प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सहकार्यमा अघि बढाइएका ६ वटा महत्त्वपूर्ण परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने उक्त आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो ।
त्यस्तै, भारतसँगको व्यापार तथा पारवहन पूर्वाधार विस्तार गर्ने उद्देश्यले बनबासा सुक्खा बन्दरगाहको पनि शिलान्यास गरिएको छ । यसैगरी सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा निर्माण हुने टर्मिनलको समेत शिलान्यास गरिएको छ ।
दुई प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाललाई हस्तान्तरण गरेका छन् । साथै, धार्चुला–दार्चुला जोड्ने पक्की पुलको उद्घाटन गरिएको छ ।
यसैबीच, भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको पनि उद्घाटन गरिएको छ । रामायण सर्किट परियोजनाअन्तर्गत सञ्चालनमा ल्याइएको यस रेल सेवाले नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कमा जोड्नेछ ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका थिए ।
भारतीय रेलवे विभागले यसअघि नै नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।
करिब ६०४ किलोमिटर दूरीको उक्त रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन प्रवर्द्धन तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
भारतीय रेलवे विभागका अनुसार उक्त रेल सातामा एक पटक दुवैतर्फ सञ्चालन हुनेछ । निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ ।
त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आउनेछ ।
६०४ किलोमिटर लामो उक्त रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।
यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।