भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा आफ्नो यात्रा समाप्त गर्दै चेन्नई सुपर किंग्स (सीएसके) को मेन्टरको जिम्मेवारी सम्हाल्ने भएका छन्।
चेन्नई सुपर किंग्सले आईपीएल २०२७ को सिजनअघि धोनीलाई नयाँ भूमिकामा नियुक्त गरेको हो। सीएसकेका मालिक एन श्रीनिवासनले यसको पुष्टि गर्दै धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने बताएका छन्।
आईपीएल २०२७ को खेलाडी रिटेन्सन अवधि समाप्त हुनुभन्दा केही घण्टाअघि यो घोषणा गरिएको हो।
मेन्टरको भूमिकामा धोनीले मुख्य प्रशिक्षक जहीर खानको नेतृत्वमा रहेको नयाँ व्यवस्थापन टोलीसँग काम गर्नेछन्। जहीरले स्टेफन फ्लेमिङको स्थानमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। धोनी र फ्लेमिङको सहकार्यमा चेन्नईले पाँच पटक आईपीएल उपाधि र दुई पटक च्याम्पियन्स लिग टी–२० उपाधि जितेको थियो।
धोनीको योगदानको प्रशंसा गर्दै श्रीनिवासनले भने, ‘एमएस धोनीबिना सीएसकेको कल्पना गर्न सकिँदैन। करिब दुई दशकदेखि हामीले सफलता, असफलता र अनेक उतारचढावमा सँगै यात्रा गरेका छौँ। सन् २००८ मा मैले नै धोनीलाई सीएसकेमा ल्याउन जोड दिएको थिएँ। त्यो मेरो सबैभन्दा राम्रो निर्णय साबित भयो।’
सन् २०२६ को आईपीएलमा टोलीमा रहे पनि धोनीले कुनै खेल खेलेनन्। राइजिङ पुणे सुपरजायन्टबाट दुई सिजन खेलेको बाहेक उनले आफ्नो अधिकांश आईपीएल करिअर चेन्नईमै बिताएका थिए।
धोनीले आईपीएलमा कुल २७८ खेल खेल्दै ५ हजार ४३९ रन बनाएका छन्। उनको ब्याटिङ औसत ३८.३० र स्ट्राइक रेट १३७.४६ रहेको छ। उनले २४ अर्धशतक प्रहार गर्नुका साथै २६४ छक्का हानेका छन्।
चेन्नई सुपर किंग्सका प्रबन्ध निर्देशक केएस विश्वनाथनले धोनीले टोलीलाई दिएको योगदान सधैँ स्मरणीय रहने बताए। उनका अनुसार धोनीले चेन्नईलाई आफ्नो सहरका रूपमा आत्मसात् गरेका छन् र सहरले पनि उनलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरेको छ।
उनले मैदानमा पहेँलो जर्सीमा धोनीलाई देख्न नपाइने भए पनि नयाँ खेलाडीलाई मार्गदर्शन गर्ने उनको भूमिका निरन्तर रहने बताए।
धोनीले आईपीएलमा खेलेको अन्तिम खेल सन् २०२५ को सिजनमा गुजरात टाइटन्सविरुद्ध अहमदाबादमा थियो। उक्त खेलमा उनले ब्याटिङ गर्ने अवसर पाएका थिएनन्।
सीएसकेकी मालिक रूपा गुरुनाथले पनि धोनीको प्रशंसा गर्दै उनीजस्तो खेलाडी जीवनमा एकपटक मात्र आउने बताइन्। उनले धोनीले टोलीको जग निर्माण गर्नुका साथै नेतृत्व, विनम्रता र प्रतिबद्धतामार्फत लाखौँ समर्थकसँग विशेष सम्बन्ध स्थापित गरेको उल्लेख गरिन्।
उनका अनुसार मेन्टरका रूपमा धोनीको अनुभव र मार्गदर्शनले टोलीमा रहेका युवा खेलाडीलाई आगामी दिनमा सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यससँगै चेन्नई सुपर किंग्ससँग धोनीको करिब दुई दशक लामो सम्बन्ध नयाँ भूमिकामा पनि निरन्तर रहने भएको छ।