वीरगञ्ज महानगरपालिका–५ कुम्हालटोलकी पारुल श्री भविष्यमा सर्जन डाक्टर बन्ने लक्ष्यका साथ अध्ययन गरिरहेकी छन् । स्थानीय मुनलाइट अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत पारुल पढाईमा रुचि राख्ने र मिलनसार स्वभावकी विद्यार्थी हुन् ।
सचिन सिंह र माला सिंहकी जेठी सन्तान पारुलका एक भाइ छन् । उनका बुबा ब्लड टेक्नोलोजिस्ट हुन् भने आमा गृहिणी । भाइ पनि सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् ।
खेलकुदभन्दा पढाईमा बढी रुची राख्ने पारुल विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी हुन्छिन् । उनी विशेषगरी ब्याडमिन्टन र निबन्ध प्रतियोगितामा सहभागी हुने गर्छिन् । गणित उनको मनपर्ने विषय हो भने स्वास्थ्य विषय केही गाह्रो लाग्ने उनी बताउँछिन् ।
पढाईसँगै घरायसी काममा आमालाई सघाउनु पनि पारुलको नियमित बानी हो । घरमा बनेका परिकारमध्ये दाल र रोटी उनलाई विशेष मन पर्छ । तर, करेलाको तरकारी भने उनलाई मन पर्दैन । फुर्सदमा उनी पढ्ने, खेल्ने, टेलिभिजन हेर्ने र मनोरञ्जन गर्ने गर्छिन् ।
सहयोगी भावना भएकी पारुल भविष्यमा चिकित्सा क्षेत्रमा काम गर्न चाहन्छिन् । विशेषगरी सर्जन डाक्टर बन्ने उनको लक्ष्य छ । ‘मेरो रहर डाक्टर बन्ने हो । आमा–बुबा पनि मेरो यो चाहनामा सहमत हुनुहुन्छ,’ उनले भनिन् ।
पारुलकी मिल्ने साथी दिव्या सर्राफ हुन् । उनीहरू एकअर्कासँग कुरा साटासाट गर्ने र आवश्यक पर्दा सहयोग गर्ने गर्छन् । विद्यालयमा सरल र रमाइलो ढंगले बुझाएर पढाउने आरती म्याम उनको मनपर्ने शिक्षकमध्ये एक हुन् ।
विद्यालयका शिक्षकहरूका अनुसार पारुल पढाईमा राम्रो हुनुका साथै साथीहरूसँग मिलेर बस्ने र विद्यालयका गतिविधिमा सक्रिय रहने विद्यार्थी हुन् । विद्यालयका प्रधानाध्यापक शुलभ केसीले उनलाई अनुशासित र जेहेन्दार विद्यार्थीका रूपमा वर्णन गरे । उनका अनुसार पारुलको परिवारले पनि छोरीको पढाईप्रति विशेष चासो राख्दै आएको छ ।
पारुलको अध्ययनप्रतिको रुची, अनुशासन र सहयोगी स्वभावले उनलाई भविष्यमा आफूले रोजेको क्षेत्रमा अघि बढ्न सहयोग पुग्ने देखिन्छ । सानै उमेरमा तय गरेको सर्जन डाक्टर बन्ने लक्ष्य पूरा गर्न उनी अहिलेबाटै अध्ययनमा मेहनत गरिरहेकी छन् ।
विद्यालयकी प्रशासन प्रमुख मनिसा केसी पारुलमा आफ्नो लक्ष्यप्रति स्पष्टता रहेको बताउँछिन् । ‘पारुलले अझ केही मेहनत गर्ने हो भने आफ्नो लक्ष्य भेट्न उनलाई खासै कठिनाइ हुँदैन,’ उनले भनिन् ।