सुखके सब साथी, दुःखमे न कोई (सुखको बेला सबै साथी हुन्छन् तर, दुःख पर्दा कोही हुँदैन ।) रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी पहिरीमा आफन्त गुमाएका मधेशका पीडित परिवारहरूलाई दुःख र पीडाको बेला नत कुनै सरकारले सोध्न आएको छ, न त तिनीहरूले निर्वाचित गरेर पठाएका जनप्रतिनीधिहरू नै ।
उमेरले ६१ औं वसन्त पार गरिसकेका शिक्षक हरिनारायण यादवले गत वर्ष पेशाबाट अवकास प्राप्त गरे । उनी शिक्षण पेशामा रह्दा उनले थुप्रै बालबालिकाहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिए । आर्थिक रुपले सम्पन्न नभए पनि शिक्षामात्रै जीवनलाई उज्यालो पार्न सक्छ भन्ने विश्वासका साथ उनले आफ्ना दुई छोराहरूलाई अभाव भोगेर पनि पढाए ।
सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका—१ खुरुरिया निवासी हरिनारायण घरका अन्य आवश्यकताहरूलाई थाति राखेर जेठो छोरा अजय यादवलाई इन्जीनियर बनाउन सफल भए । अब आफ्नो कर्तव्यहरू सकियो र फल पाउने बेला भयो भनेर सन्तुष्ट हुदैं गत वर्ष पेशाबाट समेत अवकास पाएका हरिनारायणको दुनिया रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोसँगै उजाड भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका— ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा प्राविधिकतर्फ कार्यरत इन्जिनियर छोरो अजय बाढीमा बेपत्ता भएदेखि हरिनारायणको सबै सपनाहरू अन्धकार बनेको छ । ‘मैले जीवनमा कसैको केही बिगारिनँ । आफ्ना छोराहरूलाई इमान्दार र परिश्रमी बन्ने शिक्षा दिए । जेनतेन दुःख काटेर छोरालाई पढाए उ सक्षम पनि भयो तर, यो महाविपद्ले सबै बर्बाद पा¥यो । उसका दुई अवोध छोराछोरीहरू छन् । घरमा बुहारी छे म बुढोले अब फेरी उनीहरूलाई कसरी पाल्नु,’ हरिनारायण कुरा गर्दै भक्कानिए, ‘सरकार कहाँ छ । हामीलाई कहिँबाट कसैले कुनै सरकारले सहानुभूतिको दुई शब्द पनि भन्न आएको छैन् । म त यतिमात्रै आशा गर्छु कि कम्तीमा हाम्रो हालखबर त कसैले सोधोस् । कसैले हात त समातोस् ।’
बाढीमा अजय बेपत्ता भएको डेढ महिना जति भइसके पनि हरिनारायणको परिवारको अवस्था बुझ्न न त स्थानीय तहको सरकारले कुनै चासो देखाएको छ नत प्रदेश वा संघले नै । पीडित परिवारमा अन्यको अवस्था के छ ? घरमा चुलो बलेको छ कि छैन ? उनीहरूको आर्थिक अवस्था के छ वा सामान्य सहानुभूति वा सोधखोजको लागि समेत तीन तहकै सरकारमध्ये कसैलाई फुर्सद नहुँनुले पीडितका लागि राज्यविहीनताको अनुभव हुन थालेको अजयका आफन्त र नातामा दाई पर्ने श्यामसुन्दर यादव बताउँछन् । ‘चुनावको बेला जनताको घरदैलोमा गोडा ढोग्दै हिँड्ने जनप्रतिनिधिहरू पनि पीडित परिवारको अवस्थाबारे बुझ्न वा सहानुभूति प्रकट गर्नसम्म आएका छैनन् । पार्टीका नेताहरू समेत पीडित परिवारका लागि चुइँसम्म बोल्न सकेका छैनन्,’ पेशाले सञ्चारकर्मी रहेका यादव भन्छन्, ‘प्रदेश सरकारको त कुरै नगरौं । प्रदेश सरकार पनि छ भन्ने कुरा कुनै पनि पीडित परिवारले अनुभूति गर्न पाएको छैन । आफ्नै गाउँठाउँ वा प्रदेशमा रोजगारी नपाएर देशका विभिन्न प्रदेशमा गएका आफ्ना नागरिक बेपत्ता हुँदा उनीहरूको खोजी तथा उद्धारका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसम्मले न त कुनै पहल गरे नता पीडितको परिवारलाई मल्हम लगाउन अगाडीनै आए ।’
स्थानीय सरकारहरूले समेत आफन्तजन गुमाएका परिवारहरूको विषयमा चासो वा चिन्ता देखाएका छैनन् । ‘हिजोसम्म लाग्थ्यो, हामी एक्लै छैनौं , हाम्रो साथमा धेरै छन् । तर, अब बल्ल बुझ्दैछौं कि विपत्तिको समयमा हामी कति एक्ला रहेछौं ।’
दशैं आयो–गयो तर, तिमि आएनौं
‘यसपाली दशैंमा दुई दिनअगाडिदेखि नै बिदा लिएर घर आउँछु । छोरीसँग मज्जाले खेलेर सँगै रमाईलो गर्नुपर्छ । दशैंमा गाउँ जाने । परिवारसँग दश दिन बिना कुनै काम गरेर रमाइलो गरी बस्ने,’ ३० वर्षीया इन्जिनियर अजयप्रसाद सिंहले आफ्नी श्रीमती पूजालाई भनेका यी शब्दहरू हुन् ।
दशैं त आउन लाग्यो तर, अजय किन फर्केको छैन, पूजा जोकोहीलाई प्रश्न गर्दै बसेकी छिन् । भोटेकोशीको बाढीले अजयलाई सम्पर्कविहीन बनाएदेखि पूजाका लागि चाडवाड र पर्वत्योहारले झनै दुःख र पीडा ल्याउने गरेको छ ।
डोसान हाइड्रोपावरको अप्पर त्रिशूली—१ (२१६ मेगावाट) मा कार्यरत अजय गत भदौ १० गते बुधबारको भीषण बाढीपछि सम्पर्कविहीन भएका हुन् । सोही दिन विहान ८ बजेतिर पूजाको श्रीमान्सँग कुरा भएको थियो । एकवर्षअघि मात्रै वैवाहिक बन्धनमा बाँधिएका अजय र पूजाको दुई महिनाको काखे छोरीसमेत छ ।
‘मेरो सबै खुशी सकियो । मेरो छोरीले अब बुवा भेट्ने छ वा छैन केही थाहा छैन । तर, यस्तो विपद्मा पनि प्रदेश सरकारका कोही कसैले हालचाल सोध्न पनि आएको छैन,’ आँशु र पीडाले मर्माहित हँुद पूजा भन्छिन्, ‘म आफैं स्थानीय पालिकामा कार्यरत भएको हुँदा घटना भएको केही दिनपछि पालिकाका सरहरू आउनुभयो । तर, प्रदेश वा संघ सरकारबाट कोहीले हालखबर सोधेको छैन । यो दुःख मेरोमात्रै हो र म भोग्दै छु । कसैले त मेरो श्रीमान्को बारेमा केही खबर ल्याउँला । केही त पत्तो लाग्ला आशमा बाँचेको छु ।’
मधेश प्रदेशका १६९ बेपत्ता
विनाशकारी बाढीमा सम्पर्कविहीन भएका महोत्तरीको मटिहानी गंगाराम मण्डलको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरे । कुशको प्रतिकात्मक शवलाई १७ वर्षीया छोरा आदित्यराज मण्डलले मुखाग्नी दिए । परिवारले उनको अन्तिम संस्कार गरे पनि अन्तिम पटक उनको मुखसमेत देख्न नपाएको पीडा अकल्पनीय भयो ।
एक महिनाभन्दा बढी समय बित्दासमेत बाढीमा बेपत्ता रौतहटका नेपाली सेनाका जवान अभिषेक गुप्ताको पत्तो नलागेपछि उनको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरियो । मौलापुर नगरपालिका ७ सगैयाका बैधनाथ साह कानुनका २२ वर्षीय छोरा गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालय, रसुवामा जवान पदमा कार्यरत थिए । एक महिनाभन्दा बढी समयसम्म छोराको सकुशल फिर्तीको प्रतिक्षा गरेका परिवारले अन्ततः धार्मिक विधिअनुसार उनलाई अन्तिम बिदाई गरे ।
भोटेकोशीको बाढीपहिरोमा मधेश प्रदेशका आठै जिल्लाबाट १६९ जना सम्पर्कविहिन भएका छन् । बेपत्ता हुनेमा सबैभन्दा बढी सप्तरी जिल्लाबाट ४८ जना, पर्साबाट ४१ जना, बाराका २२ जना, रौतहटका २२ जना, सर्लाहीका २० जना, महोत्तरीका ९ जना, धनुषाका ७ जना र सिरहाका १० जना छन् ।
बाढीपछि सप्तरी र बारा जिल्लाका एकएक जनाको शव फेला परेको थियो । दिन बित्दा जाँदा आफ्ना मान्छे भेटाउने आश पनि झिनो हुन थालेको छ ।
पीडित परिवारसम्म पुग्न सकेन प्रदेश सरकार
बाढी पहिरोले आफन्त गुमाएका परिवारहरू प्रत्येक दिन दुःख, शोक र पीडामा बिताइरहे पनि तिनको दुःखमा मलहम लगाउन प्रदेश सरकारको उपस्थिति देखिएको छैन ।
मधेश प्रदेश सरकारका मन्त्रीमण्डलबाट न त कुनै मन्त्री न त सरकारसँग सम्बद्ध कसैले पीडित परिवारको सोधखोज गर्न गएको पाइएको छ । ‘प्रदेशका सबै जिल्लाबाट व्यक्तिहरू सम्पर्कविहीन हुनुहुन्छ भनेर हामीलाई थाहा छ । हामीले राहतको पनि घोषणा गरेका छौं तर, उहाँहरूको परिवारबाट हामीलाई कसैले खोजेकै छैन । त्यसैले अहिलेसम्म भेट्न गएको छैन्,’ मधेश प्रदेशका गृहमन्त्री फकिरा महतो भन्छन्, ‘उहाँहरूले खोजेको बेला म आफैं पनि उहाँहरूको घरसम्मनै पुग्छु । हामीलाई बोलाउनुभयो भने हामी जान्छौं ।’
‘तीनै तहका सरकार आआफ्ना स्वार्थ पूरा गर्नमा व्यस्त देखिन्छन् । यस विपतको घडीमा मौन रहेका सरकारहरू निकम्मामात्रै नभई निर्लज्ज भन्नमा पनि अतिशयोक्ति नहोला,’ राजविराजका बिष्णु मण्डल भन्छन्, ‘सरकारले यस विषयमा संज्ञान नलिनु आफ्नो कर्तव्यबाट विमुख हुनुझै हो । ’
मधेश प्रदेश सरकारले बाढीबाट प्रभावित मधेश प्रदेशका नागरिकका परिवारलाई राहत दिने र घाइतेलाई प्रदेश सरकार मातहत अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
भोटेकोशी बाढीमा मधेश प्रदेशका मृत्यु भएका नागरिकको परिवार वा कानूनबमोजिमका नजिकका हकवालालाई प्रति मृतक एक लाख रुपैँया पारिवारिक राहत उपलब्ध गराउने निर्णय सरकारको छ ।
बाढीका कारण घाइते भएका प्रदेशका नागरिकलाई मधेश प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने र प्रदेशका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने बताइएको छ ।