विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) का प्रमुख सञ्चालन अधिकृत केभिन लामोरलाई संस्थाले पदबाट हटाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको सार्वजनिक रूपमा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामोरको फिफासँगको कार्यसम्बन्ध अन्त्य भएको हो ।
फिफाका प्रवक्ताले लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेका छन् । प्रवक्ताले भने, ‘फिफाले केभिनले दुई वर्षसम्म गरेको सेवाका लागि धन्यवाद दिँदै आगामी भविष्यका लागि शुभकामना व्यक्त गर्दछ।’
फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई पठाएको इमेलमा फिफा र लामोरबीच ‘आपसी सहमतिमा अलग हुने’ निर्णय भएको जानकारी दिएका थिए ।
तर, लामोरको बर्खास्ती इन्फान्टिनोको विवादास्पद Fifa Forward Enterprise (FFE) योजनाको आलोचनासँग जोडिएको हुनसक्ने चर्चा भइरहेको छ ।
गत महिना लामोरले FFE योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै कडा आलोचना गरेका थिए । उनले फिफाको प्रशासनलाई उक्त योजनाबारे ‘धोका दिइएको’ समेत बताएका थिए ।
उनले भनेका थिए, ‘हाम्रो उद्देश्य—फिफाका सयौँ समर्पित र दक्ष कर्मचारीको उद्देश्य—फुटबलको सेवा गर्नु हो।’
इन्फान्टिनोको नेतृत्वप्रति प्रश्न उठाउँदै उनले अध्यक्षले मानिसहरूलाई एकताबद्ध र प्रेरित गर्नुपर्नेमा त्यसको विपरीत अवस्था देखिएको बताएका थिए ।
लामोरले आफू संस्थाप्रति वफादार रहनुपर्ने दायित्व भए पनि केही मूल्य–मान्यता र सहकर्मीप्रतिको जिम्मेवारी पनि रहेको बताएका थिए । ‘यदि त्यसको अर्थ मैले आफ्नो जागिर गुमाउनुपर्छ भने पनि त्यही होस्,’ उनले त्यतिबेला भनेका थिए ।
लामोर नोभेम्बर २०२४ मा फिफामा जोडिएका थिए । यसअघि उनी यूईएफएमा उपमहासचिवका रूपमा कार्यरत थिए ।
FFE योजना के थियो?
इन्फान्टिनोले फिफाका प्रतियोगिताहरूको व्यावसायिक तथा टिकटिङ अधिकार व्यवस्थापन गर्न Fifa Forward Enterprise (FFE) नामक नयाँ कम्पनी स्थापना गर्ने योजना अघि सारेका थिए ।
विश्वकपसहित फिफाका विभिन्न प्रतियोगिताका व्यावसायिक अधिकार व्यवस्थापन गर्ने उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो ।
यूईएफए, कन्काकाफ तथा अन्य फुटबल निकायले योजनाको विरोध गरेपछि अन्ततः FFE योजना स्थगित गरिएको थियो । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो ।
योजनाको आलोचना गर्ने लामोरसँगै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए ।
इन्फान्टिनोमाथि दबाब बढ्दै
FFE योजना विवादपछि इन्फान्टिनोमाथि फिफा अध्यक्षका रूपमा चौथो कार्यकालका लागि पुनःनिर्वाचनमा दबाब बढेको छ ।
यूईएफए र कन्काकाफले आगामी मार्चमा हुने फिफा कांग्रेसमा इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरिसकेका छन् । पछिल्लो समय इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डका फुटबल संघहरूले समेत उनको समर्थन फिर्ता लिएका छन् ।
यद्यपि अफ्रिका, दक्षिण अमेरिका र ओसिनियाका फुटबल महासंघहरूले भने इन्फान्टिनोलाई समर्थन गरिरहेका छन् ।
यसैबीच, फुटबल सुशासनसम्बन्धी संस्था FairSquareले इन्फान्टिनोलाई पुनःनिर्वाचनमा उम्मेदवार बन्न नदिन फिफालाई आग्रह गरेको छ ।
लामोरलाई हटाउने निर्णयले भने फिफाभित्र इन्फान्टिनोको नेतृत्व र FFE विवादबारे आन्तरिक मतभेद थप सतहमा आएको संकेत गरेको छ । यद्यपि फिफाले लामोरको बर्खास्ती FFE योजनाको आलोचनासँग सम्बन्धित रहेको औपचारिक रूपमा पुष्टि गरेको छैन।