नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दुई देशबीच शैक्षिक तथा अनुसन्धान सहकार्य, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, अन्तरिक्ष प्रविधि, दिगो सहरी विकास तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीपत्रअनुसार भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गरिनेछ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य गर्ने सहमति भएको छ ।
भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
यसैगरी, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, स्वास्थ्य तथा औषधि, दिगो सहरी विकास, पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा समेत समझदारी भएको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा विभिन्न पूर्वाधार तथा विकास परियोजनाको पनि शुभारम्भ र शिलान्यास गरिएको छ । भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालनको शुभारम्भ गरिएको छ ।
त्यस्तै, बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिबारे पनि जानकारी दिइएको छ ।
भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने नयाँ सवारी आवागमनयोग्य सीमापार पुल उद्घाटन गरिएको छ । यसैगरी, ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना हस्तान्तरण गरिएको छ भने प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनका लागि झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहसँगको द्विपक्षीय वार्तापछि मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको बताए ।
'नेपाल र भारत एकअर्काको प्रगतिका साझेदार हुन् र कठिन परिस्थितिमा एकअर्काका लागि सहयोगको स्रोत पनि हुन्,' मोदीले भने ।
उनले प्रधानमन्त्री शाहको नेपालको विकाससम्बन्धी दूरदर्शी सोचको प्रशंसासमेत गरे । केही महिनाअघि संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधन स्मरण गर्दै मोदीले त्यतिबेला नै उनको दूरदर्शी दृष्टिकोणको झलक देखिएको उल्लेख गरे ।
'आज मैले नेपालको विकासका लागि उहाँको स्पष्ट दृष्टिकोण देखेको छु,' मोदीले भने ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पूर्वाधार विकास, व्यापार तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।