बलिउड अभिनेता इमरान खानलाई आगामी अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको छ। अमेरिकी नागरिक तथा ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डधारक इमरानलाई मुम्बईमा भएको राजनीतिक प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर यस्तो निर्देशन दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा सहभागी भएपछि उनी प्रहरीको नियन्त्रणमा परेका थिए। विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले कुमारको राजीनामा माग गरेका थिए।
भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाले विदेशी नागरिक भएर पनि राजनीतिक प्रदर्शनमा सहभागी भएको भन्दै इमरानको नागरिकता तथा प्रदर्शनमा सहभागिताबारे अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका थिए। त्यसपछि उनीविरुद्ध अध्यागमनसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मुम्बई प्रहरीका एक अधिकारीका अनुसार इमरान ओसीआई कार्डका आधारमा भारतमा बस्दै आएका छन्। उनी बलिउड अभिनेता आमिर खानका भान्जा हुन् र मुम्बईको खार क्षेत्रमा बसोबास गर्दै आएका छन्।
प्रदर्शनका क्रममा इमरानले आफू कुनै विशेष माग राख्न नभई नागरिकका रूपमा सहभागी भएको बताएका थिए। आवतजावतको स्वतन्त्रता किन सीमित गरिँदै छ र नागरिकको आवाज किन दबाइँदै छ भन्ने बुझ्न आफू प्रदर्शनमा आएको उनको भनाइ थियो।
उक्त प्रदर्शनका क्रममा इमरानसँगै उनकी प्रेमिका लेखा वासिङ्टन, आमा नुसरत र भतिजी जायन (मारी) सहित करिब ४०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पछि जायनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफू प्रहरीको दुर्व्यवहारमा परेको दाबी गरेकी थिइन्। उनले आफूलाई नियन्त्रणमा लिने क्रममा कुटपिट तथा दुर्व्यवहार गरिएको आरोप लगाउँदै शरीरमा देखिएका चोटका निशानसमेत देखाएकी थिइन्।
विदेशी नागरिकको दर्ता, बसोबास, आवागमन, प्रस्थान तथा भिसा विस्तारसम्बन्धी विषयको नियमन गर्ने निकाय विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) हो। यो भारतको गृह मन्त्रालयअन्तर्गत अध्यागमन ब्युरोसँग सम्बन्धित निकाय हो।