मानवता, शान्ति, आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न भएको छ।
‘हार्मोनी इन ह्युम्यानिटी’ अर्थात् ‘मानवतामा सद्भाव’ विषयमा आयोजित प्रतियोगितामा नवदीप एकेडेमीका कक्षा ७ मा अध्ययनरत २० जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा विशाल साहले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी किशन मण्डल दोस्रो, परी गुप्ता तेस्रो र एलिस सिंह चौथो भएका छन्।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीकी चार्टर प्रेसिडेन्ट, नवदीप एकेडेमीकी सञ्चालिका तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष लायन सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पीएमजेएफ लायन डीएन अग्रवाल तथा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमल्सिनाको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन लायन नेहा अग्रवालले गर्नुभएको थियो।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष चौथो पटक सम्पन्न भएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले चित्रकलामार्फत शान्ति, प्रेम, एकता, सहिष्णुता र मानवीय मूल्यको महत्त्व प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा सामाजिक र मानवीय भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। यस्ता कार्यक्रमले बालबालिकालाई चित्रकलाका माध्यमबाट विश्व शान्ति, मानवता र आपसी सद्भावको महत्त्व बुझाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।