डा. रोहित गुप्ता छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ हुन् । विपीकेआईएचएस धरानबाट एमबिबीएस र छाला, यौन तथा कुष्ठ रोग सम्बन्धी एमडी गरेका उनले विगत ६ वर्षदेखि नारायणी अस्पताल र शान्ति पोली क्लिनिकबाट छाला, यौन तथा कुष्ठ रोग सम्बन्धी सेवा दिइरहेका छन् । उनै छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. रोहित गुप्तासँग अनुहारमा आउने चाँयापोतोको विषयमा गरिएको कुराकानीः
अनुहारमा चाँयापोतो किन आउँछ ?
चाँयापोतो छालालाई बचाउने प्राकृतिक माध्याम हो । छालामा जब घाम पर्छ । छाला नबिग्रियोस भनेर प्रकृतिले दिएको रंग नै चाँया पोतो हो । चाँयापोतो आएन भने छाला पोल्ने र क्यान्सर हुनेको दर बढी हुन्थ्यो ।
चाँयापोतो कुन कारणले आएको कसरी पत्ता लगाउन सकिन्छ ?
बिरामीले कति समय घाममा बस्छ । कुनै औषधी सेवन गरिरहेको छ, छैन । छालामा अन्य औषधी लगाएर पनि दाग आइरहेको हुन्छ । कुनै पनि औषधीको सेवन नगरी, छालामा औषधीको प्रयोग नगरी दाग आइरहेको छ भने घामको कारणले नै चाँया पोतो आएको भनेर छुट्याउन सकिन्छ ।
चाँयापोतोलाई कसरी हटाउन सकिन्छ ?
चाँयापोतो आउने कारणमा नै चाँयापोतोको समाधान पनि छ । अनुहारको छालामा बढी घाम परेमा चाँयापोतो आउने गर्दछ । अनुहारलाई घामबाट बचाउँदा चाँयापोतो निको हुन्छ । घाम लाग्नबाट बचाउँदा अनुहारमा ९० प्रतिशत चाँयापोतो आउदैन । अन्य कारणले पनि चाँयापोतो आएको हुन्छ । हर्मोन, परिवार नियोजनको औषधीको कारणले पनि अनुहारमा चाँयापोतो आउने गर्दछ । घामले चाँयापोतो आएको हो वा हर्मोन, परिवार नियोजनको औषधीको कारणले कत्तिको असर परेको छ, हेरेर उपचार गर्नुपर्छ ।
चिकित्सकको परामर्श बिना बजारमा पाइने चाँया पोतोको औषधी लाउनु कत्तिको उपयुक्त हुन्छ ?
चाँयापोतोको समस्या भएका व्यक्तिहरुले जाँच नगरीकन कुनै पनि बजारमा पाइने औषधी लगाउन उपयुक्त हुदैन । सन्स्क्रिन मात्र चिकित्सकको सल्लाहबिना प्रयोग गर्न सकिन्छ । सनस्क्रिन छालालाई घामबाट बचाउन छाताको रुपमा काम गर्दछ । यो बाहेक अन्य छालाको समस्याका कुनै पनि औषधीको प्रयोग गर्दा चिकित्सकको सल्लाह र जाँच गरेपछि मात्र लगाउन सकिन्छ । औषधीको गुण,लगाउने समय, औषधी लगाइसकेपछि त्यसको असर हुन्छ । एउटाले प्रयोग गरेको औषधी अर्कोले पनि प्रयोग गर्ने र अनुहार बिगारेर उपचारको लागि चिकित्सककोमा आउनेको संख्या बढ्दै गएको छ ।
चाँयापोतोको औषधीले छालामा क्यान्सर हुन सक्छ ?
चाँया पोतोको औषधीले छालामा क्यान्सर गराउदैन । चाँया पोतोको औषधीले प्रायलाई अनुहारमा बिमिरा आउँछ । छाला पातलो गराउने, रगत नसाहरु जरा जस्तै देखिने हुन्छ । महिलाहरुमा दारीजुँगा आउने हुन्छ । दारीजुँगा आएमा हटाउन धेरै मेहनत र खर्च गर्नु पर्ने हुन्छ । चाँया पोतो मात्र हुनु उपचार गर्न सजिलो हुन्छ । दारीजुँगा आउँदा, छाला पातलो हुदाँ उपचार गर्न झनै गाह्रो हुन्छ ।
कस्तो क्रिम लगाउनु उपयुक्त हुन्छ ?
सबैको छाला एकै प्रकारको हुदैन । कमसेकम ३० एसपिएफको सनस्क्रिन लगाउनु पर्छ । हरेक २÷२ घण्टाको अन्तरालमा लगाउनु पर्छ । एकपटकमा ५ एमएल लगाउने आधा घण्टा पछिमात्र घर बाहिर जानु पर्छ । सनस्क्रिनले केही समयसम्म बचाउँछ । छाला बचाउन मुख्य गरेर घरबाहिर जाँदा छाता ओढेर, कपडा बाँधेर निस्कनु पर्छ । घामले चाँयापोतो मात्र आउने समस्यालाई समाधान गर्ने मात्र होइन् । छाला छिटो बुढो हुने, चाउरिपर्ने समस्यालाई नियन्त्रण गर्छ ।
चाँयापोतो नआउन कस्तो खाना खानुपर्छ ?
स्वस्थ्य र सन्तुलित खाना स्वस्थ्य हुनकोलागि खाना जरुरी छ । चाँयापोतो हटाउन कुनै पनि खाना खान कम गर्दा हट्छ भन्ने छैन । जंकफूड, फस्टफूड र फ्राइ गरेको खाने कुरा खानु हुदैन । नर्मल खाना खान सकिन्छ ।
चाँयापोतोको बारेमा कसरी सचेत गराउन सकिन्छ ?
सबैभन्दा पहिला अनुहारमा आएको सबै किसिमको दाग चाँयापोतो नहुन पनि सक्छ । अनुहारमा चाँयापोतो आउनु भनेको नराम्रो कुरा होइन । अनुहारको छाला बचाउन चाँयापोतो आएको हो भनेर हामीले परिवार र समाजका महिला सदस्यहरुलाई बुझाउन जरुरी छ । समयमा उपचार गरे निको हुन्छ । बजारमा पाइने औषधीहरु चिकित्सकको सल्लाह बिना लगाउनु हुदैन । चाँयापोतो हटाउन औषधीदेखि विभिन्न प्रविधिहरुबाट गर्न सकिन्छ । बिरामीको कालो दाग सहित भित्रीदाग पनि हुन सक्छ । चिकित्सककोमा जाँच गरेर मात्र समस्याको पहिचान गरेर उपचार सुरु गर्नुपर्दछ ।
चाँयापोतोको उपचार कुन पद्दतिबाट गर्न सकिन्छ ?
कस्मेटिक आउने क्रिमहरुको प्रयोग गर्न सकिन्छ । मेडिकल तर्फको औषधी जाँच गरेर मात्र लगाउनु पर्छ । चाँया पोतो कतिको भित्रसम्म छ हेरेर औषधी लगाउनु पर्छ । छालामा औषधी लगाएर मात्र हुदैन । कतिपय औषधी खानु पर्ने, रेजर र फिलिङ्ग गर्नु पर्ने हुन्छ । सबैले सनस्क्रिन लगाइरहनु पर्छ । चाँया पोतोको उपचार सुरुमा लगाउने मलम, खाने औषधी र सनस्क्रिनबाट सुरु गरिन्छ । मलम, खाने औषधी र सनस्क्रिनले दुर्ई महिनामा ६० प्रतिशत प्रभावकारी देखिएमा थप गरेर औषधी चलाउछौं । त्यो औषधीले भएन भने अन्य प्रविधिहरु अपनाएर उपचार गर्छौ ।
चाँयापोतोको उपचार कत्तिको महंगो छ ?
बजारको कुनैपनि क्रिम किन्दा ८ सय, १ हजार भन्दा माथि नै पर्छ । ६ महिनासम्म क्रिम किन्ने खर्चको तुलनामा चाँयापोतोको उपचार खर्च खासै महंगो होइन । उपचार सहजै गर्न सकिन्छ । जति छिटो हामी चिकित्सककोमा पुग्छौं । त्यति नै खर्च कम लाग्छ ।
अनुहारको चाँयापोतो बिग्रनबाट जोगाउन कस्तो सावधानी अपनाउनु पर्छ ?
चाँयापोतो आउनबाट बच्न घामबाट छालालाई जोगाउनु पर्छ । छालामा भएको कालो रंगले छालालाई क्यान्सर हुनबाट बचाउँछ । घाममा हिड्दा सनस्क्रिन लगाउनु पर्छ । घामबाट अनुहारको छाला बचाउन क्याप टोपी लगाउने, छाता ओढेर हिड्ने गर्नु पर्छ । बालबालिकाहरुलाई पनि विद्यालय जाँदा छाता दिएर पठाउनु पर्छ । कालो रंगले पनि घामबाट बचाउन मद्दत गर्दछ । बच्चादेखि बुढोसम्म सामान्यतया पिएच ५.५ को फेसवासले मुख धुने, मोस्टराइजर क्रिमको प्रयोग गर्ने र सनस्क्रिन क्रिमको अनिवार्य प्रयोग गर्नु पर्दछ ।