प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा छन्। आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री पद सम्हालेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा रहेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।
आज प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। साथै, प्रधानमन्त्री शाह र मोदीले हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको संयुक्त उद्घाटन गर्ने कार्यसूची रहेको छ।
दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्। परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका ५२ जना प्रतिनिधि पनि आफ्नै खर्चमा भ्रमण टोलीसँगै भारत गएका छन्।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको छ।