पर्साको वीरगन्ज महानगरपालिकासहित बारा र पर्साका चारवटा स्थानीय तहमा एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गरिने भएको छ ।
वीरगन्ज महानगरपालिका, बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकालाई समेटेर नगर बस सेवा सञ्चालन गर्न लागिएको हो ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले आगामी मंसिरभित्र नगर बस सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।
बैठकले सेवा सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गर्नेछन् ।
यसअघि गत कात्तिक १२ गते बसेको बैठकले एकीकृत यातायात सेवा सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो । बिहीबारको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ ।
त्यस्तै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि कार्यदललाई नै दिइएको छ । कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्ने निर्णय भएको छ ।
वीरगन्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य छन् ।
चारवटै पालिकालाई एउटै सार्वजनिक यातायात सञ्जालमा जोड्ने उद्देश्यले अघि बढाइएको यो योजनाले सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ ।
नगर बस सेवा सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने विश्वास गरिएको छ । साथै, निजी सवारीसाधनमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता पनि कम हुने अपेक्षा गरिएको छ ।
बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगन्ज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख किर्तिराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।