फ्रान्समा बढ्दो महँगी र न्यून तलबको विरोधमा कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले तलब वृद्धि, सार्वजनिक सेवामा लगानी र जीवनयापनको खर्च घटाउन सरकारसँग माग गरेका छन्।
फ्रान्सको प्रमुख ट्रेड युनियनमध्ये एककी प्रमुख मेरीलिस लियोनले मासिक तलबमा कर कटौतीपछिको (नेट) १०० युरो वृद्धि गर्नुपर्ने माग गरेकी छन्।
बढ्दो मूल्यवृद्धिका कारण जनआक्रोश बढेपछि सरकारले इन्धनको मूल्य घटाउन रणनीतिक भण्डारबाट १ करोड ब्यारेल डिजेल बजारमा ल्याएको छ। त्यस्तै, विद्यार्थीहरूको असन्तुष्टि सम्बोधन गर्न विश्वविद्यालय भर्नासम्बन्धी विवादित Parcoursup प्रणालीमा सुधार गर्ने र सन् २०२८ सम्ममा त्यसलाई प्रतिस्थापन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
प्रधानमन्त्रीले बिहीबार साँझ ट्रेड युनियन र रोजगारदाताबीच सोमबार हुने सामाजिक सम्मेलनमा क्रयशक्ति र तलबसम्बन्धी प्रश्नको समाधान खोजिने बताएका छन्।
यद्यपि, बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतमा झार्ने लक्ष्यसहित सरकारले अर्बौं युरो खर्च कटौती गर्नुपर्ने भएकाले तत्काल तलब वृद्धि र अन्य माग सम्बोधन गर्न कठिन देखिएको छ।
शिक्षा मन्त्रालयका अनुसार बिहीबार १६ प्रतिशत शिक्षक हडतालमा सहभागी भएका थिए। युनियनहरूका अनुसार १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययन गर्ने एक चौथाइभन्दा बढी माध्यमिक विद्यालय तथा अधिकांश विश्वविद्यालयको पठनपाठन प्रभावित भएको थियो।
विद्यार्थी संगठन युनेफकी उपाध्यक्ष एलिस डी ब्रिटोले शिक्षा र उच्च शिक्षासँगै फ्रान्सका सबै सार्वजनिक सेवामा लगानी बढाउनुपर्ने अवस्था रहेको बताएकी छन्।
यसैबीच, केही वर्षअघि महँगीविरुद्ध आन्दोलन गरेको ‘येलो भेस्ट’ आन्दोलनसमेत पुनः सक्रिय भएको छ। उक्त समूहले शुक्रबार र शनिबार थप प्रदर्शन तथा सडक अवरोधका कार्यक्रम आह्वान गरेको छ।
बिहीबार पेरिसमा प्रदर्शनकारीहरूलाई जुलुस निकाल्न अनुमति दिइएको थियो। तर, उनीहरूले प्रस्ताव गरेको बास्तिलदेखि प्लास डे ला कन्कोर्डसम्मको मार्ग परिवर्तन गरी प्लास डे ला रिपब्लिकदेखि प्लास डे ला नासियोँसम्मको मार्ग तय गरिएको थियो।
आन्तरिक मामिलामन्त्रीले प्रदर्शनका क्रममा वामपन्थी कट्टरपन्थी समूह, लुटपाट तथा युनियनको अनुमतिबिनाका आकस्मिक प्रदर्शन हुन सक्ने जोखिम औँल्याएका थिए।