बालअधिकारको संरक्षण, बालबालिकाको सर्वाङ्गीण विकास तथा उनीहरूको हकहित सुनिश्चित गर्ने उद्देश्यसहित आज विश्व बाल दिवस मनाइँदैछ ।
हरेक वर्ष नोभेम्बर २० मा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् १९५४ मा संयुक्त राष्ट्रसंघले नोभेम्बर २० लाई विश्व बाल दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
यस दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता र समान अवसरको अधिकारलाई प्राथमिकतामा राख्दै उनीहरूको आवाजलाई सम्मान गर्न प्रेरित गर्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९५९ नोभेम्बर २० मा बालअधिकार घोषणापत्र र सन् १९८९ नोभेम्बर २० मा बालअधिकारसम्बन्धी महासन्धि पारित गरेको ऐतिहासिक दिनसमेत भएकाले यस दिवसको विशेष महत्त्व छ ।
नेपालमा पनि बालअधिकार संरक्षण र प्रवर्द्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छन् । तथापि बालश्रम, बालविवाह, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा शिक्षाबाट वञ्चित हुनेजस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन् ।
विश्व बाल दिवसले बालबालिकालाई केवल संरक्षणको आवश्यकता भएका व्यक्तिका रूपमा नभई अधिकारसम्पन्न नागरिकका रूपमा स्वीकार गर्दै उनीहरूको सुरक्षित, सम्मानजनक र अवसरयुक्त भविष्य निर्माण गर्न सबै पक्षलाई जिम्मेवार बन्न सन्देश दिन्छ ।