सन् २०२५ मा भारत भ्रमण गर्ने विदेशी पर्यटकको सूचीमा नेपाल शीर्ष १० देशभित्र पर्न सफल भएको छ । भारतीय पर्यटन मन्त्रालयको वार्षिक तथ्यांकअनुसार २ लाख १८ हजार ६ सय ४१ नेपालीले गत वर्ष भारत भ्रमण गरेका छन् ।
भारत भ्रमण गर्ने विदेशी पर्यटकमध्ये नेपालीको हिस्सा २.४ प्रतिशत रहेको छ । सन् २०२४ मा २ लाख २ हजार ५ सय १ नेपालीले भारत भ्रमण गरेका थिए । त्यस वर्ष ११औँ स्थानमा रहेको नेपाल सन् २०२५ मा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएको हो ।
नेपालबाट मुख्यतः स्वास्थ्योपचार, धार्मिक गतिविधि तथा घुमफिरका लागि भारत जाने गरेको पाइन्छ । तथ्यांकअनुसार नेपाली पर्यटकका लागि भारत भ्रमणको प्रमुख सिजन सेप्टेम्बर हो भने सबैभन्दा कम पर्यटक मे महिनामा जाने गरेका छन् ।
सन् २०२५ मा भारत भ्रमण गर्ने विदेशी पर्यटकको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ । अमेरिकाबाट १८ लाख ८१ हजार ७ सय ७२ पर्यटक भारत पुगेका छन् । यो कुल विदेशी पर्यटक आगमनको २०.१ प्रतिशत हो ।
त्यस्तै, बेलायतबाट १० लाख ८४ हजार ३ सय १० पर्यटक भारत पुगेका छन् । बेलायत दोस्रो र ५ लाख ४५ हजार ४ सय ३८ पर्यटकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छन् ।
क्यानडा चौथो स्थानमा रहँदा बंगलादेश पाँचौँ स्थानमा छ । क्यानडाबाट ५ लाख ४४ हजार ३ सय २६ र बंगलादेशबाट ४ लाख ६८ हजार ६ सय २१ पर्यटक भारत पुगेका छन् ।
सन् २०२४ मा १७ लाख ५० हजार १ सय ६५ पर्यटकसहित दोस्रो स्थानमा रहेको बंगलादेश सन् २०२५ मा भने पाँचौँ स्थानमा झरेको छ । बंगलादेशी पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको तथ्यांकले देखाउँछ ।
सन् २०२५ मा विश्वभर करिब डेढ अर्ब मानिस अन्तर्राष्ट्रिय भ्रमणमा निस्किएका थिए । धेरै विदेशी पर्यटक आकर्षित गर्ने देशको विश्वव्यापी सूचीमा भारत २२औँ स्थानमा रहेको थियो ।