भारत सरकारले सञ्चालनमा ल्याउन लागेको आपतकालीन विपद् सूचना प्रणालीअन्तर्गत शनिबार बिहान देशभरका मोबाइल फोनमा अचानक ठूलो आवाजसहित अलर्ट सन्देश पुगेपछि सर्वसाधारण केहीबेर अन्योलमा परेका छन्।
मोबाइलमा आएको सन्देशमा “Extremely severe alert” शीर्षकसहित “भारतले आफ्ना नागरिकका लागि तत्काल विपद् सूचना दिने ‘सेल ब्रॉडकास्ट’ प्रणाली सुरु गरेको छ। यो परीक्षण सन्देश हो, यसप्रति कुनै प्रतिक्रिया आवश्यक छैन” भन्ने उल्लेख गरिएको थियो।
सरकारले यसअघि नै यस्तो प्रणालीको परीक्षण गरिने जानकारी दिँदै सर्वसाधारणलाई सन्देशलाई बेवास्ता गर्न आग्रह गरेको थियो। देशव्यापी रूपमा ‘सेल ब्रॉडकास्ट (CB)’ प्रणाली लागू गर्ने तयारीस्वरूप यसको कार्यक्षमता र विश्वसनीयता परीक्षण गर्न विभिन्न चरणमा परीक्षण भइरहेको जनाइएको छ।
सरकारी निकायका अनुसार यो प्रणाली संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) ले सिफारिस गरेको ‘कमन् अलर्टिङ प्रोटोकल (CAP)’ मा आधारित छ। परीक्षणका क्रममा अंग्रेजी, हिन्दी तथा अन्य क्षेत्रीय भाषामा सन्देशहरू मोबाइलमा आउने जनाइएको छ।
दूरसञ्चार विभाग (DoT) र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA)को समन्वयमा उक्त प्रणाली विकास तथा परीक्षण भइरहेको छ। परीक्षण अवधिभर नागरिकहरूले यस्ता सन्देशहरू पटक–पटक प्राप्त गर्न सक्ने भएकाले कुनै पनि प्रकारको प्रतिक्रिया आवश्यक नपर्ने सरकारको भनाइ छ।
यसअघि पनि फेब्रुअरी महिनामा यस्तै किसिमको परीक्षण गरिएको थियो। त्यतिबेला पनि एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरूले ठूलो आवाजसहित ‘टेस्ट अलर्ट’ सन्देश प्राप्त गरेका थिए।
सरकारका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि प्राकृतिक विपद् तथा आपतकालीन अवस्थामा नागरिकलाई तुरुन्तै सूचना पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।