दाँत र मुखको स्वास्थ्यलाई धेरै नेपालीले अझै पनि प्राथमिकतामा राख्दैनन् । अधिकांश मानिस दाँतमा असह्य दुखाइ शुरू भएपछि मात्र दन्त चिकित्सककोमा पुग्ने गर्छन् । तर, नियमित सरसफाई, सन्तुलित खानपान र समयमै दन्त परीक्षण गर्न सके धेरै जटिल समस्या शुरूमै रोक्न सकिने चिकित्सकहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा विशेषगरी बालबालिकामा दाँतमा किरा लाग्ने, मुख गन्हाउने, गिजासम्बन्धी समस्या र वयस्कमा दाँत खिइने समस्या उल्लेख्य रूपमा बढिरहेको छ । बदलिँदो खानपान, जंक फुडको बढ्दो प्रयोग, पान, गुट्खा तथा खैनी सेवन र मुखको सरसफाईमा लापरवाहीका कारण यी समस्या थप बढ्दै गएका छन् । पुरानो मेडिकल कलेज, भरतपुरबाट बीडीएस अध्ययन पूरा गरेका दन्त चिकित्सक डा. साजिद आलमसँग यसबारेका कुराकानी गरिएको छ । विगत दुई वर्षदेखि नारायणी अस्पताल तथा अपना डेन्टल क्लिनिक एण्ड आरसीटी केयरमार्फत दन्त सेवा दिइरहेका उनीसँग दाँत तथा मुखको स्वास्थ्य, बालबालिकाको दन्त हेरचाह, मुख गन्हाउने समस्या, दाँत खिइने कारण र समयमै उपचारको आवश्यकताबारे मध्य नेपालका लागि गरिएको कुराकानीको सम्पादित अंश ः
अहिले बिरामीमा मुखसम्बन्धी कस्ता समस्या बढी देखिन्छन् ?
अहिले सबैभन्दा धेरै देखिने समस्या मुख गन्हाउने हो । विशेषगरी पान, गुट्खा र खैनी सेवन गर्ने व्यक्तिहरूमा दाँतमा फोहोर जम्ने भएकाले मुख गन्हाउने समस्या बढी हुन्छ । त्यस्तै बालबालिकामा दाँतमा किरा लाग्ने समस्या उल्लेख्य रूपमा बढेको छ । पहिले वयस्क उमेरमा बढी देखिने यो समस्या अहिले साना बालबालिकामा दाँत उम्रिन थालेदेखि नै देखिन थालेको छ । यसको मुख्य कारण अस्वस्थ खानपान र मुखको सरसफाईमा कमी हुनु हो ।
दाँतमा किरा लाग्नुको मुख्य कारण के हो ?
दाँतमा किरा लाग्नु धेरै हदसम्म खानपानसँग सम्बन्धित हुन्छ । कार्बोहाइड्रेटयुक्त तथा धेरै चिल्लो र फ्राइ गरिएको खाना दाँतमा टाँसिने गर्छ । खाना खाएपछि राम्रोसँग ब्रस नगर्दा वा सफाईमा ध्यान नदिँदा त्यही फोहोरले किरा लाग्ने वातावरण बनाउँछ । पहिले घरमै पाकेको खाना बढी खाने चलन थियो । अहिले जंक फुड, चकलेट, बिस्कुट र प्रशोधित खानेकुराको प्रयोग बढेकाले बालबालिकामा समेत दाँत बिग्रिने समस्या बढेको छ ।
दाँत र मुखको सरसफाई कहिलेदेखि शुरू गर्नुपर्छ ?
धेरै अभिभावकले दाँत आएपछि मात्र सरसफाई गर्नुपर्छ भन्ने सोच्नुहुन्छ । तर, बच्चा जन्मिएको दिनदेखि नै मुख र गिजाको सफाइ गर्नुपर्छ । आमाको दूध वा अन्य दूध खुवाएपछि मुखभित्र दूधका अवशेष रहन्छन् । त्यसैले सफा कपडा वा औँलाको सहायताले गिजा र मुख सफा गरिदिनुपर्छ । बोतलबाट दूध खुवाएर रातभर बच्चाको मुखमा बोतल छाड्ने बानीले दाँत र गिजामा दूध टाँसिएर किरा लाग्ने जोखिम बढाउँछ । दाँत उम्रिएपछि नरम ब्रस प्रयोग गर्नुपर्छ र करिब दुई वर्षको उमेरदेखि बच्चालाई आफैं ब्रस गर्न सिकाउनुपर्छ । चकलेट वा गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने बानी पनि विकास गराउनुपर्छ ।
मुख गन्हाउने समस्या किन हुन्छ र यसको समाधान कसरी गर्न सकिन्छ ?
मुख गन्हाउने कारण दाँतको समस्यामात्र होइन । ग्यास्ट्रिक, पेटको अल्सर, मधुमेहलगायत केही रोगका कारण पनि मुख गन्हाउन सक्छ । त्यस्तै दाँतमा किरा लाग्नु, गिजामा संक्रमण हुनु, मुखभित्र फोहोर जम्नु तथा पान, गुट्खा र खैनी सेवनले पनि मुख गन्हाउने समस्या हुन्छ । यदि मुखको सरसफाईको कारणले समस्या भएको हो भने दाँत सफा गरेर समाधान गर्न सकिन्छ । अन्य शारीरिक रोगका कारण भएको भए त्यसको उपचार गर्नु आवश्यक हुन्छ ।
दाँत किन खिइन्छ ?
दाँत खिइने समस्या विशेषगरी वयस्क र वृद्धवृद्धामा बढी देखिन्छ । पहिले दतिवनले दाँत सफा गर्ने बानी भएकाले लामो समयसम्म त्यसको प्रयोग गर्दा दाँत खिइने समस्या देखिएको छ । त्यस्तै दाँत किटकिटाउने बानी, दाँत बाङ्गोटिङ्गो हुनु वा दाँतको मिलान नमिल्नुका कारण पनि दाँत खिइन सक्छ ।
दाँत खिइसकेपछि यसको उपचार कसरी गरिन्छ ?
दाँत धेरै खिइसकेको छ, दुखिरहेको छ वा संवेदनशील भएको छ भने रुट क्यानल उपचार (आरसीटी) गरेर क्राउन लगाउनुपर्छ । यदि सामान्य रूपमा मात्र खिइएको छ भने विशेष सिमेन्ट प्रयोग गरेर भर्न सकिन्छ । धेरै कम खिइएको अवस्थामा संवेदनशीलता कम गर्ने विशेष मञ्जनको प्रयोगले पनि फाईदा पुग्न सक्छ ।
दाँत र गिजालाई स्वस्थ राख्न के गर्नुपर्छ ?
सबैभन्दा महत्वपूर्ण कुरा नियमित सरसफाई नै हो । धेरैजसो मानिसले दाँत दुख्न थालेपछि मात्र चिकित्सक खोज्ने गर्छन् । बिहान र बेलुका गरी दिनमा दुई पटक ब्रस गर्नुपर्छ । विशेषगरी खाना खाइसकेपछि ब्रस गर्नु अझ प्रभावकारी हुन्छ । प्रत्येक छ महिनामा एकपटक दन्त चिकित्सकसँग नियमित परीक्षण गराउनु आवश्यक छ । दाँतमा कालो दाग देखिनु, किरा लागेकोजस्तो देखिनु वा सामान्य समस्या देखिँदा पनि बेवास्ता गर्नु हुँदैन । शुरूमै उपचार गर्दा खर्च पनि कम लाग्छ र जटिलता पनि कम हुन्छ । गुलियो खानेकुराको प्रयोग सकेसम्म कम गर्नुपर्छ । गुलियो खाएपछि मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । प्रोटिनयुक्त खाना बढी खाने, मैदाबाट बनेका खानेकुरा कम खाने र जंक फुडभन्दा घरमा पाकेको ताजा खाना प्राथमिकतामा राख्नुपर्छ ।
दाँतको उपचार महँगो हुने गुनासो धेरै सुनिन्छ नि ?
उपचार ढिलो गरेपछि स्वाभाविक रूपमा खर्च बढ्छ । शुरूमै सामान्य उपचारबाट निको हुने समस्या पछि गएर रुट क्यानल, क्राउन वा अन्य जटिल उपचार गर्नुपर्ने अवस्था आउँछ । दन्त उपचारमा प्रयोग हुने सामग्री पनि महँगा हुन्छन् र उपचारमा समय तथा दक्षता दुवै आवश्यक पर्छ । त्यसैले नियमित परीक्षण गराएर सुरुमै उपचार गरेमा खर्च पनि कम लाग्छ र बिरामीले अनावश्यक पीडा पनि भोग्नुपर्दैन ।
अन्त्यमा पाठकका लागि तपाईंको सन्देश के छ ?
धेरैजसो मानिसले शरीरका अन्य रोगलाई प्राथमिकता दिन्छन् तर, दाँत र मुखको स्वास्थ्यलाई बेवास्ता गर्छन् । वास्तवमा मुख नै शरीरको प्रवेशद्वार हो । मुख स्वस्थ भए शरीरको समग्र स्वास्थ्य पनि राम्रो रहन्छ । त्यसैले नियमित सरसफाई गर्ने, समयमै दन्त परीक्षण गराउने र समस्या देखिनासाथ उपचार गर्ने बानी बसाल्नुपर्छ । यसो गर्दा दाँत लामो समयसम्म स्वस्थ रहन्छ र उपचारमा लाग्ने अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।