डा.घनश्याम कुमार यादव वरिष्ठ कन्सलटेन्ट फिजिसियन हुन् । उनले इन्टरनल मेडिसिनमा एमडी गरेका छन् । धुलिखेल हस्पिटलबाट इन्टरभेस्नल इन्डोस्कोपी तालिम गरेका उनी विगत ५ वर्षदेखि चिकित्सा सेवामा लागेका छन् । वीरगञ्जको शान्ति पोलीक्लिनिकमा सेवा दिइरहेका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. यादवसँग ग्याष्ट्रिक समस्या र यसको समाधानका बारेमा मध्य नेपालका लागि कमला भण्डारीले गरेको कुराकानीः
ग्यास्ट्रिक कस्तो रोग हो ? सामान्य भाषामा ग्यास्ट्रिक भन्नाले पेटमा समस्या हुनु हो । पेटमा ग्यास बनेर अपच हुने, पेट दुख्ने समस्या भएमा ग्यास्ट्रिक भएको मानिन्छ । समयमा खाना नखाँदा, धेरै अमिलो पिरो, चिल्लो भएको खाना खाँदा र बाहिर खुला स्थानमा राखेको अस्वस्थ खानेकुराहरू खाँदा पेटमा इन्फेक्सन हुन्छ । दूषित पानी र फलफूल सफा नगरी खाँदा किटाणुहरू पेटमा पुगेर इन्फेक्सन हुन सक्छ । काँचो मासु, पुरानो तेलमा पकाएको मासु खाँदा, रक्सी र चुरोट सेवन गर्दा पनि ग्यास बढ्ने गरेको छ । धेरै तनाव लिँदा र पर्याप्त मात्रामा पानी नखाँदा पनि ग्यास बन्छ ।
ग्यास्ट्रिकले कत्तिको असर पारेको छ ?
अहिलेको परिवेशमा ग्यास्ट्रिकले सबैभन्दा बढी मानिसलाई सताएको छ । ग्यास्ट्रिकको समस्याले गर्दा मानिसलाई समाजमा हुने सामाजिक क्रियाकलापमा भाग लिन जान सक्दैन । बिरामी भएर चिकित्सकको जाँच गर्दा र औषधि किन्दा आर्थिक घाटा हुन्छ । शारीरिक रुपमा कमजोर र समस्या हुँदा मानसिक सन्तुलन गढबढ हुन्छ ।
ग्यास्ट्रिक भएमा कस्ता लक्षणहरू देखिन्छन् ? ग्यास्ट्रिक भएमा पेट दुख्ने, छाती भारी हुने, कब्जियत हुने, भोक नलाग्ने, वान्ता हुने, खाना नरुच्ने र रिंगटा लाग्नेजस्ता समस्याहरू देखिन्छन् ।
ग्यास्ट्रिकले शरीरको कुनकुन भागमा असर गर्छ ?
ग्यास्ट्रिकले पेट दुख्छ । पेटको पछाडिपट्टिका भागमा दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, कुनैकुनै समयमा हातखुट्टा झम्झमाउने हुन्छ । दिसा राम्ररी नहुँदा पेट दुख्नुका साथै कब्जियतले गर्दा झनै समस्या हुन्छ ।
ग्यास्ट्रिकबाट बच्न कस्तो सावधानी अपनाउनु पर्छ ?
ग्यास्ट्रिक हुनबाट बच्न हामीले हाम्रो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । खानपानलाई परिवर्तन गर्नुपर्छ । दैनिक व्ययाम गर्नुपर्छ । शारीरिक मिहिनेत कत्तिको छ । समयमा खाना र पानी खानुपर्छ । पर्याप्त मात्रामा पानी खानुपर्छ । दूषित पानी खान बन्द गर्नुपर्छ । खुल्ला स्थानमा बिक्री गरिएको खाना खान बन्द गर्नुपर्छ । सरसफाई भएको होटलमा मात्र खाना खानुपर्छ । खाना खानेबित्तिकै नसुत्ने, हरेक ३ देखि ४ घण्टामा पेट खाली हुन्छ । ३ देखि ४ घण्टाको अन्तरमा केही न केही खानुपर्छ । लामो समय खाना नखाएमा पेटमा ग्यास बन्छ । पेटमा ग्यास बनेपछि भोक लाग्दैन । पछि गएर विभिन्न समस्या शुरू हुन थाल्छ । आन्द्रामा खटिरा आउने, आन्द्रामा प्वाल पर्ने र अल्सर हुन्छ । समयमा उपचार हुन नसक्दा क्यान्सर पनि हुन्छ ।
ग्यास्ट्रिक भएको कति समयमा अल्सर हुन सक्छ ?
धेरै समयसम्म खाना र पानी खानुभएन, बढी फास्टफुड खाँदा र अस्वस्थ्यकर खाना खाएमा लामो समयदेखि ग्यास बनेर पेट दुखिरहेको छ भने बिस्तारैबिस्तारै सानो घाउ हुँदाहुँदै अल्सरको रुप लिन्छ । अल्सर भएपछि कुनैकुनै बेलामा दिसामा रगत आउन शुरू हुन्छ । कुनैकुनै बेला खाना खाएपछि पेट दुख्ने हुन्छ । अल्सर पेट र सानो आन्द्राको २ प्रकारको हुन्छ । एउटा अल्सरमा खाना खाएपछि आराम हुन्छ । अर्कोमा खाली पेटमा आराम हुन्छ । यस्ता लक्षण देखिएमा अल्सरको चरणमा गइसकेको हुन्छौं । दिसामा रगत आएमा जाँच गराउनुपर्छ । खाना नखाएर दुब्लाउन थाल्दा पनि सजग भएर जाँच गराउनुपर्छ । दुषित खाना र पानीमा एच पाइलोरीको किटाणु हुन्छ । एच पाइलोरी किटाणु पेटमा गएमा इन्फेक्सन भएर अल्सर गराउँछ । लामो समयसम्म बजारमा पाइने पेनकिलर खाएमा पनि ग्यास्ट्रिक भएर अल्सर हुन सक्छ । होटलमा पाइने नपाकेको माछामासु खाँदा, बढी रक्सी र चुरोट खाँदा पनि अल्सर हुन्छ । सबैभन्दा पहिला ग्यास्ट्रिकले पेट र सानो आन्द्रामा अल्सर गराउँछ ।
अल्सर हुनबाट कसरी बच्न सकिन्छ ?
घाउ भएर दिसामा रगत आउन सक्छ । दिसा कालो हुन्छ । खाना खानुभन्दा पहिला पेट दुखिरहेको छ र खाना खाएपछि पेट दुखिरहेको छ भने अल्सरको लक्षण हो । अल्सर भएको पत्ता लगाउन इन्डोस्कोपीबाट मुखमा पाइप लगाएर भित्र कत्तिको घाउ छ हेर्न सकिन्छ । अल्सरको औषधि खाने, समयमा खानापानी खाने, बढी चिल्लो र पिरो नखाने, बाहिरको खाना सकभर नखाने, फलफूल र सलाद बढी मात्रामा खाने गर्नाले अल्सर निको हुन सक्छ । ३÷४ घण्टाको अन्तरमा केही न केही खानेकुरा खानुपर्छ । समयमा उपचार गरेर र खानपनिमा ध्यान दिँदा समयमा नै उपचार हुन सक्छ ।
स्वस्थ रहन कस्ता सावधानी अपनाउनुपर्छ ?
बच्चाहरूलाई फास्टफुड र जंकफु खान कम दिनुपर्छ । घरमा पकाएका खान खान दिने, बाहिरको खाना नखाने र हरेक पटक साबुन पानीले हात धुनुपर्छ । खाना पकाउने र खाना दिनेले पनि साबुन पानीले राम्ररी हात धुनुपर्छ । चुरोट र रक्सी खाने बानी बन्द गर्नुपर्छ । समयमा खानुपर्छ । खाली पेटमा चिया खानु हँुदैन । केही खाएरमात्र चिया खानुपर्छ । दैनिक व्यायाम गर्नुपर्छ । स्वस्थ्य रहन जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । स्वस्थ्य रहन सफा पानी र खाना खानुपर्छ । मानसिक रुपमा स्वस्थ हुन तनावबाट मुक्त हुनुपर्छ । पर्याप्त निन्द्रा लिनु पर्दछ ।