तराई मधेशमा विस्तारै चिसो मौसम प्रवेश गर्दै छ । बिहान र साँझको तापक्रम घट्न थालेको छ । बाक्लो हुस्सु, कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने दिन अब धेरै टाढा छैनन् । हरेक वर्ष जाडोयाम सुरु भएसँगै तराई मधेशका विपन्न बस्तीमा चिसोको कहर सुरु हुन्छ । कठ्याङ्ग्रिँदो चिसोमा न्यानो कपडा नभएका बालबालिका, ओढ्ने कम्बल नभएका ज्येष्ठ नागरिक, सुरक्षित आवासविहीन दलित तथा विपन्न परिवार र सडक किनारमा जीवन बिताउन बाध्य नागरिक सबैभन्दा बढी प्रभावित हुन्छन् । चिसो केवल मौसमको परिवर्तन होइन, मधेशका हजारौँ नागरिकका लागि यो जीवन र मृत्युसँग जोडिएको चुनौती हो । यस्तो जोखिम हरेक वर्ष दोहोरिने भए पनि त्यसको सामना गर्न तहगत सरकारको तयारी भने अझै प्रभावकारी रूपमा जमिनमा देखिएको छैन ।
शीतलहर हरेक वर्ष आउँछ भन्ने थाहा हुँदाहुँदै सरकार किन हरेक वर्ष त्यसबाट प्रभावित भएपछि मात्रै ब्युँझिन्छ ? नागरिकले चिसोबाट जोगिन ज्यान जोगाउने संघर्ष गरिरहेका बेला सरकार किन पूर्वतयारीको सट्टा राहत वितरणको औपचारिकतामा सीमित हुन्छ ? विपद् व्यवस्थापन भनेको विपद् आएपछि कम्बल बाँड्नु र केही दाउरा वितरण गर्नु मात्रै हो कि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी पनि हो ?
मधेश प्रदेशको भौगोलिक बनावट, बाक्लो जनघनत्व र सामाजिक–आर्थिक अवस्थाले शीतलहरको जोखिमलाई अझ गम्भीर बनाएको छ । यहाँका धेरै परिवारको आर्थिक अवस्था कमजोर छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, खेतमा काम गर्ने किसान, सुकुम्बासी, भूमिहीन, दलित तथा सीमान्तकृत समुदायका नागरिकका लागि जाडोयाम थप कष्टकर हुन्छ । धेरै घरमा पर्याप्त न्यानो कपडा छैनन् । झ्यालढोका नभएका वा कमजोर संरचनामा बनेका घरमा चिसो हावा सिधै प्रवेश गर्छ । दाउरा वा अन्य इन्धनको अभावमा आगो ताप्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा शीतलहर प्राकृतिक विपद् मात्र रहँदैन, यसले समाजमा विद्यमान आर्थिक असमानता र राज्यको कमजोर सामाजिक सुरक्षालाई समेत उजागर गर्छ ।
विशेषगरी नवजात शिशु, पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरू शीतलहरको उच्च जोखिममा हुन्छन् । चिसोका कारण निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या, दम र अन्य स्वास्थ्य समस्या बढ्न सक्छन् । समयमै उपचार नपाउँदा सामान्य स्वास्थ्य समस्या पनि ज्यान जाने अवस्थासम्म पुग्न सक्छ । सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधि, न्यानो उपचार कक्ष, स्वास्थ्यकर्मी र आकस्मिक सेवाको पर्याप्त व्यवस्था नहुँदा विपन्न नागरिकले थप सास्ती बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ का लागि शीतलहर र हिमपातसम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिएको र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको विवरण पनि सार्वजनिक भएको छ । तर, कार्ययोजना तयार हुनु र नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउनु फरक कुरा हुन् ।
राष्ट्रिय तहमा योजना बन्नु सकारात्मक सुरुवात हुन सक्छ, तर त्यसको प्रभावकारिता स्थानीय तहसम्म पुगेर मात्रै प्रमाणित हुन्छ । प्रश्न यहीँनेर छ,प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले आफ्नो क्षेत्रका जोखिमयुक्त बस्ती पहिचान गरेर आवश्यक तयारी सुरु गरिसकेका छन् कि छैनन् ?
विपद् व्यवस्थापनको संवैधानिक तथा प्रशासनिक जिम्मेवारी तहगत सरकारसँग जोडिएको छ । संघीय सरकारले नीति, मापदण्ड, स्रोत र समन्वयको भूमिका निर्वाह गर्नुपर्छ । प्रदेश सरकारले जिल्लागत जोखिमको विश्लेषण, स्वास्थ्य तथा सुरक्षा संयन्त्रको परिचालन र स्थानीय तहलाई आवश्यक सहयोग गर्नुपर्छ । स्थानीय सरकारले भने नागरिकको घरदैलोसम्म पुगेर जोखिम पहिचान, राहत सामग्रीको व्यवस्थापन र तत्काल उद्धार तथा सहयोगको सुनिश्चितता गर्नुपर्छ । तर, व्यवहारमा विपद् आउनुअघि जिम्मेवारी एकअर्कामाथि सार्ने र विपद् आएपछि समन्वयको अभाव देखाउने प्रवृत्ति दोहोरिने गरेको छ । शीतलहरका सन्दर्भमा पनि यही प्रवृत्ति दोहोरियो भने त्यसको मूल्य सर्वसाधारण नागरिकले चुकाउनुपर्नेछ ।
स्थानीय तहहरूका लागि अहिले नै काम सुरु गर्ने उपयुक्त समय हो । प्रत्येक वडामा रहेका विपन्न, दलित, भूमिहीन, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन गर्नुपर्छ । कुन बस्तीमा कति परिवारसँग न्यानो कपडा छैन, कहाँका नागरिकसँग पर्याप्त ओढ्ने सामग्री छैन, कुन समुदायमा सुरक्षित आवासको अभाव छ र कुन स्वास्थ्य संस्थामा औषधि तथा जनशक्ति अपुग छ भन्ने विवरण तयार हुनुपर्छ । तथ्याङ्कबिनाको राहत वितरण पहुँचवालाको प्रभावमा पर्न सक्छ । वास्तविक पीडित छुट्न सक्छन् । त्यसैले राहत वितरणलाई मनपरी वा राजनीतिक पहुँचको विषय नभई आवश्यकता र जोखिमको आधारमा व्यवस्थित गर्नुपर्छ ।
यसका साथै प्रत्येक स्थानीय तहले शीतलहर प्रतिकार्य योजना तत्काल सार्वजनिक गर्नुपर्छ । आवश्यकताअनुसार न्यानो कपडा, कम्बल, दाउरा वा सुरक्षित तापका वैकल्पिक साधनको व्यवस्था गर्नुपर्छ । अत्यधिक चिसो हुने बस्तीमा सामुदायिक न्यानो आश्रयस्थल सञ्चालन गर्न सकिन्छ । स्वास्थ्य संस्थामा आवश्यक औषधि, स्वास्थ्यकर्मी र आकस्मिक उपचारको व्यवस्था हुनुपर्छ । विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर चिसोको तीव्रताअनुसार विद्यालय सञ्चालन समय परिवर्तन गर्ने वा आवश्यक परे केही समयका लागि बिदा दिने व्यवस्था गर्नुपर्छ । तर, विद्यालय बन्द गर्ने निर्णय मात्रै समाधान होइन, विपन्न परिवारका बालबालिकालाई घरमै सुरक्षित राख्ने वातावरण पनि सुनिश्चित गर्नुपर्छ ।
शीतलहरको अर्को चुनौती यातायात र जनजीवनसँग जोडिएको छ । बाक्लो हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम बढ्छ । विशेषगरी पूर्व–पश्चिम राजमार्ग र सहायक सडकमा यात्रा गर्ने सवारीसाधनका लागि आवश्यक सचेतना र सुरक्षा व्यवस्था हुनुपर्छ । मौसमसम्बन्धी पूर्वसूचना नागरिकसम्म समयमै पु¥याउने, सार्वजनिक सञ्चारमाध्यम र स्थानीय सञ्चारकर्मीमार्फत सचेतना फैलाउने तथा आवश्यकताअनुसार सवारी सञ्चालनमा सावधानी अपनाउने व्यवस्था मिलाउनुपर्छ । यसका लागि मौसम पूर्वानुमान गर्ने निकाय, जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य संस्था र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ ।
चिसोबाट जोगिन आगो बाल्ने र कोठाभित्र कोइला वा अन्य इन्धन प्रयोग गर्ने क्रममा हुने दुर्घटनाप्रति पनि सरकार सचेत हुनुपर्छ । पर्याप्त हावा आवतजावत नहुने कोठामा आगो बाल्दा कार्बन मोनोअक्साइड विषाक्तताका कारण बेहोस हुने र ज्यानसमेत जान सक्ने जोखिम हुन्छ । त्यसैले न्यानो रहने सुरक्षित उपायबारे समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्नुपर्छ । राहत सामग्री वितरण गर्दा पनि सुरक्षित प्रयोगबारे जानकारी दिनु आवश्यक छ ।
सरकारले शीतलहरलाई सामान्य मौसमी घटना ठानेर बेवास्ता गर्नु हुँदैन । यसको प्रभाव केवल स्वास्थ्यमा सीमित हुँदैन । दैनिक ज्यालादारी गर्ने मजदुर काममा जान नसक्दा परिवारको चुलो निभ्न सक्छ । किसानको कृषि तथा पशुपालन प्रभावित हुन सक्छ । साना व्यवसायीको व्यापार घट्न सक्छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति कमजोर हुन सक्छ । यसरी शीतलहरले स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सुरक्षा र समग्र आर्थिक गतिविधिमा असर पु¥याउँछ । त्यसैले यसको व्यवस्थापनलाई विपद् जोखिम न्यूनीकरण, सामाजिक सुरक्षा र जनस्वास्थ्यसँग एकीकृत गरेर हेर्नुपर्छ ।
नागरिकले सरकारसँग ठूलो अपेक्षा गरेका छैनन् । उनीहरूको अपेक्षा यति मात्रै हो कि चिसोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् । गरिबीका कारण न्यानो कपडा किन्न नसक्ने परिवारले राज्यबाट सहयोग पाऊन् । स्वास्थ्य समस्या हुँदा उपचारबाट वञ्चित हुन नपरोस् । जोखिममा रहेका बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षा होस् । यी अपेक्षा पूरा गर्नु कुनै सरकारको कृपा होइन, नागरिकप्रतिको राज्यको आधारभूत दायित्व हो ।
प्रदेश सरकारसँग शीतलहर प्रतिकार्यको स्पष्ट कार्ययोजना छ ? स्थानीय तहले जोखिमयुक्त परिवारको विवरण तयार गरेका छन् ? राहत सामग्रीको बजेट र भण्डारण सुनिश्चित भएको छ ? स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा छन् ? जिल्ला विपद् व्यवस्थापन समितिहरू सक्रिय भएका छन् ? यी प्रश्नको जवाफ नागरिकले खोजिरहेका छन् । सरकारसँग बजेट छैन भने त्यसको पारदर्शी विवरण सार्वजनिक गरोस् । स्रोत छ तर कार्यान्वयन भएको छैन भने जिम्मेवार पदाधिकारीले जवाफ दिनुपर्छ । योजना छ भने त्यसको कार्यान्वयन तालिका र नागरिकले पाउने सेवाको विवरण सार्वजनिक गरियोस् ।
हरेक वर्ष शीतलहर आउँछ, गरिब नागरिक कठ्याङ्ग्रिन्छन्, केही परिवारले आफन्त गुमाउँछन् र त्यसपछि सरकारी निकायले राहत तथा सहानुभूतिको घोषणा गर्छन् । यो दुष्चक्र अन्त्य हुनुपर्छ । नागरिकको ज्यान गइसकेपछि दिइने राहतभन्दा नागरिकको ज्यान जोगाउन गरिएको पूर्वतयारी हजारौँ गुणा महत्वपूर्ण हुन्छ । विपद् व्यवस्थापनको वास्तविक सफलता राहत वितरणको तस्बिरमा होइन, विपद्का कारण कसैले ज्यान गुमाउन नपर्ने अवस्थामा मापन हुनुपर्छ ।
मधेशका जनताले सरकारसँग भाषण होइन, परिणाम खोजेका छन् । चिसो सुरु हुनुअघि नै सरकारको उपस्थिति गाउँबस्तीमा देखिनुपर्छ । कम्बल वितरणको औपचारिकताभन्दा जोखिममा रहेका परिवारको पहिचान र संरक्षण प्राथमिकतामा पर्नुपर्छ । बजेट खर्चको विवरणभन्दा नागरिकको सुरक्षा र जीवनरक्षा महत्वपूर्ण हुनुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारबीच दोषारोपण होइन, जिम्मेवारीको स्पष्ट बाँडफाँट र प्रभावकारी समन्वय हुनुपर्छ ।