इरान युद्धको केन्द्रमा रहेको होर्मुज जलडमरूमध्यमा नियन्त्रणका लागि अमेरिका र इरानबीचको संघर्ष निर्णायक मोडमा पुगेको छ । पछिल्ला केही महिनादेखि दुवै देशले जलमार्गमा आफ्नो प्रभाव कायम रहेको दाबी गर्दै आए पनि पछिल्लो जहाज आवागमनको तथ्यांकले इरानको नियन्त्रण क्रमशः कमजोर हुँदै गएको देखाएको छ ।
जहाजको ट्रान्सपोन्डर तथा भू–उपग्रह तथ्यांक विश्लेषण गर्ने कम्पनी केप्लरका अनुसार पछिल्लो दुई सातामा होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरेका जहाजमध्ये ८० प्रतिशतभन्दा बढीले ओमानतर्फको मार्ग प्रयोग गरेका छन् । यो संयुक्त राष्ट्रसंघबाट स्वीकृत नौवहन मार्ग हो, जसको प्रयोगलाई इरानले लामो समयदेखि कडा विरोध गर्दै आएको छ ।
इरानले जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्दै उत्तरी ओमानतर्फको मार्ग प्रयोग गर्ने दर्जनौँ जहाजमाथि आक्रमण गरेको छ । तर जोखिमका बाबजुद पछिल्लो समय अधिकांश जहाजले इरानको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी नौसेनाको सुरक्षाको आश्वासनसहित ओमानतर्फको मार्ग प्रयोग गर्न थालेका छन् ।
केप्लरका कच्चा तेल विश्लेषण प्रमुख होमायुन फलाकशाहीले इरानले होर्मुज जलडमरूमध्यमा कम्तीमा आंशिक रूपमा आफ्नो नियन्त्रण गुमाएको देखिएको बताएका छन् ।
एक महिनामै बदलियो परिस्थिति
केप्लरको तथ्यांकअनुसार एक महिनाअघि ओमानतर्फको मार्गबाट लगभग कुनै पनि जहाज आवतजावत गरेका थिएनन् । तर अहिले त्यही मार्गमा उल्लेख्य चाप बढेको छ । यसको परिणामस्वरूप इरानले आफ्नो प्रभाव क्षेत्रबाट गुज्रिने जहाजबाट लिँदै आएको शुल्कसमेत उठाउन कठिनाइ भएको बताइएको छ ।
अमेरिका र इरानबीचको समझदारीपत्र (एमओयू) यसै साता समाप्त भएपछि इरानले पुनः जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउन सक्ने अवस्था बनेको छ । तर व्यवहारमा इरानले शुल्क उठाउन सकेको देखिएको छैन ।
पिकरिङ इनर्जी पार्टनर्सका संस्थापक तथा प्रमुख लगानी अधिकृत डान पिकरिङका अनुसार मध्यपूर्वका अधिकांश पक्षले इरानलाई शुल्क तिर्न नचाहेकाले ओमानतर्फको मार्ग प्रयोग गर्नु व्यावहारिक विकल्प बनेको छ ।
तेल ट्यांकरले अपनाए जोखिमपूर्ण रणनीति
कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्सले फारसको खाडीबाट होर्मुज जलडमरूमध्य हुँदै तेल बाहिर लैजान भेरी लार्ज क्रुड क्यारियर (भीएलसीसी) नामक विशाल तेल ट्यांकर प्रयोग गरिरहेका छन् । ती ट्यांकरले जोखिमयुक्त क्षेत्रमा प्रवेश गरेपछि खाडीको ओमानतर्फ सुरक्षित क्षेत्रमा ग्राहकका ट्यांकरमा तेल हस्तान्तरण गर्ने गरेका छन् ।
इरानी आक्रमणबाट जोगिन केही ट्यांकरले आफ्नो ट्रान्सपोन्डरसमेत बन्द गर्ने गरेका छन् । कतिपय अवस्थामा उनीहरू हप्तौँसम्म ‘डार्क ट्राफिक’ का रूपमा रहन्छन् । यसका कारण केप्लरसहित परम्परागत जहाज निगरानी प्रणालीले समेत सबै जहाजको सही विवरण पत्ता लगाउन नसक्ने अवस्था देखिएको छ ।
तर समुद्रमा ठूलो सैन्य उपस्थिति राखेको अमेरिकाले होर्मुज हुँदै जाने जहाजमाथि निगरानी बढाएको छ । अमेरिकी अधिकारीहरूले परम्परागत अनुमानभन्दा धेरै तेल जलमार्गबाट ओसारपसार भइरहेको दाबी गरेका छन् ।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत साता होर्मुज हुँदै हुने तथा वैकल्पिक मार्गबाट पुनः निर्देशित तेल ढुवानी जोड्दा एक सातामा दैनिक करिब १ करोड ५० लाख ब्यारेल बराबरको तेल ओसारपसार भएको बताएका थिए । यो युद्धअघि होर्मुजबाट हुने दैनिक करिब २ करोड ब्यारेलको औसतभन्दा धेरै टाढा नरहेको उनको दाबी छ ।
अमेरिकाको ‘पूर्ण नियन्त्रण’ दाबीमाथि प्रश्न
यही तथ्यांकका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले ‘होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका छन् । ट्रम्पले यसअघि पनि पटक–पटक यस्तै दाबी गर्दै आएका छन् ।
तर इरानले अझै पनि जहाजमाथि आक्रमण गरिरहेको र युद्धअघिको तुलनामा तेलको आवागमन उल्लेख्य रूपमा कम रहेको तथ्यले अमेरिकाले जलडमरूमध्यमा पूर्ण नियन्त्रण कायम गरिसकेको दाबीलाई कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार अहिलेको अवस्थालाई हेर्दा इरानले पनि पूर्ण नियन्त्रण कायम राख्न सकेको छैन र अमेरिकाले पनि पूर्ण नियन्त्रण हासिल गरिसकेको छैन ।
पिकरिङका अनुसार इरानको मुख्य उद्देश्य जलमार्गमा पूर्ण नियन्त्रणभन्दा पनि आफ्नो प्रभाव र प्रतिरोध क्षमता देखाउनु हुन सक्छ । उनका अनुसार इरान अझै पनि केही हदसम्म जहाजहरूलाई रोक्न सफल भएकाले उसको ‘डिटरन्स’ अर्थात् प्रतिरोध क्षमता कायम छ ।
ओमान–इरान वार्ताले थप अनिश्चितता
यसैबीच ओमान र इरानबीच होर्मुज जलडमरूमध्यमा स्वतन्त्र नौवहन पुनःस्थापित गर्ने विषयमा वार्ता भइरहेको छ । उक्त वार्तामा अमेरिका सहभागी छैन । ओमान र इरानबीच भइरहेको छलफलप्रति अमेरिकी राष्ट्रपति ट्रम्प भने असन्तुष्ट रहेको बताइएको छ ।
यस वार्ताले आगामी दिनमा होर्मुज जलडमरूमध्य हुँदै हुने तेल तथा अन्य व्यापारिक जहाजको आवागमनमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन ।
विश्लेषक एन्डी लिपोका अनुसार होर्मुजको अवस्थाबारे आएका सबै सूचना र राजनीतिक दाबीलाई सावधानीपूर्वक हेर्न आवश्यक भए पनि इरानले जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रण आंशिक रूपमा गुमाएको भन्नु उचित हुने देखिन्छ ।