चाडपर्वको समयमा अव्यवस्थित खानपान, अत्यधिक चिल्लो तथा गुलियो खानेकुराको सेवन, मदिरापान, सरसफाईमा लापरवाही र नियमित दिनचर्यामा हुने परिवर्तनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छन् । विशेषगरी दीर्घरोग भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाले यस समयमा थप सावधानी अपनाउनुपर्ने हुन्छ । चाडपर्वलाई स्वस्थ, सुरक्षित र मर्यादित बनाउन अपनाउनुपर्ने उपाय, सम्भावित स्वास्थ्य जोखिम र आवश्यक सतर्कताबारे नेशनल मेडिकल कलेजका कन्सल्ट्यान्ट फिजिसियन (इन्टरनल मेडिसिन) डा. सुधाकर झासँग गरिएको कुराकानीको सम्पादित अंश ः
चाडपर्वको समयमा मानिसहरूले आफ्नो स्वास्थ्यप्रति कस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ? स्वास्थ्य समस्या बढ्नुका प्रमुख कारण के–के हुन् ?
चाडपर्व हाम्रो सामाजिक, सांस्कृतिक तथा पारिवारिक जीवनको महत्वपूर्ण हिस्सा हो । दसैँ, तिहार, छठलगायतका पर्वले परिवारबीच भेटघाट, खुसीयाली र आपसी सद्भाव बढाउँछन् । तर, चाडपर्वको समयमा खानपानमा अनियमितता, धेरै चिल्लो तथा गुलियो खानेकुरा, मदिरा सेवन र सरसफाईमा कमीका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन् । त्यसैले चाडपर्व मनाउँदा रमाइलोसँगै आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ । चाडपर्वको समयमा विशेषगरी खानपान, शारीरिक गतिविधि, पर्याप्त निद्रा, व्यक्तिगत सरसफाइ र नियमित औषधि सेवनमा ध्यान दिनुपर्छ । यस समयमा धेरै मासु, मिठाई, चिल्लो तथा गुलियो खानेकुरा खाने, समयमा खाना नखाने, शारीरिक गतिविधि कम गर्ने, मदिरा सेवन गर्ने र बासी वा दूषित खाना खाने बानीले स्वास्थ्य समस्या बढाउन सक्छ । यसका कारण ग्यास्ट्रिक, अपच, झाडापखाला, फुड पोइजनिङ, रक्तचाप बढ्ने र मधुमेह भएका व्यक्तिमा रगतमा चिनीको मात्रा असन्तुलित हुने समस्या देखिन सक्छ । त्यसैले चाडपर्वमा पनि सन्तुलित खानपान र स्वस्थ दिनचर्या कायम राख्नुपर्छ ।
खाद्यवस्तु सुरक्षित तरिकाले पकाउने, भण्डारण गर्ने र खाने उपाय के हन् ?
खाद्यवस्तु सुरक्षित राख्न सबैभन्दा पहिले खाना पकाउनुअघि साबुनपानीले हात धुनुपर्छ । फलफूल तथा तरकारी सफा पानीले राम्ररी पखाल्नुपर्छ । काँचो मासु, माछा र पकाएको खानालाई छुट्टाछुट्टै राख्नुपर्छ । खाना राम्रोसँग पाक्ने गरी पकाउनुपर्छ र सकेसम्म ताजा खाना खानुपर्छ । पकाएको खाना लामो समयसम्म खुला ठाउँमा राख्नु हुँदैन । बाँकी रहेको खाना छोपेर फ्रिजमा राख्ने र फेरि खाँदा राम्ररी तताउने गर्नुपर्छ । विशेषगरी मासु, माछा, दूधबाट बनेका परिकार र मिठाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ। बासी, दुर्गन्ध आएको वा बिग्रिएको खाना खानु हुँदैन। यस्ता सामान्य सावधानी अपनाउँदा खानाबाट सर्ने रोगको जोखिम धेरै कम गर्न सकिन्छ ।
मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौलाका बिरामीले खानपान र औषधि सेवनमा कस्ता सावधानी अपनाउनुपर्छ ?
दीर्घरोग भएका बिरामीले चाडपर्वमा विशेष सावधानी अपनाउनुपर्छ । मधुमेहका बिरामीले मिठाई, गुलियो पेय पदार्थ र चिनीको सेवन कम गर्नुपर्छ । नियमित समयमा खाना खाने, रगतमा चिनीको मात्रा जाँच गर्ने र चिकित्सकले दिएको औषधि वा इन्सुलिन नियमित लिनुपर्छ । उच्च रक्तचाप भएका बिरामीले धेरै नुनिलो, अचार, प्रशोधित तथा चिल्लो खानेकुरा कम गर्नुपर्छ र नियमित औषधि सेवन गर्नुपर्छ । मुटुका बिरामीले धेरै बोसोयुक्त मासु, घिउ, बटर र तारेका खानेकुरा कम गर्नुपर्छ। छाती दुख्ने वा सास फेर्न गाह्रो हुने समस्या देखिए तुरुन्त अस्पताल जानुपर्छ । मिर्गौलाका बिरामीले आफ्नो अवस्थाअनुसार नुन, पानी र पोटासियमको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्छ । डायलाइसिस गराइरहेका बिरामीले नियमित डायलाइसिस छुटाउनु हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा, चाडपर्व वा व्रतको समयमा पनि आफ्नो नियमित औषधि छुटाउनु हुँदैन । औषधिको मात्रा आफैं घटाउने वा बढाउने गर्नु हुँदैन । उपवास बस्नुअघि दीर्घरोग भएका व्यक्तिले चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
बजारमा पाइने मिठाई, खाने तेल तथा अन्य खाद्यवस्तुको गुणस्तरमा प्रश्न उठ्ने गर्छ । उपभोक्ताले अखाद्य तथा मिसावटयुक्त खानेकुराबाट कसरी बच्न सक्छन् ?
चाडपर्वमा मिठाई, तेल, घिउ तथा अन्य खाद्यवस्तुको माग बढ्ने भएकाले गुणस्तरहीन र मिसावटयुक्त खानेकुरा बिक्री हुने सम्भावना पनि हुन्छ । त्यसैले खाद्यवस्तु किन्दा उत्पादन मिति, म्याद सकिने मिति, प्याकेटको अवस्था र उत्पादकको विवरण हेर्नुपर्छ । सकेसम्म विश्वासिलो पसलबाट मात्र खाद्यवस्तु किन्नुपर्छ । अस्वाभाविक रङ भएका, दुर्गन्ध आउने, खुला ठाउँमा राखिएका वा झिँगा भन्किएका मिठाई तथा खानेकुरा खानु हुँदैन । खाने तेललाई पटकपटक तताएर प्रयोग गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । कुनै खाद्यवस्तुमा मिसावट भएको शंका लागेमा प्रयोग नगर्ने र सम्बन्धित निकायमा जानकारी गराउने गर्नुपर्छ । खाद्यवस्तु आकर्षक देखिँदैमा गुणस्तरीय हुन्छ भन्ने हुँदैन भन्ने कुरा उपभोक्ताले बुझ्न आवश्यक छ ।
चाडपर्वको समयमा सरसफाइ र व्यक्तिगत स्वच्छताको भूमिका कस्तो हुन्छ ? दूषित पानी तथा खानाबाट लाग्ने रोगबाट बच्न के गर्नुपर्छ ?
चाडपर्वमा धेरै मानिस एकै ठाउँमा भेला हुने र सामूहिक रूपमा खाना खाने भएकाले संक्रमण फैलिने सम्भावना बढी हुन्छ । यसबाट बच्न खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, उमालेको वा शुद्धीकरण गरिएको पानी पिउने, फलफूल तथा तरकारी राम्ररी धुने र भान्सा तथा खाने ठाउँ सफा राख्ने गर्नुपर्छ । खुला ठाउँमा राखिएका खानेकुरा र असुरक्षित पानी प्रयोग गर्नु हुँदैन । यस्ता सावधानी अपनाउँदा झाडापखाला, टाइफाइड, हैजा तथा अन्य संक्रमणबाट बच्न सकिन्छ । यदि झाडापखाला लागेमा शरीरमा पानीको कमी हुन नदिन जीवनजल प्रयोग गर्नुपर्छ । लगातार बान्ता हुने, पिसाब कम हुने वा दिसामा रगत देखिने भए तुरुन्त अस्पताल जानुपर्छ ।
चाडपर्वमा लामो यात्रा, भीडभाड र खानपानको अनियमितताले स्वास्थ्यमा कस्तो असर पार्न सक्छ ? यात्रा गर्दा बिरामी तथा ज्येष्ठ नागरिकले केकस्ता सावधानी अपनाउनुपर्छ ?
चाडपर्वमा लामो यात्रा गर्ने र भीडभाड हुने भएकाले थकान, शरीरमा पानीको कमी, खानपानको अनियमितता र संक्रमणको जोखिम बढ्न सक्छ । लामो समय एउटै ठाउँमा बसिरहँदा खुट्टाको नसामा रगत जम्ने समस्या पनि हुन सक्छ । विशेषगरी मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौलाका बिरामी र ज्येष्ठ नागरिकले यात्रा गर्दा बढी सावधानी अपनाउनुपर्छ । यात्रा गर्नुअघि आफ्नो स्वास्थ्य अवस्था ठीक छ कि छैन भन्ने कुरा ध्यान दिनुपर्छ । नियमित औषधि पर्याप्त मात्रामा साथमा राख्ने, सुरक्षित पानी पिउने, सफा र हल्का खाना खाने तथा बीचबीचमा आराम गर्ने गर्नुपर्छ । लामो यात्रामा सम्भव भएसम्म प्रत्येक १–२ घण्टामा केही समय हिँड्ने वा खुट्टा चलाउने गर्नुपर्छ । ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका बिरामीले एक्लै यात्रा नगर्नु राम्रो हुन्छ । स्वास्थ्य अवस्था अस्थिर छ भने यात्रा गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
चाडपर्वको रमाइलोका क्रममा मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन बढ्ने गरेको पाइन्छ । यसले तत्कालीन र दीर्घकालीन स्वास्थ्यमा कस्तो असर पार्छ ?
मदिरा तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छन् । चाडपर्वको समयमा रमाइलोका नाममा यसको सेवन बढाउनु उचित होइन । मदिरा सेवनले तत्कालै निर्णय गर्ने क्षमता घटाउने, शरीरको सन्तुलन बिगार्ने, दुर्घटनाको जोखिम बढाउने र अत्यधिक सेवन गर्दा बेहोस हुने वा श्वासप्रश्वासमा समस्या आउनेसम्म हुन सक्छ । लामो समयसम्म मदिरा सेवन गर्दा कलेजो बिग्रिने, उच्च रक्तचाप, मुटुरोग तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढ्छ । त्यस्तै, चुरोट, बिँडी, खैनी तथा गुट्खाजस्ता सुर्तीजन्य पदार्थले फोक्सो, मुख र घाँटीको क्यान्सर, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन् । त्यसैले चाडपर्वलाई स्वस्थ बनाउन मदिरा तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु नै सबैभन्दा राम्रो उपाय हो । मदिरा सेवन गरेर कहिल्यै सवारीसाधन चलाउनु हुँदैन ।
चाडपर्वलाई स्वस्थ, सुरक्षित र मर्यादित रूपमा मनाउन आम नागरिकलाई यहाँको सुझाव के छ ? स्वास्थ्य समस्या देखिएमा कहिले र कस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ ?
मेरो सुझाव के छ भने चाडपर्व मनाऔँ, रमाइलो गरौँ, परिवारसँग समय बिताऔँ, तर आफ्नो स्वास्थ्यलाई बेवास्ता नगरौँ । खानपानमा सन्तुलन कायम राख्ने, नियमित शारीरिक गतिविधि गर्ने, पर्याप्त आराम गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन गर्ने बानी कायम राख्नुपर्छ । स्वास्थ्यमा समस्या देखिएमा त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । विशेषगरी निम्न लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । छाती दुख्ने, चिसो पसिना आउने वा सास फेर्न गाह्रो हुने, अचानक मुख बाङ्गिने, हातखुट्टा कमजोर हुने वा बोली अस्पष्ट हुने, लगातार बान्ता वा झाडापखाला हुने, शरीरमा पानीको कमी हुने वा पिसाब कम हुने, बेहोस हुने, दौरा आउने वा असामान्य व्यवहार देखिने, अत्यधिक मदिरा सेवनपछि होस नहुने वा श्वासप्रश्वास सुस्त हुने, उच्च ज्वरोसँगै अत्यधिक कमजोरी वा अलमल हुने जस्ता लक्षण देखिएमा घरेलु उपचार गरेर समय खेर फाल्नु हुँदैन । तुरुन्त नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नुपर्छ । अन्त्यमा म के भन्न चाहन्छु भने, चाडपर्व भनेको केवल मिठो खाने र रमाइलो गर्ने अवसरमात्र होइन, परिवारसँग खुसी साटासाट गर्ने र आपसी सद्भाव बढाउने समय पनि हो । हामीले आफ्नो स्वास्थ्यसँगै परिवारका ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोग भएका व्यक्तिको स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । स्वस्थ शरीर, सुरक्षित खानपान, स्वच्छ वातावरण र संयमित जीवनशैली नै खुसीयालीपूर्ण चाडपर्वका आधार हुन् । त्यसैले खाऔँ, रमाऔँ, भेटघाट गरौँ, तर स्वास्थ्यको मूल्यमा होइन । स्वस्थ रहौँ, सुरक्षित रहौँ र जिम्मेवार भएर चाडपर्व मनाऔँ । सबैमा स्वस्थ, सुखद र सुरक्षित चाडपर्वको हार्दिक शुभकामना ।