भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच यस विषयमा सहमति जुटेको हो।
हाल काठमाडौंबाट उडान भर्ने अन्तर्राष्ट्रिय विमानले भैरहवा हुँदै भारतीय आकाश प्रयोग गरेर बाहिरिन पाउने व्यवस्था छ। तर, भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानले भने सिमरा हवाई रुट मात्र प्रयोग गर्न पाउने व्यवस्था छ।
नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यमा भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन्। दुवै पक्ष विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भएका छन्। यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’
भैरहवा हवाई रुट दुईतर्फी सञ्चालनमा आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
हाल कुवेत, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का विमान काठमाडौं हुँदै भैरहवा हवाई रुट प्रयोग गरेर बाहिरिने गरेका छन्। दुईतर्फी रुट सञ्चालनमा आएपछि नेपाल भित्रिने अन्तर्राष्ट्रिय विमानको उडान दूरी र समय घट्नेछ। यसले हवाई सञ्चालन खर्च कम गर्न र हवाई भाडासमेत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एयर रुटका विषयमा अन्तिम समयसम्म छलफल
नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा नेपाल र भारतका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री शाहको भ्रमणको अन्तिम समयसम्म छलफल भएको थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भएपछि भारतले बागडोगरा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न दिन प्रस्ताव गरेको थियो। नेपाली पक्षले त्यसमा सकारात्मक प्रतिक्रिया दिए पनि आवश्यक प्राविधिक अध्ययन गर्नुपर्ने धारणा राखेको थियो।
तर, भारतीय पक्षले नेपाल उक्त प्रस्तावमा सहमत भएको भाषा संयुक्त वक्तव्यमा समेट्नुपर्ने अडान राखेको थियो।
नेपाली पक्षले भारतीय यात्रुवाहक तथा कार्गो विमानलाई मात्र नेपाली आकाश प्रयोग गर्न दिने सहमति जनाएको थियो। तर, भारतीय पक्षले भने सबै प्रकारका विमानलाई उक्त हवाई क्षेत्र प्रयोग गर्न दिनुपर्ने माग गरेको थियो।
भारतीय वायुसेनाले सञ्चालन गर्दै आएको बागडोगरा विमानस्थल भारतको संवेदनशील मानिने 'चिकेन नेक' क्षेत्रमा अवस्थित छ। नेपाल, चीन, भारत र बंगलादेशको सीमाक्षेत्रसँग जोडिएको उक्त क्षेत्रको हवाई क्षेत्र प्रयोग गर्न दिनुअघि आवश्यक प्राविधिक अध्ययन गरेर मात्रै निर्णय गरिने नेपाली पक्षले जनाएको थियो।
भ्रमण टोलीमा सहभागी स्रोतका अनुसार भैरहवा हवाई रुटका विषयमा समेत अन्तिम समयसम्म सहमति जुट्न सकेको थिएन। तर, निरन्तरका बैठक र छलफलपछि भारतीय पक्ष दुईतर्फी हवाई रुट सञ्चालन गर्न सहमत भएको हो।
यद्यपि, महेन्द्रनगर र जनकपुर हवाई रुटका विषयमा भने नेपाल र भारतबीच अझै सहमति जुट्न सकेको छैन।