प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई दुई देशबीचको ऐतिहासिक, राजनीतिक, कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । नेपाल र भारतबीच भौगोलिक निकटता, खुला सीमा, धार्मिक तथा सांस्कृतिक समानता र गहिरो आर्थिक अन्तरनिर्भरताका कारण विशेष सम्बन्ध रहँदै आएको छ । लामो समयदेखिको घनिष्ठ सम्बन्धका बाबजुद व्यापार, पारवहन, लगानी, सीमावर्ती पूर्वाधार, नागरिक आवागमन तथा अन्य आर्थिक गतिविधिमा विभिन्न समस्या र चुनौती कायम छन् । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणबाट यी समस्याको समाधान खोजिनुका साथै द्विपक्षीय सहकार्यलाई परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । विशेषगरी मधेश तथा सीमावर्ती क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता र शिक्षाविद्हरूले यस भ्रमणलाई आर्थिक समृद्धि, व्यापार विस्तार र क्षेत्रीय सहकार्यको नयाँ सम्भावना खोल्ने अवसरका रूपमा लिएका छन् । उनीहरूले नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोध हटाउने, नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच उपलब्ध गराउने, भन्सार प्रक्रियालाई सरल बनाउने तथा गैरभन्सार अवरोध र अनावश्यक शुल्कको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, भारतबाट नेपालमा हुने अनौपचारिक व्यापार नियन्त्रण गरी औपचारिक व्यापारलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको धारणा छ । वीरगञ्ज–रक्सौल नाकाको स्तरोन्नति, एकीकृत भन्सार जाँच चौकीको प्रभावकारी सञ्चालन तथा सीमावर्ती व्यापारिक पूर्वाधारको आधुनिकीकरणलाई पनि प्राथमिकतामा राख्नुपर्ने अपेक्षा गरिएको छ ।
ऊर्जा तथा पारवहन क्षेत्रको विकास पनि भ्रमणका महत्वपूर्ण एजेन्डा बन्नुपर्ने सरोकारवालाहरूको भनाइ छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, मोतिहारीदेखि सर्लाहीसम्म एलपीजी ग्यास पाइपलाइन निर्माण गर्ने तथा ग्यास भण्डारण र बोटलिङ पूर्वाधार विकास गर्ने विषयले नेपालको ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान दिन सक्ने उनीहरूको विश्वास छ । यसका साथै भारतीय बन्दरगाहको प्रयोग सहज बनाउने, रेल सञ्जाल विस्तार गर्ने र नेपाली मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई भारतमा सहज प्रवेशको व्यवस्था मिलाउने विषयमा पनि ठोस सहमति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । नेपालमा जलविद्युत्, पर्यटन, स्वास्थ्य, कृषि, उत्पादनमूलक उद्योग तथा पूर्वाधारका क्षेत्रमा भारतीय लगानी भित्र्याउने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ । लगानीमैत्री नीति, प्रक्रियागत सहजता र प्रभावकारी सहकार्यले रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा छ । सीमावर्ती नागरिकको सहज आवागमन, स्वास्थ्य उपचार, शिक्षा, वित्तीय कारोबार तथा वातावरणीय प्रदूषण नियन्त्रणका विषयलाई समेत द्विपक्षीय छलफलमा समेट्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसैगरी नेपाल–भारत सम्बन्धलाई परम्परागत व्यापार र पूर्वाधार सहकार्यमा मात्र सीमित नराखी शिक्षा, अनुसन्धान, प्रविधि, नवप्रवर्तन तथा युवा उद्यमशीलतासम्म विस्तार गर्नुपर्ने धारणा पनि अघि सारिएको छ । विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा निजीक्षेत्रबीच सहकार्य विस्तार गरी ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्न सकिने सम्भावना रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाट, आश्वासन र सम्झौतामा मात्र सीमित नराखी कार्यान्वयनयोग्य निर्णय तथा ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने सरोकारवालाहरूको साझा अपेक्षा छ । उनीहरूका अनुसार दुई देशबीचको सम्बन्धको वास्तविक सफलता सम्झौताको संख्याले होइन, त्यसबाट उद्योगी, व्यवसायी, किसान, युवा, श्रमिक र सर्वसाधारण नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनले मापन हुनुपर्छ । आपसी सम्मान, समानता र पारस्परिक लाभका आधारमा आर्थिक तथा सामाजिक सहकार्य विस्तार हुन सके नेपाल–भारत सम्बन्धले नयाँ उचाइ हासिल गर्न सक्नेछ । प्रस्तुत छ, सरोकारका पक्षसँग गरिएको कुराकानीको सार ः
आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनु पर्दछ
नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सहज, व्यवस्थित र पारस्परिक लाभदायक बनाउनुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी नेपालबाट भारततर्फ हुने निर्यातमा विभिन्न किसिमका अवरोध र झन्झट रहेको भन्दै त्यसलाई हटाउनुपर्ने अवस्था छ । नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोध हटाउनुका साथै भारतबाट नेपालमा हुने अनौपचारिक व्यापार नियन्त्रण गर्न आवश्यक छ । गार्मेन्ट, अटोमोबाइल क्षेत्र, ड्राइफ्रुट्स, मसला तथा खाद्यान्नजस्ता वस्तुको अवैध कारोबार रोक्न सके दुवै देशको औपचारिक व्यापारलाई प्रोत्साहन मिल्ने छ । यसअघि लाइटर, पपकर्न, खजुर र पहेँलो केराउजस्ता वस्तुको अनौपचारिक आयात नियन्त्रण गर्न दबाब दिएर रोक्ने प्रयास गरिएको थियो । यस्ता वस्तुमा पनि प्रभावकारी निगरानी र नियमन आवश्यक रहेको छ । त्यस्तै, भारतबाट नेपाल हुँदै चीनसम्म रेल सञ्जाल विस्तार गर्न सके तीनवटै देशका लागि ठूलो आर्थिक अवसर सिर्जना हुन सक्ने देखिन्छ । रेलमार्गको विकासले व्यापार, पारवहन, पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलाई नयाँ उचाइमा पु¥याउन सक्ने सम्भावना रहेको छ ।
नेपालको वैदेशिक व्यापार विस्तारका लागि भारतीय बन्दरगाहको पहुँच पनि महत्वपूर्ण विषय हो । विशाखापट्टनम बन्दरगाहलाई नेपालका लागि बल्क कार्गो अर्थात् ठूलो परिमाणका मालसामान ढुवानी गर्न खुला गर्नु पर्दछ । त्यसैगरी, भारतकै ओडिसास्थित धामरा बन्दरगाहलाई पनि नेपालले प्रयोग गर्न पाउने व्यवस्था गर्न सके आयात–निर्यात लागत घटाउन र व्यापारलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने देखिन्छ । नेपालमा भारतीय लगानीको सम्भावना पनि निकै ठूलो रहेको छ । विशेषगरी आतिथ्य तथा पर्यटन, जलविद्युत् र स्वास्थ्य क्षेत्रमा भारतीय लगानी भित्र्याउन सके रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक समृद्धिमा योगदान पुग्न सक्छ । यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्पष्टता र दुई देशबीच प्रभावकारी सहकार्य आवश्यक छ । यसका साथै आम नागरिकले सहज रूपमा फोन बैंकिङमार्फत नेपालबाट भारत र भारतबाट नेपाल पैसा पठाउन तथा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि छ । यसले सीमावर्ती क्षेत्रका सर्वसाधारण, साना व्यवसायी, विद्यार्थी तथा रोजगारीका लागि आवतजावत गर्ने नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउन सक्छ । दुई देशबीचको मोटर सवारी सम्झौतामा पनि समयानुकूल संशोधन गर्नुपर्दछ । सवारी आवागमनलाई सहज, व्यवस्थित र व्यावसायिक रूपमा उपयोगी बनाउन सम्झौतालाई थप प्रभावकारी बनाउनु पर्दछ । नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन व्यापारिक अवरोध हटाउने, अनौपचारिक व्यापार नियन्त्रण गर्ने, पारवहन सुविधा विस्तार गर्ने, लगानी आकर्षित गर्ने र नागरिकस्तरको वित्तीय पहुँच सहज बनाउने विषयमा दुवै देशले ठोस पहल गर्न आवश्यक देखिन्छ ।
ग्यास भण्डारण र नेपाली सवारीलाई सहज प्रवेश
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, व्यापार, पारवहन तथा पूर्वाधार विकाससँग सम्बन्धित महत्वपूर्ण विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । विशेषगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र भारतको मोतिहारीदेखि नेपालको सर्लाहीसम्म एलपीजी ग्यास पाइपलाइन निर्माण गर्ने प्रस्तावले नेपालको ऊर्जा सुरक्षामा नयाँ सम्भावना खोल्न सक्छ । सर्लाहीमा निर्माण गर्ने प्रस्ताव गरिएको ग्यास भण्डारण परियोजना यस क्षेत्रका लागि मात्र नभई समग्र देशको ऊर्जा आपूर्ति प्रणालीसँग जोडिएको महत्वपूर्ण योजना हो । नेपाल आयल निगमको स्वामित्वमा रहेको १४ बिघा जग्गामा १५ हजार टन क्षमताका तीनवटा ठूला ग्यास भण्डारण ट्याङ्की निर्माण गर्ने प्रस्ताव छ । एकैपटक आठवटा ग्यास बुलेटमा ग्यास भर्ने तथा खाली गर्ने सुविधा भएको आधुनिक टर्मिनल र दैनिक १५ हजार सिलिन्डर रिफिल गर्न सक्ने बोटलिङ प्लान्ट स्थापना गर्ने योजना अघि सारिएको छ । नेपालमा ग्यास आयातका लागि आफ्नै बुलेट नहुँदा भारतीय सवारीसाधनमा निर्भर रहनुपर्ने अवस्था छ । ढुवानी शुल्कबापत मात्रै वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ । यस्तो अवस्थामा आफ्नै भण्डारण, बोटलिङ र ढुवानी प्रणाली विकास गर्न सके आपूर्ति व्यवस्थापन सहज हुनुका साथै आपत्कालीन अवस्थामा पनि ग्यास अभाव कम गर्न मद्दत पुग्न सक्छ ।
तर, नेपाल–भारत सम्बन्धमा ऊर्जा र पूर्वाधार विकाससँगै अर्को महत्वपूर्ण विषय पनि उठाउन आवश्यक छ, दुई देशका नागरिक र सवारीसाधनको आवागमनमा समानता । हाल भारतीय मालवाहक तथा यात्रुवाहक सवारीसाधन निश्चित प्रक्रिया र शुल्क पूरा गरेर नेपाल प्रवेश गर्न सक्छन् । तर, नेपाली मालवाहक तथा यात्रुवाहक गाडी भारत जाँदा बैंक ग्यारेन्टी, भारतीय दूतावाससम्बन्धी प्रक्रिया र महँगो परमिट शुल्कजस्ता झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको गुनासो नेपाली व्यवसायी तथा सवारीधनीहरूको छ । नेपाल र भारतबीच खुला सीमाना, ऐतिहासिक सम्बन्ध, धार्मिक तथा सांस्कृतिक निकटता र गहिरो आर्थिक साझेदारी छ । यस्तो सम्बन्धमा सवारी आवागमनसम्बन्धी व्यवस्था पनि पारस्परिक सुविधा र समानताको सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने नेपाली पक्षको अपेक्षा छ । प्रधानमन्त्रीको भारत भ्रमण केवल ठूला परियोजनामा सम्झौता गर्ने अवसरमात्र नभई दुवै देशका जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्ने अवसर पनि बन्नुपर्छ । ग्यास पाइपलाइन, भण्डारण केन्द्र, सडक तथा व्यापारिक पूर्वाधारसँगै नेपाली सवारीसाधनलाई भारतमा सहज प्रवेश, उचित शुल्क र सरल परमिट प्रणालीको व्यवस्था गर्न दुवै सरकारबीच ठोस पहल आवश्यक छ । नेपाल र भारतबीच हुने हरेक सम्झौता दुवै देशका नागरिक, व्यवसायी, किसान, श्रमिक र उपभोक्ताका लागि लाभदायक हुनुपर्छ । विकासको साझेदारी केवल पूर्वाधार निर्माणमा सीमित नभई अवसर, सुविधा र अधिकारको पारस्परिक सम्मानमा पनि देखिनुपर्छ । यही अपेक्षा सीमावर्ती क्षेत्रका बासिन्दादेखि समग्र नेपाली जनताको हो ।
व्यापारिक सम्बन्धमा ठोस उपलब्धिको अपेक्षा
प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हामीले लिएका छौँ । दुई देशबीच राजनीतिक तथा कूटनीतिक सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहे पनि आर्थिक तथा व्यापारिक क्षेत्रमा अझै थुप्रै समस्या र चुनौतीहरू विद्यमान छन् । त्यसैले यस भ्रमणबाट ती समस्याहरूको समाधानका लागि ठोस पहल र उपलब्धि हासिल हुने हाम्रो अपेक्षा छ । विशेषगरी नेपाल र भारतबीचको व्यापार सहजीकरण, पारवहन सुविधा विस्तार, भन्सार प्रक्रियाको सरलीकरण तथा सीमावर्ती पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखिनुपर्छ । नेपाली उद्योगी तथा व्यवसायीले भारतसँगको व्यापारका क्रममा भोग्दै आएका प्रक्रियागत झन्झट, ढिलासुस्ती र अतिरिक्त लागत न्यूनीकरण गर्न दुवै देशका सरकारबीच प्रभावकारी सहमति हुनु आवश्यक छ । यसले दुई देशबीचको व्यापारिक कारोबारलाई सहज बनाउनुका साथै नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता पनि बढाउनेछ । अर्कोतर्फ, नेपाली उद्योग तथा व्यवसायमा भारतीय लगानी अभिवृद्धि गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । नेपालमा जलविद्युत्, कृषि, पर्यटन, उत्पादनमूलक उद्योग तथा पूर्वाधारका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ। भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्न सकेमा उद्योग विस्तार, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न सक्छ । भारतमा निर्यात गर्दै आएका नेपाली उद्योगहरूले ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स सर्टिफिकेट प्राप्त गर्ने तथा नवीकरण गर्ने क्रममा भोग्दै आएका ढिलाइ र प्रक्रियागत अप्ठ्याराहरूको समाधानका लागि पनि प्रधानमन्त्रीस्तरबाट विशेष पहल हुनुपर्छ । यस्ता समस्याका कारण नेपाली उद्योगीहरूले अनावश्यक आर्थिक भार र व्यापारिक अनिश्चितता व्यहोर्नुपरेको छ । यसको दीर्घकालीन समाधान खोजिनु आवश्यक छ ।
नेपालको वैदेशिक व्यापारको महत्वपूर्ण प्रवेशद्वार वीरगञ्ज र रक्सौल क्षेत्र भएकाले यस क्षेत्रका उद्योगी तथा व्यवसायीका समस्या र सम्भावनालाई पनि उच्चस्तरीय छलफलमा प्राथमिकता दिनुपर्छ । वीरगञ्ज–रक्सौल नाका, एकीकृत भन्सार जाँच चौकी, सीमावर्ती सडक तथा अन्य व्यापारिक पूर्वाधारको स्तरोन्नति र आधुनिकीकरणमा विशेष ध्यान दिन आवश्यक छ। लामो समयदेखि रहेका पूर्वाधार तथा व्यापारिक समस्याको समाधानसँगै निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने वातावरण पनि निर्माण हुनुपर्छ ।
यसका अतिरिक्त, नेपालबाट भारततर्फ निर्यात भइरहेका विभिन्न वस्तुमा लगाइएका एन्टिडम्पिङ शुल्क, विशेष शुल्क तथा अन्य गैरभन्सार अवरोधका विषयमा पनि गम्भीर छलफल र समाधानको पहल हुनुपर्ने हाम्रो अपेक्षा छ । नेपाली उत्पादनले भारतीय बजारमा सहज र प्रतिस्पर्धी रूपमा पहुँच पाउने वातावरण सुनिश्चित गरिनुपर्छ । समग्रमा, प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित हुनुहुँदैन । यसले दुई देशबीचको आर्थिक सहकार्य विस्तार, व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको निर्यात प्रवद्र्धन, लगानी अभिवृद्धि र रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान पु¥याउन सक्नुपर्छ । हाम्रा वर्षौँदेखिका समस्या समाधान गर्दै निज क्षेत्रले अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल भएमा मात्रै यो भ्रमण आर्थिक तथा व्यापारिक सम्बन्धका दृष्टिले ऐतिहासिक र कोशेढुङ्गा साबित हुनेछ भन्ने हाम्रो विश्वास छ ।
आश्वासनमा सीमित हुनु हुँदैन
प्रधानमन्त्रीको भारत भ्रमणलाई केवल औपचारिक भेटघाट, कूटनीतिक समारोह र आश्वासनमा सीमित राख्नु हुँदैन । यो भ्रमण नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण अवसर बन्नुपर्छ । दुई देशबीचको सम्बन्धको वास्तविक सफलता नागरिकले प्राप्त गर्ने सुविधा, आर्थिक लाभ र विकासका अवसरबाट मापन हुनुपर्छ । नेपालको कृषि उत्पादनले भारतीय बजारमा सहज र प्रतिस्पर्धात्मक पहुँच पाउनुपर्छ । नेपाली किसानले उत्पादन गरेको धान, गहुँ, तरकारी, फलफूल तथा अन्य कृषि उपजको निर्यातमा देखिएका अवरोध हटाउन प्रधानमन्त्रीले विशेष पहल गर्नुपर्छ । त्यस्तै, बढ्दो व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात विस्तार, उद्योग स्थापना र भारतीय लगानी आकर्षित गर्ने विषय भ्रमणको प्राथमिकतामा पर्नुपर्छ । नेपालमा उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाउन सक्ने ठोस सम्झौता आवश्यक छ । विशेषगरी मधेशका नागरिकका लागि भारतसँगको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, दैनिक जीवनसँग जोडिएको विषय हो । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको आवागमन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार र सुरक्षासँग सम्बन्धित अनेकौँ समस्या छन् । कहिलेकाहीँ सामान्य आवतजावतदेखि व्यापारिक गतिविधिसम्म अनावश्यक कठिनाइ भोग्नुपर्ने अवस्था छ । त्यसैले सीमावर्ती नागरिकका समस्यालाई प्रधानमन्त्रीले भारत सरकारसमक्ष गम्भीरतापूर्वक उठाउनुपर्छ । सीमा दुवै देशका नागरिकका लागि अवरोध होइन, सहकार्य, सहजता र समृद्धिको माध्यम बन्नुपर्छ । त्यसैगरी, सीमावर्ती पूर्वाधारको विकास, सडक सञ्जालको विस्तार, एकीकृत जाँच चौकीको प्रभावकारी सञ्चालन तथा व्यापारिक नाकाको स्तरोन्नतिमा जोड दिन आवश्यक छ । यसले स्थानीय व्यापारलाई गति दिनुका साथै नेपाली युवाका लागि रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्छ ।
अर्को महत्वपूर्ण विषय वातावरणीय प्रदूषण हो । नेपाल र भारतबीचको सीमावर्ती क्षेत्रमा नदी प्रदूषण, औद्योगिक फोहोर, प्लास्टिकजन्य फोहोर, वायु प्रदूषण तथा जलस्रोतको गुणस्तरमा देखिएका समस्याले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेका छन् । यी समस्या कुनै एक देशको प्रयासबाट मात्रै समाधान सम्भव छैन । त्यसैले दुवै देशबीच संयुक्त अनुगमन, प्रदूषण नियन्त्रण, प्रविधि हस्तान्तरण र प्रभावकारी कार्यान्वयनका लागि ठोस सहमति हुनुपर्छ । स्वच्छ पानी, स्वच्छ हावा र स्वस्थ वातावरण नागरिकको आधारभूत अधिकार हो । नेपालले भारतसँगको मित्रता र सहकार्यलाई उच्च महत्व दिँदै आफ्नो सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र समानताको आधारमा राष्ट्रिय हितका विषयमा स्पष्ट तथा दृढ धारणा राख्नुपर्छ । आपसी सम्मान र विश्वास नै दुई देशबीचको सम्बन्धको बलियो आधार बन्नुपर्छ । प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि कति बैठक भए, कति सम्झौतामा हस्ताक्षर भए वा कति भाषण गरिए भन्ने आधारमा होइन, ती सम्झौताले जनताको जीवनमा कस्तो परिवर्तन ल्याए भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्छ । यो भ्रमणले कृषि, व्यापार, ऊर्जा, रोजगारी, सीमावर्ती नागरिकको सहजता र वातावरण संरक्षणमा देखिने उपलब्धि हासिल गरोस् । कूटनीति कागजमा मात्र होइन, जनताको जीवनमा अनुभूत होस्। विकाससँगै स्वच्छ वातावरण, आर्थिक समृद्धि र सम्मानपूर्ण छिमेकी सम्बन्धको आधार निर्माण होस् ।
युवा उद्यमशीलता तथा इन्क्युबेसन इकोसिस्टम अपेक्षित
प्रधानमन्त्रीको भारत भ्रमणलाई मैले दुई देशबीचको परम्परागत कूटनीतिक सम्बन्ध, राजनीतिक संवाद र आर्थिक सहकार्यको निरन्तरताका रूपमा मात्र हेरेको छैन । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई शिक्षा, ज्ञान, नवप्रवर्तन, प्रविधि र युवा उद्यमशीलतामा आधारित रणनीतिक साझेदारीको नयाँ चरणमा पु¥याउन सक्नुपर्छ भन्ने मेरो अपेक्षा छ । नेपाल–भारत सम्बन्धमा व्यापार, पारवहन, सीमा व्यवस्थापन, ऊर्जा र पूर्वाधारका विषय जति महत्वपूर्ण छन्, त्यति नै महत्त्वपूर्ण मानव पूँजी विकास र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण पनि हो। त्यसैले वातावरण संरक्षण, सीमापार व्यापार सहजीकरण, साना तथा मझौला उद्योगका उत्पादनको सहज आयात–निर्यातजस्ता विषयसँगै शिक्षा र उद्यमशीलतालाई पनि प्रधानमन्त्रीको भ्रमणको प्राथमिकतामा राखिनुपर्छ । मेरो पहिलो अपेक्षा नेपाल–भारत ज्ञान तथा नवप्रवर्तन साझेदारी स्थापना हो । दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्था, प्रविधि केन्द्र र निजीक्षेत्रलाई एउटै सहकार्यको संयन्त्रमा जोड्न सके संयुक्त अनुसन्धान, प्रविधि विकास, ज्ञान हस्तान्तरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सकिन्छ।
यसले नेपाली शैक्षिक संस्थालाई अन्तर्राष्ट्रिय अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउनेछ । विश्वविद्यालयलाई उद्यमशील अर्थतन्त्रको आधार बनाउनुपर्छ । उच्च शिक्षालाई केवल प्रमाणपत्र र जनशक्ति उत्पादनमा सीमित नराखी विश्वविद्यालयमा भएका अनुसन्धान, विद्यार्थीका नवीन सोच र बजारको आवश्यकताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न आवश्यक छ । भारतसँगको सहकार्यमा विश्वविद्यालयमा उद्यमशीलता केन्द्र, स्टार्टअप ल्याब र प्रविधि हस्तान्तरण संयन्त्र विकास गर्न सकिन्छ । यसले युवालाई रोजगारी खोज्नेमात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउन मद्दत गर्नेछ ।
नेपाल–भारत स्टार्टअप तथा इन्क्युबेसन एलायन्स निर्माण गर्नुपर्छ । दुवै देशका इन्क्युबेसन सेन्टर, विश्वविद्यालयमा आधारित स्टार्टअप केन्द्र, लगानीकर्ता र उद्योगबीच औपचारिक सञ्जाल स्थापना गरी संयुक्त इन्क्युबेसन, प्रविधि प्रमाणीकरण, लगानी पहुँच र बजार विस्तारका अवसर सिर्जना गर्न सकिन्छ । सहकार्यलाई भ्रमण र अनुभव आदानप्रदानमा मात्र सीमित नराखी स्टार्टअपको व्यावसायिक विकास र स्तरोन्नतिसम्म पु¥याउनु आवश्यक छ । युवा उद्यमशीलताका लागि साझा लगानी तथा नवप्रवर्तन वित्तको व्यवस्था हुनुपर्छ । नेपालका प्रारम्भिक चरणका स्टार्टअपले भोगिरहेको पुँजी अभावलाई सम्बोधन गर्न नेपाल–भारत सहकार्यमा स्टार्टअप फन्ड, सिड क्यापिटल, नवप्रवर्तन अनुदान र सीमापार भेन्चर इन्भेस्टमेन्टका संयन्त्र विकास गर्न सकिन्छ । यसमा बैंक, निजी क्षेत्र, विकास साझेदार र शैक्षिक संस्थाको भूमिका स्पष्ट हुनुपर्छ । मधेश प्रदेशलाई सीमापार शैक्षिक तथा उद्यमशीलता केन्द्रका रूपमा विकास गर्ने अवसरलाई उपयोग गर्नुपर्छ । वीरगञ्जलगायतका औद्योगिक तथा शैक्षिक केन्द्रलाई भारतीय विश्वविद्यालय, उद्योग र स्टार्टअप इकोसिस्टमसँग जोडेर क्रस–बोर्डर शिक्षा, नवप्रवर्तन र उद्यमशीलता करिडोर निर्माण गर्न सकिन्छ। यसले मधेशको आर्थिक सम्भावना विस्तार गर्नुका साथै सीमावर्ती क्षेत्रलाई आर्थिक तथा ज्ञान आदानप्रदानको केन्द्र बनाउन सक्छ । प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि सम्झौतापत्रको संख्या र घोषणामा मात्र मापन हुनुहुँदैन । त्यसको वास्तविक सफलता नेपाली युवाले नयाँ ज्ञान, प्रविधि, लगानी, अनुसन्धान र बजारमा कति पहुँच पाए भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । नेपालले भारतसँग अवसर माग्नेमात्र होइन, आफ्ना युवा प्रतिभा, विश्वविद्यालय र उद्यमशील सम्भावनालाई क्षेत्रीय नवप्रवर्तन अर्थतन्त्रसँग जोड्ने रणनीति लिनुपर्छ । नेपाल–भारत सम्बन्ध अब परम्परागत सहयोगबाट अघि बढेर साझा ज्ञान, साझा नवप्रवर्तन र साझा समृद्धिको साझेदारी बनोस् ।
प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३ १४:५५