शारीरिक स्वास्थ्यमा जस्तै मानसिक स्वास्थ्यमा देखिने समस्या पहिचान, उपचार र हेरचाहमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । यस्तै समस्यामध्ये अल्जाइमर्स रोग एक प्रमुख स्वास्थ्य चुनौती हो । समयमै लक्षण पहिचान, चिकित्सकीय परामर्श, उचित हेरचाह र सामाजिक सहयोगले बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छ । हालै विश्व मानसिक स्वास्थ्य दिवस २०२६ ले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका व्यक्तिको अनुभव, आवश्यकता र आवाजलाई स्वास्थ्य सेवा तथा नीतिनिर्माणमा महत्व दिनुपर्ने सन्देश दिएको छ । यही सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंमा एमडी अध्ययन गरेका र विगत २१ वर्षदेखि वीरगञ्जमा मानसिक रोग विशेषज्ञका रूपमा सेवा दिँदै आएका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. भरतकुमार गोइतसँग अल्जाइमर्स रोगका लक्षण, कारण, उपचार, रोकथाम र सामाजिक सहयोगका विषयमा गरिएको कुराकानीको सम्पादित अंश:
अल्जाइमर्स रोग भनेको के हो ? यसले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ ?
अल्जाइमर्स रोग मस्तिष्कसँग सम्बन्धित एक प्रगतिशील रोग हो । जर्मन मनोचिकित्सक एलोइस अल्जाइमरले सन् १९०६ मा स्मरणशक्ति र व्यवहारमा परिवर्तन देखिएका बिरामीको अवस्थाबारे अध्ययन गरेका थिए । उनकै नामबाट यस रोगको नाम अल्जाइमर्स रहन गएको हो । यो रोग लागेपछि मानिसको स्मरणशक्ति, सोच्ने क्षमता, निर्णय गर्ने क्षमता र दैनिक क्रियाकलाप सञ्चालन गर्ने क्षमतामा क्रमशः ह्रास आउन सक्छ । सामान्यतया ६० वर्षभन्दा माथिका व्यक्तिमा यसको जोखिम बढी हुन्छ । तर, कम उमेरमै पनि अल्जाइमर्स रोग देखिन सक्छ । त्यसैले उमेरका आधारमा मात्र यसलाई मूल्यांकन गर्नु हुँदैन । बिर्सिने समस्या देखिँदैमा सबैलाई अल्जाइमर्स भएको ठान्नु पनि उचित हुँदैन । अन्य रोग तथा स्वास्थ्य समस्याले पनि स्मरणशक्तिमा असर पार्न सक्छन् ।
अल्जाइमर्स रोगका प्रमुख लक्षण के–के हुन् ?
यसको सुरुआती लक्षण स्मरणशक्तिमा कमी आउनु हो । बिरामीले भर्खरै गरेका कुरा बिर्सिने, सामान कहाँ राखेको भन्ने सम्झन नसक्ने, पसलमा सामान किन्न जाँदा के किन्न गएको भन्ने बिर्सिने वा परिचित बाटोसमेत बिर्सिनेजस्ता समस्या देखिन सक्छन् । कहिलेकाहीँ नजिकका आफन्तलाई चिन्न कठिन हुने र दैनिक काम गर्न अरूको सहयोग आवश्यक पर्ने अवस्था पनि आउन सक्छ । रोग बढ्दै जाँदा व्यवहार र मानसिक अवस्थामा परिवर्तन देखिन सक्छ । केही बिरामीमा अरूप्रति शंका गर्ने, डराउने, बेचैन हुने वा नभएका आवाज सुनेजस्तो अनुभव हुने समस्या पनि देखिन सक्छ । तर, यी सबै लक्षण प्रत्येक बिरामीमा देखिन्छन् भन्ने होइन । सामान्य उमेरजन्य बिर्सिने समस्या र अल्जाइमर्स रोगबीच फरक छुट्याउन चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।
अल्जाइमर्स रोग लाग्ने कारण के हो ? के यो वंशाणुगत रोग हो ?
अल्जाइमर्स रोग लाग्नुको एउटै कारण छैन । मस्तिष्कमा हुने जैविक परिवर्तन, उमेर, वंशाणुगत प्रभाव तथा अन्य जोखिम कारकले यसको विकासमा भूमिका खेल्न सक्छन् । परिवारका सदस्यमा यो रोग भएको अवस्थामा जोखिम बढ्न सक्छ, तर आमाबुबालाई रोग छ भन्दैमा छोराछोरीलाई अनिवार्य रूपमा लाग्छ भन्ने होइन । यसैले परिवारमा कसैलाई अल्जाइमर्स भएको अवस्थामा सचेत रहनु राम्रो हुन्छ । स्मरणशक्तिमा असामान्य परिवर्तन देखिएमा त्यसलाई उमेरको प्रभाव भनेर बेवास्ता गर्नु हुँदैन । चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुपर्छ ।
अल्जाइमर्स रोगको उपचार कसरी गर्न सकिन्छ ?
अल्जाइमर्स रोगलाई पूर्ण रूपमा निको पार्ने उपचार हालसम्म उपलब्ध छैन । तर, यसको अर्थ उपचारबाट कुनै फाईदा हुँदैन भन्ने होइन । केही औषधिले लक्षण नियन्त्रण गर्न, दैनिक काम गर्ने क्षमता केही समयसम्म कायम राख्न वा बिरामीको जीवन सहज बनाउन मद्दत गर्न सक्छन् । निश्चित अवस्थामा रोगको प्रगतिलाई केही हदसम्म सुस्त बनाउन प्रयोग गरिने नयाँ औषधि पनि उपलब्ध छन् । यस्ता औषधि सबै बिरामीका लागि उपयुक्त हुँदैनन् र तिनको प्रभाव, जोखिम तथा उपलब्धताबारे विशेषज्ञसँग परामर्श गर्नुपर्छ । बिर्सिने समस्या देखिएका व्यक्तिको उचित मूल्यांकन गर्नु महत्वपूर्ण हुन्छ । अन्य उपचारयोग्य कारणले स्मरणशक्तिमा असर परेको भए त्यसको उपचारबाट सुधार हुन सक्छ । अल्जाइमर्स पुष्टि भएका बिरामीमा औषधिसँगै नियमित दिनचर्या, सुरक्षित वातावरण, परिवारको सहयोग र भावनात्मक समर्थन आवश्यक हुन्छ ।
बिरामीको हेरचाहमा परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ ?
अल्जाइमर्स भएका व्यक्तिलाई परिवार र समाज दुवैको सहयोग चाहिन्छ । बिरामीले एउटै कुरा पटकपटक सोध्न सक्छन् वा परिचित व्यक्तिलाई तत्काल चिन्न नसक्न सक्छन् । यस्तो अवस्थामा झर्किने, गाली गर्ने वा अपमान गर्ने होइन, धैर्यपूर्वक सम्झाउने र सहयोग गर्ने बानी बसाल्नुपर्छ । बिरामी घरबाहिर निस्कँदा बाटो बिर्सिन सक्छन् । पसलमा सामान किनेपछि पैसा तिर्न बिर्सिएमा अरूले गलत अर्थ लगाउन सक्छन् । सार्वजनिक यातायात चढेपछि कहाँ जाने भन्ने सम्झन नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले परिवारले सम्पर्क नम्बर र ठेगाना उल्लेख गरिएको परिचयपत्र वा कार्ड उपलब्ध गराउन सक्छन् । आवश्यकताअनुसार स्थानीय प्रहरी, पसले, अटो चालक र समुदायका सदस्यलाई बिरामीको अवस्थाबारे जानकारी दिनु उपयोगी हुन्छ । यसो गर्दा बिरामी हराएमा परिवारसम्म पु¥याउन र जोखिम कम गर्न सहयोग पुग्छ ।
अल्जाइमर्स रोगबाट बच्न वा जोखिम कम गर्न के गर्न सकिन्छ ?
अल्जाइमर्स रोग पूर्ण रूपमा रोक्ने सुनिश्चित उपाय छैन । तथापि, स्वस्थ जीवनशैलीले मस्तिष्कको स्वास्थ्य जोगाउन र डिमेन्सियाका केही जोखिम घटाउन मद्दत गर्न सक्छ । नियमित शारीरिक व्यायाम, सन्तुलित भोजन, पर्याप्त निद्रा र सामाजिक गतिविधिमा सहभागिता महत्त्वपूर्ण छन् । धूम्रपान नगर्ने, मदिराको हानिकारक सेवनबाट बच्ने तथा उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्याको उचित उपचार गर्ने बानी बसाल्नुपर्छ । दिमागलाई सक्रिय राख्न चेस, क्यारम, लुडो खेल्ने, पढ्ने, हिसाब गर्ने, नयाँ सीप सिक्ने र साथीभाइसँग कुराकानी गर्ने गतिविधि उपयोगी हुन सक्छन् । तर, यस्ता गतिविधिले अल्जाइमर्स रोग लाग्दैन भन्ने सुनिश्चित गर्दैनन् । रोगको जोखिम कम गर्न शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सँगसँगै ध्यान दिनुपर्छ ।
सरकारले अल्जाइमर्सका बिरामीलाई सहज बनाउन कस्ता कार्यक्रम ल्याउनुपर्छ ?
सरकारले रेडियो, टेलिभिजन, विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबाट अल्जाइमर्स तथा डिमेन्सियासम्बन्धी जनचेतना फैलाउनुपर्छ । प्राथमिक स्वास्थ्य सेवामै स्मरणशक्तिसम्बन्धी समस्या पहिचान गर्ने व्यवस्था, आवश्यक परीक्षण र विशेषज्ञ सेवामा पहुँच विस्तार गर्नुपर्छ । बिरामीको हेरचाह गर्ने परिवारका सदस्यलाई पनि परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्छ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ ले पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगेका व्यक्तिको अनुभव सुन्ने र उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने कुरामा जोड दिएको छ । अल्जाइमर्सका बिरामीका हकमा पनि उनीहरूको सम्मान, इच्छा, सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । जनचेतना, सहज स्वास्थ्य सेवा र समुदायमा आधारित हेरचाहलाई प्राथमिकता दिन सके बिरामी र परिवारको कठिनाइ कम गर्न सकिन्छ ।
अन्त्यमा, अल्जाइमर्स रोग भएका व्यक्तिका परिवार र समाजलाई के भन्न चाहनुहुन्छ ?
बिर्सिने समस्या भएका व्यक्तिलाई कमजोर, लापरवाह वा असामान्य भनेर हेर्नु हुँदैन । उनीहरूलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार छ । स्मरणशक्ति घट्दैमा व्यक्तिको भावना, आत्मसम्मान र सामाजिक सम्बन्धको महत्व हराउँदैन । परिवारले दैनिक कामको तालिका बनाइदिने, घरमा सुरक्षित वातावरण तयार गर्ने, औषधि सेवनमा सहयोग गर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने गर्नुपर्छ । समाजका सबै मानिसले यस्ता बिरामीप्रति संवेदनशील व्यवहार गर्न आवश्यक छ । परिवार, स्वास्थ्यकर्मी, प्रहरी, यातायात व्यवसायी, पसले र स्थानीय समुदायबीच सहकार्य भएमा बिरामीलाई सुरक्षित राख्न सकिन्छ । विश्व मानसिक स्वास्थ्य दिवसको सन्देशलाई व्यवहारमा उतार्दै बिरामीका अनुभव सुन्ने, उनीहरूको आवश्यकता बुझ्ने र सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ । अल्जाइमर्सका बिरामीको पहिलो सुरक्षा उनीहरूको परिवार र समाज नै हो । जनचेतना, माया, धैर्य र सामूहिक सहयोगबाट उनीहरूको जीवनलाई थप सहज, सुरक्षित र सम्मानजनक बनाउन सकिन्छ ।