प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको छ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो ।
औपचारिक स्वागतपछि दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो प्रतिनिधिमण्डलका सदस्यहरूसँग परिचयात्मक भेट गरेका थिए । त्यसपछि दुई नेताबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मोदीले उत्तर प्रदेशको अयोध्यादेखि नेपालको जनकपुरसम्म जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री शाहसँगै ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत पुगेको छ । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका वरिष्ठ सल्लाहकार तथा व्यवसायी प्रतिनिधिहरू सहभागी छन् ।
भ्रमणकै क्रममा नेपाल–भारत व्यापार मञ्च (बिजनेस फोरम) आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानी वृद्धि गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।
आर्थिक सहयोग र पूर्वाधार विकासमा छलफल हुने
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने अवसरका रूपमा हेरिएको छ । दुवै देशका आर्थिक विकास, सामाजिक क्षेत्र, पूर्वाधार विस्तार, प्रविधिको प्रयोग तथा प्राकृतिक विपद् र जलवायु परिवर्तनजस्ता साझा चुनौतीका विषयमा समान प्राथमिकता रहेकाले वार्ता महत्त्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ ।
दुई प्रधानमन्त्रीबीचको छलफलले आगामी वर्षहरूमा द्विपक्षीय सम्बन्धलाई अघि बढाउने राजनीतिक मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
भारतले नेपालसँग दीर्घकालीन विकासका लागि संयुक्त दृष्टिकोण प्रस्ताव गरेको छ । यता नेपालले भने भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज माग गरेको बताइएको छ । उक्त प्याकेजमा एक अर्ब अमेरिकी डलर अनुदान सहयोगसमेत समावेश गर्न नेपालले प्रस्ताव गरेको छ ।
त्यस्तै, गत अगस्टमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पनि नेपालले भारतसँग सहयोग माग गरेको छ ।
नेपालले काठमाडौं–महेन्द्रनगर हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ । हाल उक्त हवाई मार्गबाट अन्तर्राष्ट्रिय उडानलाई नेपालबाट बाहिरिने दिशामा मात्रै अनुमति दिइएको छ ।
यसअघि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।
सोमबार प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।