अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने वस्तुमा लगाएको करका विषयमा दुई देशबीच भएको वार्ताबाट कुनै सहमति जुट्न सकेन।
क्यानडाले अटोमोबाइल, स्टिल र एल्युमिनियममा लगाइएको अमेरिकी करबाट राहत खोज्दै आएको छ। ती करका कारण क्यानडाको अर्थतन्त्रमा दबाब पर्नुका साथै रोजगारीमा असर परेको र लामो समयदेखिको अमेरिका–क्यानडा व्यापारिक सम्बन्धसमेत तनावपूर्ण बनेको क्यानडाको भनाइ छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको सम्बन्धमा दीर्घकालीन परिवर्तन आएको बताउँदै आएका छन्। उनले व्यापारिक सम्झौताको परिणाम जस्तोसुकै भए पनि क्यानडाले अमेरिकामाथिको निर्भरता घटाउँदै अन्य मुलुकसँग व्यापार विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
हाल क्यानडाको कुल निर्यातमध्ये करिब ७० प्रतिशत अमेरिका जाने गरेको छ।
राजनीतिक असरको चिन्ता
व्यापार विवादको आर्थिक प्रभावसँगै यसको राजनीतिक असरसमेत महत्वपूर्ण हुन सक्ने विश्लेषण गरिएको छ। गत वर्ष अमेरिका र क्यानडाबीच करिब ८८० अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवाको व्यापार भएको थियो।
अमेरिकाले क्यानडाली वस्तुमा लगाउने नयाँ कर बुधबार राति १२ः०१ बजेदेखि लागू गर्ने तयारी गरेको थियो। तर, वार्ताका लागि थप समय दिन ट्रम्पले समयसीमा तीन दिन पर सारेका थिए। थप समय दिइए पनि दुई देशबीच सहमति हुन सकेन।
अमेरिका र क्यानडाबीच यसअघि पनि क्यानडाली सफ्टवुड काठको आयात तथा क्यानडाको संरक्षित दुग्ध बजारमा अमेरिकी पहुँचलगायत विषयमा व्यापारिक विवाद हुँदै आएका छन्।
यद्यपि, दुवै देश लामो समयदेखि सैन्य तथा आर्थिक रूपमा नजिकका साझेदार रहँदै आएका छन्। सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य अभियानमा क्यानडाली सैनिकले पनि अमेरिकासँगै सहभागिता जनाएका थिए।
अमेरिका–क्यानडा सीमा करिब ५ हजार ५२५ माइल लामो छ। यो सीमा सामान्यतया सैन्य सुरक्षाबिना खुला रहने गरेको छ। दैनिक करिब ३ लाख ३० हजार मानिस र करिब २ अर्ब अमेरिकी डलर बराबरका वस्तु उक्त सीमाबाट आवतजावत गर्ने गर्छन्। अमेरिकामा करिब ८ लाख क्यानडाली नागरिक बसोबास गर्ने अनुमान छ।