डा.मनोजकुमार उपाध्याय दन्तरोग विशेषज्ञ हुन् । हाल वीरगञ्जमा एभरेष्ट दन्त सेवा केन्द्रबाट दन्त चिकित्सा सेवा दिँदैआएका उनले पाकिस्तानबाट बीडीएस र रसियाको क्रिकिस्तानबाट एमडीएस अध्ययन गरेका हुन् । विगत २९ वर्षदेखि चिकित्सा सेवामा लागेका उनले शुरूमा वीरगञ्जको नारायणी अस्पतालमा सेवा दिएका थिए । २०६० सालदेखि आफ्नै क्लिनिक एभरेष्ट दन्त सेवा केन्द्रबाट सेवा दिइरहेका छन् दन्तरोग विशेषज्ञ उपाध्यायसँग दाँतमा देखिने समस्याको बारेमा मध्य नेपालले गरेको कुराकानी:
मुखमा कस्ता समस्याहरू हुन्छ ?
मुखमा दाँत किरा लाग्ने (डेन्टल क्यारिज) समस्या हुन्छ । बच्चाको दूध खाने अवस्थादेखि नै दाँतमा किरा लाग्न शुरू हुन्छ । बच्चाहरू चकलेट खाने, गुलिया खानेकुराहरू खाने भएकोले धेरै जसो बच्चाहरूको दाँतमा किरा लाग्छ । गिजाको समस्यामा पनि दोस्रो रुपमा देखिएको छ । गिजाबाट रगत आउने, मुख गन्हाउने, गिजा सुन्निने र दाँत खिइने समस्या हुन्छ । कतिपयलाई ब्रस गर्न नआएर, दाँत किटकिट गर्ने बानीले, दाँतको बनावट नै त्यस्तै भएर पनि दाँत खिइरहेको हुन्छ । मुख नखुल्ने समस्या (क्यान्सर हुनु पहिलेको अवस्था), मुखमा क्यान्सर हुने समस्या, जिब्रोमा गालामा अल्सर र खटिराहरू आउँछ । बाङ्गोटिङ्गो दाँत भएको समस्या लिएर बिरामीहरू आउने गर्छन् ।
बच्चाहरूको दाँत बाङ्गो टङ्गो कसरी आउँछ ?
बच्चाहरूमा सानोसानो दाँत हुन्छ । टम्म मिलेर आउँछ । सानो दाँत साटिएर ठूलो दाँत आउँछ । कतिपय बच्चाहरूको दाँत दुख्यो भनेर समयभन्दा अगाडि नै उखेलिदिँदाँ पनि ठूलो र बाङ्गोटिङ्गो दाँत आउँछ । समयभन्दा अगाडि नै बच्चाको दाँत उखेल्दा ठाउँ नपुगेर दाँतहरू सर्न सक्छन् । दाँत सरेमा बाङ्गोटिङ्गो दाँत आउने समस्या हुन्छ । समयभन्दा पहिला पनि दाँत उखेल्नु हँुदैन । कतिपयले हल्लिएको दाँतलाई नउखेली छोड्दा त्यहाँ अर्को दाँत आइरहेको हुन्छ । कतिपयको वंशाणुगत गुणले गर्दा पनि हुन्छ । बच्चाहरूको औला चुस्ने बानीले गर्दा पनि दाँत बाङ्गोटिङ्गो आइरहेको हुन्छ ।
मुखको समस्या समाधान गर्न कस्तो सावधानी अपनाउनु पर्छ ?
मुखमा आउने समस्या समाधान गर्न दूधे बच्चादेखि नै आमाले दूध खुवाइसकेपछि कपासले पुछिदिनु पर्छ । बच्चा ६ महिना पुगेपछि वा दाँत आएपछि आफैंले कनिकाजति पेस्ट राखेर ब्रस गरिदिनु पर्छ । बच्चा बिस्तारै ठूलो हुँदै गएपछि नियमित ब्रस गर्ने तरिका सिकाउनु पर्छ । बच्चाको उमेर ३ वर्षसम्म हुँदा चामलको कनिकाजति पेस्ट राखेर ब्रस गर्न सिकाउनु पर्छ । बच्चाले मञ्जन निल्ने र गिजामा चोट लगाउन सक्ने भएकाले आफैंले दाँत सफा गरिदिनु पर्छ । सामान्य खालको दाँतको समस्याहरू दाँतमा फोहोर बसेर भएको हो । मुखमा भएको व्याक्टेरियाले गर्दा मुखमा समस्या निम्त्याउँछ । बिहान र बेलुका खाना खाइसकेपछि दिनको दुई पटक केराउको दानाको साइजमा मञ्जन लिएर दुई मिनेटसम्म दाँत माझ्नु उपयुक्त हुन्छ ।
दाँत स्वस्थ्य राख्न कस्तो खानपान खान आवश्यक पर्छ ?
जंक फुड, चकलेट, टफी र बिस्कुटजस्ता दाँतमा गएर लामो समयसम्म टाँसिने खानेकुराहरू खानु हँुदैन । गुलिया खानेकुरा खाएपछि तुरुन्त मुख कुल्ला गर्नु पर्छ । बिहान खाना खाइसकेपछि र राति सुत्ने बेला केराउको दानाजति मञ्जन राखेर ब्रस गर्नुपर्छ । प्रशस्त मात्रामा सागसब्जीहरू र फलफूलहरू खानुपर्छ ।
मुख गन्हाउने र गिजा पाक्ने समस्या कसरी हुन्छ ?
दाँतमा बसेको पहेलो फोहोर (डेन्टल फ्लग) पछि गएर डेन्टल क्यालकुलस् हुन्छ । त्यसले गर्दा रेडिथेरिटेसन गरेर गिजाको इनफ्लामेसन हुन्छ । जसलाई जेन्जेभाइटिस भनिन्छ । जेन्जेभाइटिसले गर्दा गिजाबाट रगत आउने र मुख गन्हाउने गर्दछ । त्यसको उपचार भनेको दाँत सफा गर्नुपर्छ । आफैंले क्यालकुलस् निकाल्न नसकिने भएकोले दन्त चिकित्सककोमा गएर निकाल्नु पर्छ ।
दाँत सफा गराउँदा दाँत खिइन्छ भनिन्छ नि ?
दाँत सफा ६÷६ महिनामा गराउन्ु पर्छ । नभए १ वर्षमा पनि गराउन सिकन्छ । स्केलिङ्ग मेसिनको भाइब्रेशनले सफा गराउने भएकोले दाँत कमजोर हुने र खिइने हुँदैन । गिजाबाट रगत आउने, मुख गन्हाउने समस्या के कारणले भइरहेको छ पहिला पत्ता लगाउनु पर्छ । फोहोरको कारणले गिजाबाट रगत आउँदा सफा गर्न मिल्छ । ब्लड क्यान्सर भएको मानिसलाई पनि गिजाबाट रगत आउन सक्छ । त्यसैले उनिहरूलाई दाँत सफा गर्न मिल्दैन । कतिपयलाई औषधिले गर्दा पनि गिजाबाट रगत आउँछ । छारे रोगको औषधि, भिटामिन ‘सी’को कमी (स्कर्भी) ले गर्दा समस्या भएको हुन्छ । त्यस्ता मानिसलाई भिटामिन ‘सि’ दिनु पर्छ । के कारणले मुखमा समस्या भएको हो डाइनोसिस् गर्नुपर्छ । सामान्य खालका समस्याहरू फोहोरले गर्दा हुन्छ । सिस्टोमिक कारणमा रोगहरूको कारणले गर्दा हुन्छ । रोगको उपचार गर्नुपर्छ ।
दन्त रोग वा अन्य रोग भनेर कसरी पत्ता लगाउन सकिन्छ ?
डेन्टल चिकित्सकले क्लिनिकल डाइनोसिस गर्नुपर्छ । बिरामीको बारेमा सम्पूर्ण जानकारी लिनुपर्छ । गिजाको बनावट कस्तो छ । गिजा कस्तो खालले सुन्निएको छ । अन्य ठाउँमा पनि सुन्निएको छ कि छैन शंका लागेमा रगत परीक्षण गराउनुपर्छ । अन्य कारणले गर्दा पनि शरीरलाई असर गर्दा पनि दाँत र गिजामा असर देखिन्छ ।
दाँतको उपचार अन्य उपचारभन्दा महँगो छ नि ?
दाँतको उपचार अन्य उपचारभन्दा महँगो होइन । दाँतको जाँच ६/६ महिनामा गर्नुपर्छ भन्नुको अर्थ नै दाँतको उपचारमा धेरै खर्च नलागोस् भन्ने हो । दाँतमा किरा लाग्न शुरू गर्दामा नै थाहा पाए कमै खर्चमा दाँतको उपचार हुन्छ । दाँतको वास्ता नगरी गिजा सुन्निएर, दाँत पूरै खाएर र मुख सुन्निएर अस्पताल आएपछि खर्च बढी लाग्छ । नियमित रुपमा दाँतको सरसफाई गरे दाँतको जाँच ६÷६ महिनामा गरेमा दाँतमा समस्या हुने सम्भावना खासै हुन्न ।
दाँतलाई रोग लाग्नबाट बचाउन के गर्नु पर्छ ?
बिहान खाना खाएर र बेलुका सुत्ने बेलामा ब्रस गरेर सुत्ने र नेपाल सरकारमा दर्ता भएका चिकित्सककहाँ ६÷६ महिनामा गएर दाँत परीक्षण गराउनु पर्छ । दाँत किरा लागेको छ भने शुरूमा नै उपचार हुन्छ । चकलेट, टफी खाएपछि कुल्ला गरेर राम्रोसँग मुख सफा गर्नुपर्छ । ब्रस गर्दा सर्कुलर मोसनमा गिजाबाट दाँततिर ब्रसलाई फर्काएर सफा गर्नुपर्छ । दाँतलाई घोटेर सफा गर्नु हँुदैन । दाँत बाहिरबाट मात्र सफा गरेर हुँदैन । दाँतको हरेक भाग सफा गर्नुपर्छ । दाँतको बीचको भागलाई पनि डेन्टल फ्लस (धागो) ले सफा गर्नुपर्छ ।
बाङ्गो टिङ्गो दाँतको उपचार कत्तिको महँगो छ ?
बाङ्गोटिङ्गो दाँतको उपचार हेर्दा महँगो देखिए पनि यो मिलाउन लाग्ने समयको हिसाबले खासै महँगो होइन । यसको उपचार बिरामीको उमेर, गिजाको अवस्था र हड्डीको अवस्था हेरेर एक वर्षदेखि ३ वर्षसम्म लाग्न पनि सक्छ । उपचार गर्न लाग्ने समयको हिसाबले महँगो होइन । यसको लागि चाहिने सामाग्रीहरू महँगो हुने र बिरामीअनुसारको सामाग्रीहरू अलगअलग लाग्ने भएकोले खर्च बढी लाग्छ ।
बाङ्गोटिङ्गो दाँत कुन उमेरमा छिटो बनाउन सकिन्छ ?
बच्चाहरूको दाँत बाङ्गोटिङ्गो छ भने ८/१० वर्षको उमेरमा नै डेन्टल चिकित्सकलाई देखाएर सल्लाह लिनुपर्छ । कतियप अवस्थामा रोक्न मिल्ने उपचार पनि हुन्छ । १२ वर्षपछि दाँत मिलाएमा कम समयमा मिलाउन सकिन्छ । ३५/४० वर्षमा दाँत मिलाउन आउँदा अन्य रोग लागेको हुन सक्छ । गिजाको रोग पनि हुन सक्छ । समय पनि लामो लाग्न सक्छ । सामान्यतः एउटै रेट हुन्छ । कसैको दाँतको अवस्था हेरेर र दाँतमा लाग्ने सामाग्रीअनुसार केही महँगो हुन सक्छ ।
थप सल्लाह के दिनुहुन्छ ?
मानिसले शरीरको अन्य भागजस्तो दाँतलाई त्यति ध्यान दिएका हुँदैनन् । दाँत नदुखेसम्म अस्पतालमा जाने गर्दैनन् । बिरामीले क्लिनिकमा नै जानुपर्छ भन्ने होइन । सरकारले अस्पताल बनाएको छ । त्यस्ता सरकारी अस्पतालमा गएर जाँच गराए पनि हुन्छ । धेरै डेन्टल क्लिनिकहरू खुलेका छन् । डाक्टरले नेपाल मेडिकल काउन्सिलको अनुमति पाए÷नपाएको पहिचान गरेरमात्र जाँच गराउनुपर्छ ।