जनकपुर र अयोध्यालाई रेलमार्गबाट जोड्ने प्रस्तावले पुनः गति लिनु नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धका दृष्टिले महत्वपूर्ण विषय हो । सीताको जन्मभूमि जनकपुर र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई रेल सेवाबाट जोड्ने योजना केवल दुई धार्मिक सहरबीचको यातायात सुविधा विस्तार गर्ने विषयमा सीमित छैन । यसले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक सहकार्य, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विस्तारसँग जोड्ने सम्भावना बोकेको छ । त्यसैले यस योजनालाई सामान्य रेल सेवा विस्तारका रूपमा मात्र नभई दीर्घकालीन रणनीतिक अवसरका रूपमा हेर्न आवश्यक छ ।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध शताब्दीयौँ पुरानो छ । जनकपुर र अयोध्या यस सम्बन्धका दुई महत्वपूर्ण केन्द्र हुन् । रामायणकालीन सांस्कृतिक सम्बन्धका कारण यी दुई शहरप्रति नेपाल र भारतका नागरिकको समान आस्था रहँदै आएको छ । जनकपुर–अयोध्या रेल सेवा सञ्चालन हुन सकेमा धार्मिक पर्यटकलाई सहज आवागमनको सुविधा उपलब्ध हुनेछ । विशेषगरी भारतका विभिन्न राज्यबाट जनकपुर आउने पर्यटकको संख्यया बढ्न सक्छ । यसले मधेश प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने सम्भावना छ ।
तर, धार्मिक आस्था र सांस्कृतिक सम्बन्धको चर्चा गरेरमात्र यो योजनाको वास्तविक लाभ प्राप्त हुँदैन । यसको आर्थिक सम्भावनालाई व्यवहारमा उतार्न नेपालले स्पष्ट तयारी गर्नुपर्छ । भारतबाट आउने पर्यटकलाई जनकपुरमा कम्तीमा केही दिन बस्ने वातावरण बनाउन आवश्यक छ । जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषसागर, गंगासागर तथा आसपासका धार्मिक र ऐतिहासिक स्थललाई व्यवस्थित पर्यटन प्याकेजमा जोड्नुपर्छ । स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, मिथिला चित्रकला र अन्य घरेलु उद्योगलाई पर्यटकसँग प्रत्यक्ष जोड्ने कार्यक्रम ल्याउनुपर्छ । पर्यटकको सङ्ख्या बढ्नुमात्र सफलता होइन, उनीहरूले स्थानीय अर्थतन्त्रमा कति खर्च गर्छन् र त्यसबाट स्थानीय नागरिकले कति आम्दानी गर्छन् भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।
यस योजनाको अर्को महत्वपूर्ण पक्ष नेपाल–भारतबीचको व्यावहारिक सहकार्य हो । लामो समयदेखि चर्चामा रहेको रेल सेवा प्राविधिक, सुरक्षा र व्यवस्थापकीय जटिलताका कारण कार्यान्वयनमा आउन सकेको छैन । अहिले पुनः तयारी तीव्र हुनु सकारात्मक संकेत हो । तर, मिति घोषणा गर्ने र संयुक्त उद्घाटनको चर्चा गर्नेभन्दा पहिले सञ्चालनको स्पष्ट मोडालिटी टुंग्याउनु आवश्यक छ । रेल कसले सञ्चालन गर्ने, आम्दानी कसले प्राप्त गर्ने, मर्मतसम्भारको जिम्मेवारी कसको हुने र सञ्चालन खर्च कसरी बाँडफाँट गर्ने भन्ने विषयमा पारदर्शी सहमति हुनुपर्छ ।
प्रस्तावित व्यवस्थाअनुसार भारतीय रेलले सेवा सञ्चालन गर्ने र त्यसबाट प्राप्त आम्दानी भारतीय पक्षले प्राप्त गर्ने विषय उठेको छ । यस्तो अवस्थामा रेलमार्गको मर्मतसम्भार तथा सञ्चालनसँग सम्बन्धित खर्चको जिम्मेवारी पनि स्पष्ट रूपमा निर्धारण गरिनुपर्छ । आम्दानी एक पक्षले प्राप्त गर्ने तर खर्च र दायित्व अर्को पक्षमाथि पर्ने अवस्था न्यायोचित हुन सक्दैन । नेपालले आफ्नो राष्ट्रिय हित, पूर्वाधारको संरक्षण र दीर्घकालीन आर्थिक लाभलाई ध्यानमा राखेर वार्ता गर्नुपर्छ । दुई देशबीचको सहकार्य समानता, पारदर्शिता र पारस्परिक लाभमा आधारित हुनुपर्छ ।
सुरक्षा व्यवस्थापन पनि यस योजनाको संवेदनशील पक्ष हो । अन्तरदेशीय रेल सेवा सञ्चालन हुँदा यात्रु, सामान र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नु दुवै देशको जिम्मेवारी हुन्छ । नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा जाँच गर्ने व्यवस्था स्वाभाविक हो । तर सुरक्षा जाँचका नाममा यात्रुलाई अनावश्यक झन्झट र लामो प्रतीक्षामा राख्नु हुँदैन । जनकपुरदेखि अयोध्यासम्मको यात्रा सहज र आकर्षक बनाउन सीमा क्षेत्रमा सुरक्षा जाँचको एकीकृत तथा समन्वित प्रणाली विकास गर्नुपर्छ । आवश्यक प्रविधिको प्रयोग, पूर्वसूचना, यात्रु विवरणको व्यवस्थित आदानप्रदान र स्पष्ट कार्यविधिले सुरक्षा र सहजतालाई सँगसँगै अघि बढाउन सक्छ ।
रेल सेवा सञ्चालन भएपछि जनकपुरमा पर्यटकको चाप बढ्ने सम्भावना छ । त्यसअनुसार सहरको पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्छ । सडक, सरसफाई, खानेपानी, सार्वजनिक शौचालय, पार्किङ, होटल, सूचना केन्द्र र पर्यटक सहायता सेवाको गुणस्तर सुधार नगरी पर्यटक आकर्षित गर्न कठिन हुन्छ । धार्मिक स्थलहरूको संरक्षण, व्यवस्थित यातायात र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्छ । स्थानीय युवालाई पर्यटन, होटल व्यवस्थापन, भाषा, गाइड सेवा र उद्यमशीलतासम्बन्धी तालिम दिनु पनि उत्तिकै आवश्यक छ ।
यसबाट मधेश प्रदेशले पर्यटनको माध्यमबाट रोजगारी र आम्दानी सिर्जना गर्ने अवसर पाउन सक्छ । जनकपुरलाई केन्द्र बनाएर धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायत आसपासका क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई पनि पर्यटन सञ्जालमा जोड्न सकिन्छ । यसो हुन सकेमा पर्यटकको आवागमन जनकपुरमा मात्र सीमित नरही समग्र मधेशको आर्थिक गतिविधि विस्तार गर्ने आधार बन्न सक्छ ।
नेपालले यस योजनालाई भारतसँगको धार्मिक सम्बन्धको विषयमा मात्र सीमित गर्नु हुँदैन । यसलाई अन्तरदेशीय यातायात, पर्यटन र व्यापार विस्तारको दीर्घकालीन अवसरका रूपमा उपयोग गर्नुपर्छ । भविष्यमा रेल सेवा नियमित र प्रभावकारी बनेमा अन्य पर्यटकीय तथा आर्थिक केन्द्रसँगको सम्पर्क विस्तारबारे पनि अध्ययन गर्न सकिन्छ । तर, त्यसका लागि यात्रुको माग, सञ्चालन खर्च, पूर्वाधारको क्षमता र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, यो योजना राजनीतिक प्रचार र उद्घाटनको विषयमा सीमित हुनु हुँदैन । सेवा शुरु भएपछि नियमित सञ्चालन, समयपालना, यात्रुको सुरक्षा, उचित भाडादर र गुणस्तरीय व्यवस्थापन सुनिश्चित गर्नुपर्छ । सातामा एक पटक रेल सञ्चालन गर्ने प्रारम्भिक अवधारणालाई यात्रुको माग र आर्थिक सम्भाव्यताका आधारमा क्रमशः विस्तार गर्न सकिन्छ ।
जनकपुर–अयोध्या रेल सेवा सञ्चालन हुनु नेपालका लागि अवसर हो । तर अवसर आफैँमा उपलब्धि होइन । त्यसबाट लाभ लिन राज्यको दूरदृष्टि, संस्थागत क्षमता र स्थानीय तहको सक्रियता आवश्यक हुन्छ । नेपालले आफ्नो धार्मिक सम्पदा, सांस्कृतिक पहिचान र पर्यटन सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्न सक्नुपर्छ । भारतसँगको सहकार्यलाई समान हित र पारदर्शी व्यवस्थापनमा आधारित बनाउनुपर्छ ।
जनकपुर र अयोध्यालाई रेलमार्गले जोड्नु दुई धार्मिक सहरबीचको दूरी घटाउनुमात्र होइन, दुई देशका नागरिकबीचको आत्मीयता, आर्थिक सम्बन्ध र सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने अवसर हो । त्यसैले यो योजना घोषणा र उद्घाटनमा होइन, प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । रेल चलेपछि जनकपुरमा पर्यटक बढून्, स्थानीय व्यवसाय फस्टाऊन्, युवाले रोजगारी पाऊन् र मधेशको अर्थतन्त्रले गति लिओस् । यही नै जनकपुर–अयोध्या रेल सेवाको वास्तविक सफलता हुनेछ ।