्धका लागि पूर्ण रूपमा तयार रहेको र यसले अमेरिकाको अर्को पराजय हुने दाबी गरे। उनका अनुसार इरानसँग यस्ता परिस्थितिसँग जुध्न दुई वर्षे योजना रहेको छ।
इरानका प्रमुख व्यापारिक साझेदार चीन, टर्की र संयुक्त अरब इमिरेट्स हुन्। अमेरिकाको नयाँ प्रतिबन्धपछि पनि चीन र रुसले अमेरिकी कदम स्वीकार नगरेको मदानीजादेहले बताएका छन्। चीनको विदेश मन्त्रालयले समेत प्रतिबन्ध र दबाबले समस्या समाधान नगर्ने भन्दै आफ्नो हितको रक्षा गर्न आवश्यक कदम चाल्ने जनाएको छ।
यसैबीच, इरानले युद्ध जारी रहे मध्यपूर्वबाट हुने सम्पूर्ण तेल निर्यात रोक्न सक्ने चेतावनी दिएको छ। इरानले होर्मुज जलडमरूमध्यबाट अनुमति नलिई जहाज आवतजावत नगर्नसमेत चेतावनी दिएको रोयटर्सले जनाएको छ।
विश्वको करिब एक–पाँचौँ तेल तथा ग्यास आपूर्ति सामान्य अवस्थामा यही साँघुरो जलमार्ग हुँदै हुने गर्छ। तर फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वका कारण यसको आवागमन प्रभावित भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ।
सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर पुगेको थियो। अमेरिकामा पेट्रोलको मूल्य पनि प्रतिब्यारेल ४ डलरभन्दा माथि पुगेको छ। बढ्दो इन्धन मूल्यका कारण अमेरिकासहित विश्वभर जीवनयापनको लागत थप महँगो हुने चिन्ता बढेको छ।
यद्यपि अर्थशास्त्रीहरूले अमेरिकाको नयाँ प्रतिबन्धको प्रभावबारे प्रश्न उठाएका छन्। क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री डेभिड अक्सलीले इरानको तेल निर्यातमा यसअघि नै अवरोध रहेकाले नयाँ प्रतिबन्धको तत्काल प्रभाव सीमित हुन सक्ने बताएका छन्।
उनका अनुसार इरानको करिब ९० प्रतिशत तेल चीन जाने भएकाले अमेरिकी प्रतिबन्ध कार्यान्वयन गर्न कठिन हुन सक्छ। चीनले विगतमा पनि अमेरिकी प्रतिबन्धलाई पूर्ण रूपमा स्वीकार नगरेको र यसपटक पनि दबाबमा नआउन सक्ने उनको आकलन छ।
इरानमाथि अमेरिकाले यसअघि पनि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र अन्य देशसँग भएको आणविक सम्झौतापछि इरानमाथिका धेरै प्रतिबन्ध हटाइएका थिए। तर सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिँदै इरानमाथि पुनः प्रतिबन्ध लगाएका थिए।
पछिल्लो अमेरिकी कदमले इरानको अर्थतन्त्रमा दबाब बढाउने प्रयासलाई थप तीव्र बनाएको छ। तर इरानले चीन र रुसजस्ता साझेदारको सहयोग तथा आफ्नै वैकल्पिक आर्थिक रणनीतिमार्फत अमेरिकी दबाब सामना गर्ने दाबी गरेको छ।