प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उनी आज मध्याह्न १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी हुनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।
विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने
भारतीय समयअनुसार आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएका छन्।
विमानस्थलबाट उनी सिधै होटल ताजमहल जानेछन्। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आजका लागि यसबाहेक अन्य औपचारिक भेटघाट तय भएको छैन।
भोलि मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता
भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ। बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। त्यसक्रममा दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुने तयारी छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ः२५ बजे दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।
भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत छ।
सोही दिन अपराह्न ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि अपराह्न ४ः५० बजे उनी दिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै आपसी सहकार्यका विभिन्न क्षेत्रमा नयाँ अवसर विस्तार हुने अपेक्षा गरिएको छ।