माइक्रोसफ्टका विभिन्न सेवा अवरुद्ध हुँदा विश्वभरका करोडौँ प्रयोगकर्ता प्रभावित भएका छन् । आउटलुक इमेल, माइक्रोसफ्ट टिम्स, सेयरपोइन्ट, माइक्रोसफ्ट ३६५ तथा कोपाइलट एआईलगायतका सेवा प्रभावित भएपछि कार्यालय, विद्यालय तथा व्यवसायको नियमित कामकाजमा समस्या उत्पन्न भएको छ ।
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा बिहीबार दिउँसोदेखि सुरु भएको प्राविधिक समस्याले क्रमशः विश्वव्यापी रूप लिएको हो । शुक्रबार बिहानसम्म पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको थिएन । नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजेसम्म पनि विश्वका विभिन्न स्थानमा प्रयोगकर्ताले माइक्रोसफ्टका सेवामा अवरोध भोगिरहेका थिए ।
सेवा अवरुद्ध भएपछि अमेरिकाका केही कार्यालयका कर्मचारी काम छाडेर घर फर्किएका थिए । कतिपयले इमेल सेवा बन्द भएको अवस्थालाई सप्ताहन्त चाँडै सुरु भएको भन्दै सामाजिक सञ्जालमा रमाइलोका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, केही कार्यालयले स्ल्याक, टेलिफोन तथा प्रत्यक्ष भेटघाटमार्फत काम सञ्चालन गर्ने प्रयास गरेका थिए ।
अस्ट्रेलियामा भने शुक्रबार बिहानैदेखि यसको प्रभाव देखिएको थियो । व्यवसायहरूले बिल तथा इनभ्वाइस प्रिन्ट गर्न नसक्दा समस्या भएको थियो भने केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेनन् । इमेल सेवा अवरुद्ध भएपछि विद्यालयहरूले विद्यार्थी अनुपस्थित हुने जानकारी फोनमार्फत गराउन अभिभावकलाई आग्रह गरेका थिए ।
अस्ट्रेलियाको राष्ट्रिय प्रसारक एबीसीका अनुसार अनलाइन बैठकमा सहभागी हुन नसक्दा केही व्यक्तिले रोजगारीका लागि तय भएका अन्तर्वार्तासमेत गुमाएका थिए । त्यस्तै, सुपरमार्केटमा सामान आपूर्ति गर्ने वितरण केन्द्रहरूमा पनि समस्या देखिएको थियो । अदालतका प्रत्यक्ष प्रसारण सेवासमेत प्रभावित भएका थिए ।
सेवा अवरुद्ध भएपछि साना व्यवसायदेखि स्थानीय सरकारसम्मले वैकल्पिक सञ्चार माध्यम प्रयोग गर्नुपरेको थियो । कतिपय स्थानीय निकायले इमेलको सट्टा टेलिफोनमार्फत सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेका थिए ।
माइक्रोसफ्टले समस्या समाधानका लागि प्रभावित पूर्वाधार पुनः सञ्चालन गर्ने र सर्भरको उपलब्धता क्रमशः सुधार गर्ने प्रयास भइरहेको जनाएको थियो । कम्पनीले शुक्रबार बिहान १ः५९ बजे जीएमटीमा जारी गरेको सूचनामा प्रभावित पूर्वाधार पुनः सुरु गर्ने प्रयासबाट सकारात्मक नतिजा देखिएको उल्लेख गरेको थियो ।
तर, त्यसको केही समयपछि कम्पनीले सेवा सुधारका लागि लागू गरिएका परिवर्तन अपेक्षाअनुसार प्रभावकारी नभएको जनाएको थियो । निरन्तर बढिरहेको ट्राफिक व्यवस्थापनको असन्तुलनलाई सम्बोधन गर्न थप वैकल्पिक उपाय खोजिरहेको पनि माइक्रोसफ्टले उल्लेख गरेको थियो ।
माइक्रोसफ्टका अनुसार पुनः सञ्चालनमा ल्याइएका केही सर्भरमा प्रयोगकर्ताको चाप बढेपछि फेरि समस्या देखिने गरेको थियो । यसले सेवा पुनःस्थापना गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।
आउटेजसम्बन्धी विवरण सार्वजनिक गर्ने वेबसाइट डाउनडिटेक्टरमा आउटलुक सेवा अवरुद्ध भएको भन्दै एक लाख ३० हजारसम्म रिपोर्ट दर्ता भएका थिए । यद्यपि, वास्तविक प्रभावित प्रयोगकर्ताको सङ्ख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।
माइक्रोसफ्टले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स र सेवा स्वास्थ्यसम्बन्धी वेबसाइटमार्फत समस्याको अवस्थाबारे जानकारी दिँदै आएको थियो । तर, लामो समयसम्म सेवा पूर्ण रूपमा सञ्चालनमा नआउँदा विश्वभरका प्रयोगकर्ता प्रभावित बनेका थिए ।